०७ असार २०८३, आइतबार

सानेपामा चर्काचर्की  : पौडेल - जिब्रो चपाएर कुरा गर्ने ? देउवा - ओलीले बनाएर म प्रधानमन्त्री हुने हो र ?

फागुन ५, २०७७
सानेपामा चर्काचर्की  : पौडेल - जिब्रो चपाएर कुरा गर्ने ? देउवा - ओलीले बनाएर म प्रधानमन्त्री हुने हो र ?
फाइल फोटो

बुधवार बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रतिनिधि सभा विघटनको प्रसंगमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ ।

बैठकमा आफ्ना धारणा राख्दै पौडेलले देउवालाई 'जिब्रो चपाएर कुरा गरेको' आरोप लगाए ।

'हामिले संसद विघटन असंवैधानिक भनेका छौं,' पौडेलको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, 'संवैधानिक बाटो भनेको पुनःस्थापना हो । हामीले जिब्रो चपाएर कुरा गर्नुहुँदैन ।'

पौडेलले प्रतिनिधि सभा विघटन विरुद्धको आन्दोलनको नेतृत्व कांग्रेसले लिनुपर्ने भन्दै आक्रामक भएर सम्बोधन गरेका थिए ।

'आम जनताको चाहना छ, नेपाली कांग्रेसले आन्दोलनको नेतृत्व लियोस् भन्ने,' पौडेलले भने, 'हामीले स्पष्ट रूपमा संसद पुनःस्थापनाका लागि आन्दोलनको नेतृत्व गने विषयलाई आजको बैठकबाट पास गर्नुपर्छ । नत्र इतिहासमा कलंकित हुन्छौं ।'

पौडेलले देउवा र ओलीबीच सेटिङ भएको कुरा बाहिर आएको भन्दै प्रष्ट पार्न माग गरेका थिए ।

जवाफमा देउवा अलि नरम देखिए । देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले जे गरे त्यो गलत भएको प्रतिक्रिया दिए ।

'ओली जे गरे, त्यो गलत भनेर मैले भनिसकेको छु त,' देउवाले भने, 'ओलीले बनाएर म प्रधानमन्त्री बन्छु र ?'

देउवाले निर्वाचन आयोग स्वतन्त्र भएकाले दबाब दिन उचित नहुने धारणा राखेका थिए । 'बरू हामीले हाम्रो वकिल राखेर आफ्नो कुरा गरौँ,' देउवाले भने, 'निर्वाचन स्वतन्त्र बाटो हो, त्यसैले सिधा राजनीतिक दबाब नदिऔं ।'

उनले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भएपनि चुनावबाट कोही भाग्न नसक्ने तर्क राखेका थिए ।

आजको केन्द्रीय समिति बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका पेश भएको छ । 

नयाँ कार्यतालिकाअनुसार फागुन १५ सम्म समायोजनको काम टुंगो लगाउने, फागुन २८ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गर्ने उल्लेख छ ।

त्यस्तै आउँदो असार २० गते वडा र पालिकाको अधिवेशन, २२ गते प्रदेश सभाको अधिवेशन, २५ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असार २७ गते, जिल्ला अधिवेशन असार ३० र प्रदेश अधिवेशन साउन ६ गते गर्ने नयाँ कार्यतालिकामा उल्लेख छ ।

पार्टीको केन्द्रीय अधिवेशन भने भदौ ७, ८, ९ र १० गते गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्