१२ असार २०८३, शुक्रबार

बाजी हारेपछि देउवाले दिए चिरीबाबुलाई हजारको नोट !

कात्तिक २०, २०७४
बाजी हारेपछि देउवाले दिए चिरीबाबुलाई हजारको नोट !
ललितपुर, ११ जेठ –

शेरबहादुरः हेलो...
चिरीबाबु :  अँ, हजुर, सभापतिज्यू जय नेपाल !
शेरबहादुर : ‘चिरीबाबु तपाईं चुनाव जित्नुहुन्छ ?
चिरीबाबु : हामीले चुनाव जित्छौं तपाईं ढुक्क हुनुस्
शेरबहादुर : अहिले नै विचार गर्नुस् है, तपाईं साँच्चै जित्नु हुन्छ ? नभए माओवादीसँग तालमेल गर्नुपर्छ ।

(तीन पटकसम्म सभापतिले प्रश्न सोधेपछि रिसाउँदै चिरीबाबु)

चिरीबाबु : सभापतिज्यू, मसँग बाजी थाप्नुहुन्छ ? ल, जिते भने तपाईं मलाई १ सय रुपैयाँ दिनुस्, मैले हारे भने म तपाईंलाई १ लाख दिन्छु ! हुन्छ ? त्यसपछि फोन काटियो ।
चिरीबाबुलाई शेरबहादुरले हस्ताक्षर गरेर दिएको १ हजारको नोट


यो संवाद पहिलो चरणको उम्मेदवारी दर्ताको भोलिपल्ट नाम फिर्ता लिने दिनको हो जुन दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ललितपुरमा आफ्नै पार्टीको तर्फबाट मेयरका उम्मेदवार बनेका चिरीबाबु महर्जनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थिए ।  उता महर्जन भने बाजी थाप्न तयार भए तर उम्मेदवारी फिर्ता लिन टसको मस भएनन् ।

चिरीबाबुले पार्टी सभापति शेरबहादुर देउवासँगको बाजी जितेका छन् । र, त्यसबापतको रकम पाएका छन्, त्यसमा पनि ९ सय थप गरेर ।

चिरीबाबुले देउवासँग बाजी एक सयको मात्र राखेका थिए तर देउवाले उनलाई १ हजार दिए ।

यस्तो छ वास्तविकता

शेरबहादुर देउवालाई ललितपुर महानगरपालिका जित्ने आशा थिएन । त्यसैले उनले ललितपुरमा माओवादी केन्द्रसँग तालमेल गर्ने सोचेका थिए । उनले पोखरा र भरतपुर महानगरपालिका अनि हेटौंडा उपमहानगरपालिका लगायतमा माअोवादीसँग तालमेल गरेका थिए ।

ललितपुर महानगरपालिकामा माओवादी केन्द्रसँग तालमेल गर्ने कुरा देउवाले ललितपुर क्षेत्र नं ३ का सभासद मदन अमात्यलाई फोन गरेर सुनाएका थिए ।

वैशाख १९ गते उम्मेदवारी दर्ता गरेपछि देउवाले मदन अमात्यको माध्यमबाट चिरीबाबुलाई तालमेल गर्नेबारे जानकारी गराउन भनेका थिए । तर स्थानीय स्तरमा छलफल नै नगरी पार्टी नेतृत्वले आफूखुशी गरेको भन्दै ललितपुर कांग्रेसका नेताहरू रुष्ट बनेका थिए ।

चिरीबाबु लगायत सबैजना ललितपुरको त्यागल मा पार्टी कार्यक्रममा सहभागी भएको समयमा सांसद मदन अमात्यले देउवाको निर्णय सुनाएका थिए । निर्णय सुनेसँगै देउवाले फोन गर्नसक्ने भन्दै चिरीबाबु फोन नै अफ गरेर बसे । देउवाले फोन गर्लान् र उम्मेदवारी फिर्ता गर्नुपर्ला भन्ने पीर थियो उनलाई । ‘फोन नै अफ गरेपछि त्यहाँको कार्यक्रम छोडेर म केही घण्टाको लागि कीर्तिपुरतिर लागे ’ चिरीबाबुले भने । 

केही घण्टा कीर्तिपुर बसेपछि उनी पुल्चोकस्थित आफ्नै निवासमा बसिरहेका बेला देउवाले फोन गरे, त्यो पनि सांसद मदन अमात्यको मोबाइलमा ।


देउवासँग बाजी


सभापति शेरबहादुर देउवाले चिरीबाबुलाई मेयरमा हार्ने भन्दै उम्मेदवारी फिर्ता लिन तथा माओवादी केन्द्रसँग तालमेल गर्न अमात्यको फोनमा आग्रह गरे । तर चिरीबाबुले यो कुरा अस्वीकार गरे ।

‘हामी ललितपुरमा जित्छौं,’ चिरीबाबुले जिद्दी गरे । र देउवासँग १ सयको बाजी राखे । जसलाई हामीले माथि नै देउवा र चिरीबाबुबीचको फोन संवादमा उल्लेख गरिसकेका छौं ।

पार्टी सभापतिले नमान्दा नमान्दै पनि उनीसँग बाजी थापेर उम्मेदवार भएका चिरीबाबुलाई जितिँदैन कि भन्ने ठूलै पीर प-यो । चुनावी हारको पीडामा सभापतिलाई तिर्नपर्ने एक लाख रुपैयाँको चिन्ता थियो उनलाई । ‘मलाई जित्छु भन्ने आत्मविश्वास थियो, तर एमालेका हरिकृष्णजीसँगको कडा टक्करले बेलाबेला शेरबहादुरजीसँग राखेको एक लाखको बाजीको याद आउँथ्यो,’ चिरीबाबुले भने ।

कडा प्रतिस्पर्धाका बीच एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई ३२६ मतले जित्दै उनले महानगरमा नेपाली कांग्रेसको कम्तीमा एक सिट भएपनि सुरक्षित गरे ।

देउवाले खल्ती छामे

महानगरको मेयरमा निर्वाचित भएपछि बिहीवार कांग्रेस पार्टी कार्यालय सानेपामा बधाई कार्यक्रममा उनी सहभागी भए । चिरीबाबुलाई देख्नेबित्तिकै सभापति शेरबहादुर देउवाले कोटको खल्ती छामछुम पार्न थाले ।
उनीसँग भएका र उनीलाई हेरिरहेकाले त्यसलाई वास्ता गरेनन् र थाहा पाएनन् पनि । तर देउवाले चिरीबाबुसँग बाजीमा हारेको १ सय रुपैयाँ दिनका लागि कोटको खल्ती छामछुम पारेका थिए ।

देउवाले कसैले थाहा नपाउने गरी खल्तीबाट हजार रुपैयाँ झिकेर चिरीबाबुलाई दिए ।

‘देउवासँग मैले जितेको त १ सय रुपैयाँ हो तर उहाँसँग १ सयको खुजुरा पैसा रहेनछ कि के हो, मलाई हजार दिनुभयो,’ चिरीबाबुले भने, ‘मैले पनि नहेरी गोजीमा राखे, पछि थाहा भयो १ हजार रुपैयाँ पो रहेछ ।’ चिरीबाबुलाई दिएको हजार नोटमा देउवाले आफ्नो हस्ताक्षर समेत गरेका थिए ।

चुनाव मात्र नभई आफूले पार्टी सभापतिसँग बाजी पनि जितेको किस्सा सुनाइरहँदा ललितपुर महानगरपालिकाको शपथग्रहणमा सहभागी विजयी वडाअध्यक्ष, सदस्यहरू मात्र नभई उपस्थित भएका सबै मुस्कुराए ।

salt training

कमेन्ट गर्नुहोस्