
बेलायतका पूर्व प्रधानमन्त्री विन्सटन चर्चिलको एक दुर्लभ पेन्टिङ ११.५ मिलियन डलर अर्थात् एक अर्ब ३५ करोड भन्दा बढी रुपैयाँमा बिकेको छ ।
हलिउड अभिनेत्री एन्जेलिना जोलीले बेचेको उक्त पेन्टिङ टावर अफ कूतूयिबा मोस्क हो । यसमा मोरक्कोको मार्राकेचमा रहेको मस्जिदको आकृति छ ।
सोमवार बिकेको उक्त पेन्टिङ चर्चिलले तत्कालीन अमेरिकी राष्ट्रपति फ्य्रांकलिन डी रूजवेल्टलाई उपहार दिएका थिए र त्यो पछि कसो कसो गरी एन्जेलिना जोलीकहाँ पुगेको थियो ।
चर्चिल पहिलोपटक सन् १९३५ मा मोरक्को पुगेका थिए र त्यहाँको प्रकाश संयोजन देखेर मुग्ध बनेका थिए । उनले गरेका पेन्टिङहरूमा मोरक्कोका चित्र सबभन्दा उत्तम रहेको उनी ठान्थे ।
चर्चिलले बनाएका चित्रमध्ये यो सबभन्दा बढी मूल्य पाएको पेन्टिङ हो ।
सन् २०११ मा बलिउड अभिनेता ब्राड पिटले यो पेन्टिङ जोलीलाई उपहारमा दिएका थिए । उनीहरू सन् २०१६ मा छुट्टिए ।
सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धको अवधिमा चर्चिलले बनाएको यो एक मात्र पेन्टिङ हो ।