
मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्रा आइतवार रातिदेखि शुरू भएको छ ।
आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट शुरू भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए ।
चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयलाई जात्रा हेर्न आउनू भनी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ ।
यसअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका ९ शक्तिपीठलगायत स्थानमा देशोद्धार पूजा सम्पन्न गरिएको थियो ।
पूजा सम्पन्न गरी आइतवार बिहान ७ बजेदेखि बज्रेश्वरी जात्रा शुरू गरिएको थियो । बज्रेश्वरी अर्थात् पिङ्गलास्थानको जात्रा आइतवार बेलुकीसम्म मनाइएको छ । बज्रेश्वरी जात्रा समापन हुने वित्तिकै वत्सलेश्वरीको जात्रा शुरू भएको हो ।
वत्सलेश्वरी जात्रा भने आइतवारदेखि ३ दिनसम्म मनाइन्छ । चैत्र शुक्ल द्वितीयाका दिन अर्थात् मंगलवार सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिन्छ ।
देशोद्वार पूजा र जात्रामा ४ थरका मानिस प्रत्यक्ष रूपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी ४ थर प्रत्यक्ष रूपमा सहभागी हुने गरेको उनले सुनाए । वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रूपमा पूजा आराधना गरिन्छ ।
भगवान् शिवको पत्नीका रूपमा पुजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किम्बदन्तीका आधारमा सोमवार नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिन्छ । नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन सोमवार बेलुकी रथले पशुपतिको मूलढोकामा ३ पटक ठोकाएर फर्काउने प्रचलन रही आएको छ ।
बहिनीले श्रीमान्को ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदा अर्थात् सोमवार राति छोरा चन्द्रविनायक कहाँ बस्न जाने परम्परा छ । यसै परम्पराअनुसार सोमवार वत्सलेश्वरीको रथ तानेर चाबहिल गणेशसमेत भनेर पूजिने चन्द्रविनायकमा लगिन्छ ।