०९ असार २०८३, मंगलबार

अझै बढ्ला इन्फ्रास्टक्चर बैंकको शेयर ? अब बेच्ने कि राख्ने ? यस्तो छ विश्लेषकहरूको सुझाव

फागुन ९, २०७७
अझै बढ्ला इन्फ्रास्टक्चर बैंकको शेयर ? अब बेच्ने कि राख्ने ? यस्तो छ विश्लेषकहरूको सुझाव

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयर मूल्य लगातार बढेर शेयर बजारमा तहल्का मच्चाएको छ ।

गएको साताबाट दोस्रो बजारमा कारोवार शुरू गरेको निफ्राको शेयरमा हरेक दिन सकारात्मक सर्किट लाग्दै आएको छ ।

बजारमा कुनै पनि कम्पनीको शेयर एकै दिन १० प्रतिशत भन्दा बढी बढ्न वा घट्न पाउँदैन ।

१० प्रतिशत पुगेपछि सर्किट लाग्ने गर्छ, अर्थात् त्यो दिनका लागि उक्त कम्पनीको कारोवार बन्द हुन्छ ।

अघिल्लो साता शेयर कारोवार हुने अन्तिम दिन ५ सय ४६ मा बन्द भएको निफ्राको कारोवार आइतवार ५ सय ७३ मा शुरू भयो । केहीबेरमै ६०० पुगेर सकारात्मक सर्किट लेभलमा पुगेको हो ।

करीब १ महिनाअघि एक सय रुपैयाँ प्रति कित्तामा भरेको शेयरको मूल्य ६ गुणा बढिसकेको छ ।

आइतवार बजार बन्द हुनुअघि उक्त कम्पनीको १२ लाख ४२ हजार ७ सय ४४ कित्ता शेयर खरिदका लागि माग थियो । तर बिक्री गर्न चाहनेको संख्या भने निकै न्यून रह्यो ।

अर्डर प्लेस गरेको मध्ये ११ लाखभन्दा बढी कित्ता लगानीकर्ताहरूले ६ सय रूपैयाँमा नै किन्न चाहेका थिए ।

यसैको प्रभाव भोलि पनि बजारमा पर्ने देखिन्छ । माग उच्च र आपूर्ति कम हुँदा शेयरको मूल्य बढ्ने गर्छ ।

कहिलेसम्म बढ्छ निफ्राको शेयर ?

नेपाल पूँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरीले निफ्राको शेयर मूल्य अझै केही दिन बढ्न सक्ने देखिएको बताइन् । 

‘बेच्नेभन्दा किन्ने धेरै भएको अवस्था छ, अझै केही दिन निफ्राको शेयर मूल्य बढ्न सक्छ,’ उनले लोकान्तरसँग भनिन् ।

चौधरीले अहिले धेरै नयाँ लगानीकर्ताले आईपीओ भरेको र कतिपयले दोस्रो बजारमा प्रवेश नगरिसकेका कारण पनि बिक्री न्यून भएको बताइन् ।

उनले भनिन्, ‘कतिजनासँग त ट्रेडिङ अकाउन्ट नै छैन, त्यसकारण अझै केही दिन बढ्ने देखिन्छ ।’

चौधरीले अहिले लगानीकर्ता चनाखो भएर शेयर होल्ड गरेर बसेको पनि बताइन् । 

ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले यो कम्पनीको शेयर कति माथि जान्छ भन्ने अनुमान गर्नै गाह्रो भएको सुनाए । उनले भने, ‘भोलि हजार रुपैयाँ नै पब्लिकलाई सस्तो लाग्न सक्छ ।’

रानाभाटले कम्पनी नयाँ भएकाले पनि केही दिन बढ्ने देखिएको सुनाए । 

उनले भने, ‘अझै केही दिन मूल्य बढ्ने देखिन्छ, बजार हो यस्तो भइरहन्छ ।’ 

यता नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलले निफ्राको शेयर मूल्य कहिलेसम्म बढ्ला भन्ने अनुमान नै गर्न नसकिएको बताए ।

उनले भने, ‘अनुमान गर्ने अवस्था नै रहेन, लगानीकर्ताकै हातमा रह्यो सबै कुरा । हेर्दै जाउँ, कतिसम्म पुग्ला !’

अझै केही दिन बढ्ने सम्भावना रहेपनि बेच्ने कि नबेच्ने भन्ने कुरा भने शेयर होल्डरको हातमा छ ।

धेरैले होल्ड गरिराखे अझै बढ्ने र बेच्नेको चाप बढ्न थाले शेयर घट्न हुन्छ । 

तर केही दिनलाई भने शेयर बढ्ने नै देखिएको विश्लेषकहरूको अनुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्