०७ असार २०८३, आइतबार

अन्तर्राष्ट्रिय पदक विजेता सुरेश सुकुम्बासी बस्तीमै

चैत २१, २०७७
अन्तर्राष्ट्रिय पदक विजेता सुरेश सुकुम्बासी बस्तीमै

रिङमा थिए भारतीय बक्सर मनोज पिङ्ले । स्वर्णको अपेक्षामा नेपाली बक्सर सुरेश मल्ल ठकुरी प्रतिस्पर्धामा अगाडि बढे । सुरेश त्यसबेला मात्र २० वर्षका थिए । खेल थियो चौथो साफ च्याम्पियनशीप ।

नेपालको प्रतिनिधित्व गर्दै उनी आजभन्दा ३२ वर्षअघि  पाकिस्तानको राजधानी इस्लामावादमा साफ खेल्न गएका थिए । क्वार्टरफाइनलमा सुरेशले बंगलादेशका खेलाडीलाई पाखा लगाइसकेका थिए । त्यसपछि पुगे सेमिफाइनलमा । सेमिमा पाकिस्तानी अर्का खेलाडीको चुनौती समाप्त पार्दै उपाधि नजिक पुगेका थिए । 

दिलोज्यान लगाएर सुरेश भारतकै टप बक्सर मनोजसँगको प्रतिस्पर्धामा उत्रिएका थिए । बेन्टम क्याटगोरी (५२ देखि माथि ५४ वर्षभन्दा तल तौल समूह) को खेल थियो त्यो । ३ चरणको फाइनलमा खेल २०/१९ को भयो । अहिलेजस्तो कम्प्युटराज्ड सिस्टम थिएन । कलमकै भरमा अंक चढ्थ्यो ।

आफ्नो पक्षमा २० को खेल भएको दाबी गरेका सुरेशले देशको लागि स्वर्ण चुम्ने उत्कृष्ट अपेक्षा गरेका थिए । तैपनि निर्णायकले भारतीय खेलाडीको पक्षमा जीत दिलायो । सुरेश रजतमा सीमित भए । 

खेल हेरिरहेका दर्शकलाई चित्त बुझेनछ, उनीहरूले निर्णायकविरुद्ध ‘प्रोटेस्ट’ हाले । त्यसबेलाको घटना अहिले पनि सुरेशलाई झल्झली याद आउँदो रहेछ । 

उमेरले ५१ वर्षमा हिँडिरहेका सुरेश अहिले पनि यही खेलसँग पौंठेजोरी खेलिरहेका छन् । अहिले उनी खेलाडी हैनन्, प्रशिक्षकको भूमिकामा आफूजस्तै थुप्रै खेलाडी उत्पादन गरिरहेका छन् । 

पोखरा रंगशालामा प्रशिक्षणका क्रममा लोकान्तरसँग सुरेशले भने, ‘चौथो साफमा निष्पक्ष रूपमा निर्णय गरी मेरो पक्षमा स्वर्ण भइदिएको भए जीवनमै कायापलट हुन्थ्यो । स्वर्ण अक्षरले नाम लेखिन्थ्यो ।’ 

सुरेशले चौथो मात्र होइन, पाँचौं साग पनि खेले । श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित पाँचौ साउथ एसिया फेडेरेसन गेम्स १९९१ मा उनको नाममा कास्य पदक छ । नेपालमै सन् २०१९ मा भएको १३ औं सागमा भने उनी प्रशिक्षक थिए । 

सन् १९८९ मा इन्डोनेसियामा आयोजित १२ औं प्रेसिडेन्ट कप इन्टरनेसनल एमेच्युर बक्सिङ टुर्नामेन्ट–१९८९ मा उनले भाग लिने अवसर पाएका थिए । त्यसबेला विभिन्न क्याटागोरीमा नेपालबाट ९ जना मात्र खेलाडी छानिएका थिए तर उनीसहित प्रचण्ड शर्माले मात्र गरी कास्य पदक देशका लागि भित्राए । यो पनि सुरेशका लागि अहिलेसम्मकै सुखद क्षण भएको बताउँछन् ।  

खेलकुद क्षेत्र राष्ट्रिय एकताको प्रतीक हो । राष्ट्रको झण्डा बोकेर पसिना बगाउने खेलाडीहरूलाई उचित सम्मान तथा हौसला प्रदान गरिनुपर्छ । तर देशका लागि जीवन नै बक्सिङ खेलमा समाहित गरेका यी सुरेश मल्ल हालसम्म पनि सुकुम्बासी बस्तीमै सीमित छन् ।

‘जीवन नै यही खेलमा गयो । अहिलेसम्म पनि रिङमै भेटिन्छु । नयाँ नयाँ खेलाडीलाई प्रशिक्षण दिनमै व्यस्त छु,’ उनले गुनासो गर्दै भने, ‘विदेशमा राष्ट्रको लागि कुनै पनि पदक जितेपछि खेलाडीको जीवनकै एकाएक फेरिन्छ । आर्थिक स्थिति सुध्रिन्छ । तर नेपालमा खेलमा भविष्य देखेर लागिपर्नेहरूको लागि कहिल्यै पनि सम्भावना भएन ।’

पोखरा रंगशालामा उनले बिहान र बेलुका गरी करीब ४० जनालाई बक्सिङ प्रशिक्षण दिने गरेका थिए । कास्की जिल्ला बक्सिङ संघमार्फत प्रशिक्षण दिने सुरेश मात्र हुन् । २२ वर्षदेखि निरन्तर बक्सिङ प्रशिक्षण गर्दै आएका सुरेशले सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकीलाई पदक जिताउन सफल भएका छन् । सातदोबाटोमा आयोजित प्रथम यू–१९ महिला तथा पुरुष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता २०७६ मा उनले प्रशिक्षित गरेको गण्डकीको टीम च्याम्पियन बनेको थियो । त्यसबेला गण्डकीले ३ स्वर्ण, २ रजत र ३ कास्य जितेको थियो । 

भारतको पटियालामा डिप्लोमा इन बक्सिङ कोर्स लिन सफल प्रियंका बर्माका प्रशिक्षक उनै सुरेश हुन् । उनको परिचय अहिले रेफ्री जज हो । परेको बेला रेफ्री र जज दुवै भ्याउँछन् । 

कक्षा छाडेर बक्सिङमा

२०४२ सालतिरको कुरा हो । त्यसबेला सुरेश १० कक्षा पढ्थे । पोखरा–९ नयाँबजारस्थित नवप्रभात माविसम्म पुग्न रंगशाला हुँदै जानुपथ्र्यो । पोखरा–१० रामबजारमा भाडाको कोठामा बस्थे ।

स्कूल आउजाउ गर्दा रंगशालामा बक्सिङ खेलेको देखिरहन्थे । मानिसहरू आपसमा हानाहान गर्ने खेल देखेर उनी अचम्मित पर्थे । १ दिन कक्षा छोडेर रंगशाला छिरे । हेर्र्दै र बुझ्दै जाँदा उनी पनि यसप्रति आकर्षित भए । सिक्ने हुटहुटी जाग्यो । विद्या मर्सानीले उनलाई ४–५ दिनको कक्षा दिए ।
 
बुटवलमा आयोजित ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०४४ खेल्ने अवसर पाए । किनकि उनले पोखरामा छनोटमा रजत जितेका थिए । त्यसपछि क्लोज क्याम्प बसे । क्रमशः विभिन्न प्रतियोगितामा भाग लिँदै गए । १९८८ मा काठमाडौंमा आयोजित चौथो आमन्त्रित बक्सिङ च्याम्पियनशीपको स्वर्ण पनि उनकै नाममा छ । उनी फेदर वेट (५४ भन्दा माथि ५७ भन्दामुनि) मा प्रथम हुन सफल भएका छन् ।

श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित पाँचौं साउथ एसिया फेडेरेसन गेम्स १९९१ मा कास्य पदक हासिल गरेका उनले १९९४ मा जापानको हिरोसिमामा आयोजित १२ औं एसियन गेम्समा नेपालको तर्फबाट सहभागिता जनाएका थिए । १९९० मा बेइजिङमा आयोजित ११ औं एसियन गेम्समा पाँचौं स्थान हासिल गरे । सोही उपलब्धिमार्फत उनी बैंककमा सातौं वल्र्ड कपमा भाग लिने अवसर पाएका थिए ।

हाल पाँचौं पोखरा स्पोर्टस् अवार्डको उत्कृष्ट प्रशिक्षकको मनोनयन सूचीमा उनी परेका छन् । नाच्न सिपालु उनी बरोबर टिकटकमा पनि भेटिन्छन् ।

अहिलेसम्म सुकुम्बासी बस्तीमै

राष्ट्रका लागि यतिधेरै पदक ल्याएर योगदान पुर्‍याएका सुरेशको जीवन सुकुम्बासी बस्तीमै सीमित छ । उनी पोखरा महानगरपालिका–७ घारीपाटनस्थित सुकुम्बासी बस्तीमा वर्षौदेखि बस्दै आएका छन् । परिवारमा आमा र पत्नी छन् । १ छोरीको बिहेदान भइसकेको छ । बुवा भारतीय सेनाका लाहुरे थिए । उनको धेरै पहिले निधन भएपछि परिवारको बागडोर सम्हाल्ने जिम्मा उनको काँधमा आइपरेको हो ।

‘काम नगरी हातमुख जोर्दैन, जानेको यहीँ खेल हो,’ उनले गुनासो गरे, ‘जीवनभर खेलमा समर्पितहरूलाई राज्यले पनि हेर्नुपर्ने हो ।’ 

कमेन्ट गर्नुहोस्