०१ असार २०८३, सोमबार

रूपन्देहीलाई विकासमा कसैले उछिन्न सक्दैनः अर्थमन्त्री पौडेल

फागुन ९, २०७७
रूपन्देहीलाई विकासमा कसैले उछिन्न सक्दैनः अर्थमन्त्री पौडेल

अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलले रूपन्देहीलाई देशकै विकासको नमूना जिल्ला बनाउने बताएका छन् ।

यहाँ ठूलो विकासका आयोजनाहरू अगाडि बढेकाले विकासको ‘रोल मोडल’ जिल्लाका रूपमा रूपन्देहीलाई स्थापित हुन लागेको दावी गरे । 

सिद्धार्थ केबलकारको आइतबार बुटवलको देउरालीडाँडामा शिलान्यास गर्दै पौडेलले भने, ‘रूपन्देही विकास सिक्ने पाठशाला बन्दैछ । विकास सिक्न र पढन जानुपर्ने जिल्ला बनेको छ ।   भौतिक र मानवीय विकासमा रूपन्देही अगाडि छ । यसलाई कसैले उछिन्न सक्ने छैनन् ।’

अर्थमन्त्री पौडेलले विकास निर्माणले फड्को मारिरहेको रूपन्देहीको इतिहासको मूल्यांकन गर्न आग्रह गरे । केबलकारले रूपन्देहीको विकासमा बहु आयामिक महत्व राख्ने बताए । ‘केबलकारका लागि सरकारले गर्नुपर्ने सहयोग जतिसुकै बेला पनि गर्न तयार छ,’ पौडेलले भने, ‘तर समयमै योजना सम्पन्न हुनुपर्छ । यसले रूपन्देही र पाल्पाको पर्यटन विकासमा ठूलो योगदान दिनेछ ।’

भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै पौडेलले अब दोस्रो चरणमा काम सुरू हुने बताए । पौडेलले मृत्यु मार्गको उपमा पाएको बुटवल पाल्पा सडक खण्डको सिद्धबाबामा बन्ने भनिएको सुरुङमार्ग छिट्टै टेन्डरको प्रक्रियामा जाने बताए ।

पौडेलले बुटवल र सिद्धार्थनगरसहितको सहर जोडेर महानगर बन्ने दावी गरे । उनले आधुनिक ढाँचाको महानगर बनाउने कोसिसका साथ अगाडि सरकार अगाडि बढिरहेको जानकारी दिए । उनले सरकारले संविधान कार्यान्वन गर्दै सम्बृद्धिको दिशामा अगाडि बढेकाले बताए । संविधान र गणतन्त्रलाई कार्यान्वन गर्दै सरकार सम्बृद्धिको दिशामा अगाडि बढेको छ । हाम्रो ध्यान यसैमा केन्द्रित छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जीतगढी र नुवाकोटगढी ऐतिहासिक र सांस्कृतिक पूर्वाधारलाई जोडेर यहाँ अगाडि बढे यहाँको पर्यटन विकासले ठूलो फड्को मार्ने बताए ।

उनले बुटवल आर्थिक र पर्यटकीय हबको रुपमा विकास हुने बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा केबलकारको लागि मात्रै साढे ४ अर्ब निजी क्षेत्रले लगानी गरेकोले उनीहरुसँग हातेमालो गरेर अगाडि बढ्न स्थानीय सरकार तयार रहेको प्रतिवद्धता जनाए ।

आइतबार शिलान्यास भएको सिद्धार्थ केबलकारको तल्लो स्टेशन बुटवल देउराली डाँडाबाट पाल्पाको नुवाकोटसम्मको राजमार्गको दूरी २ किलोमिटर छ ।

केबलकार निर्माण र सञ्चालनपछि २५ केबलकार डब्बामा दैनिक पाँच हजार पर्यटकले यात्रा गर्ने प्रालिका अपेक्षा छ । केवलकार मनोकवल डिटेचवल सर्कुलेटिंग गन्डोला स्वरूपमा हिँड्नेछ ।

केबलकार निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषदले २०७५ साउन २९ मा ३.९८ हेक्टर क्षेत्रफल र २०७६ फागुन १२ मा २.११८ हेक्टर क्षेत्रफल वनको जग्गा ३० वर्षका लागि लिजमा दिएको छ । यसअघि प्रधानमन्त्री ओलीले शिलान्यास गरेको  लुम्बिनी केबलकारले दुई वर्षभित्रैमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माणको औपचारिक शुभारम्भ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्