२८ जेठ २०८३, बिहीबार

साविकको पार्टी ब्यूँताउने फैसला अस्विकार गरिन्छ : देव गुरुङ

फागुन २४, २०७७

नेकपाका पुष्पकमल दाहाल 'प्रचण्ड' - माधव नेपाल समूहका प्रमुख सचेतक देव गुरुङले पुरानो साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने भनेर सर्वोच्च अदालतले गरेको फैसलामा सहमति जनाउन नसकिने बताएका छन् ।

रिट निवेदकले नामको विषयमा माग दावी गरेको भए पनि सिंगो पार्टी एकताको विषयमा प्रवेश गरेर अदालतले न्यायको सिद्धान्त विपरित फैसला गरेको गुरुङको विश्लेषण छ ।

संविधान, बहुदलीय प्रजातन्त्र तथा विचार, सिद्धान्तको राजनीति माथि गम्भिर किसिमको षडयन्त्र भएको भन्दै अदालतले गरेको उक्त फैसला पछि के गर्ने भनेर पार्टीले निर्णय गर्ने बताएका छन्।

लोकान्तरसँग उनले भने,'सम्पूर्ण अदालतलाई नै मुछ्ने कुरा त हामी गर्दैनौं, तर दुई जना न्यायाधीशहरूले षडयन्त्रपूर्वक संविधान, राजनीतिक दलको व्यवस्था आदि माथि कू गरेका छन्।' रिट निवेदकको माग दावी भन्दा पनि बाहिर गएर फैसला गरिएको हुनाले उक्त फैसला स्वीकार गर्ने वा नगर्ने भन्ने मुख्य कुरा रहेको उनले बताए।

'एकताको विषयमा अदालत प्रवेश गरेर फैसला गर्नु मल्टी पार्टी सिस्टम, डेमोक्रेसी आदिको विपरित हो,' गुरुङले भने,'अदालतले फैसला गर्दैमा साविकको एमाले र माओवादी केन्द्र ब्यूँतिने कुरा गर्नु भनेको राजनीतिक निर्णय हो, जुन कि अदालतले गर्नु नै हुन्नथ्यो।'

अदालतले प्राविधिक रूपमा फैसला गरे पनि कार्यान्वयन नहुने उनले बताए। जसरी विघटित प्रतिनिधि सभालाई राजनीतिक दलहरूले असंवैधानिक मानेर अस्विकार गरेको थियो त्यसै गरी यस फैसलालाई पनि राजनीतिक दलहरूले अस्विकार गरेर परास्त गर्ने उनको कथन छ।

भिडियो 

फोटो/भिडियो : विश्वास खनाल

salt training

कमेन्ट गर्नुहोस्