
भारतको राजधानी दिल्लीमा एक ट्युसन शिक्षकले बालबालिकाको स्मरणशक्ति बढाउनका लागि सुई लगाउने गरेको अनौठो घटना सार्वजनिक भएको छ ।
आरोपित शिक्षकले बालबालिकालाई सेलाइनको सुई लगाएको अवस्थामा आइतवार रंगेहात समातेको छ । ती शिक्षकविरुद्ध उजुरी दर्ता गरिएको छ ।
दिल्लीको मंडावाली क्षेत्रमा सन्दीप नामक व्यक्ति आफू बसेको क्षेत्रमा रहेका बालबालिकालाई सित्तैमा ट्युसन पढाउने गर्थे । ती बालबालिकाको स्मरण शक्ति बढाउनका लागि उनले सेलाइन सुई लगाइदिने गरेका थिए ।
सन्दीप आफैं दिल्ली विश्वविद्यालयका विद्यार्थी हुन् । उनी स्नातक तहमा दोस्रो वर्षमा छन् । प्रहरीले कडा केरकार गर्दा यो रहस्य खुलेको हो ।
यूट्युबमा हेरेको एक भिडियोमा सेलाइन सुईमार्फत बालबालिकाको स्मरणशक्ति बढ्ने दाबी गरिएको र आफूले पनि त्यही गर्न थालेको सन्दीपले प्रहरीलाई बताए ।
शनिवार एक अज्ञात व्यक्तिले प्रहरीलाई सन्दीपको सुईका विषयमा खबर दिएपछि प्रहरीले कारवाही चलाएको हो ।