चितवनका विद्यालयमा फैलियो कोरोना

कोरोना भाइरस (कोभिड–१९) संक्रमण चितवनका जिल्लाका विद्यालयमा फैलिएको छ ।

जिल्लाका ४ विद्यालयमा संक्रमणको पुष्टि भएको हो ।


Advertisement

भरतपुर महानगरपालिकाको नारायणी नमूना मावि, गुञ्जनगर मावि र वाल्मीकि शिक्षा सदनका कर्मचारी तथा विद्यार्थीमा कोरोनाको संक्रमण देखिएको हो ।

इच्छाकामना गाउँपालिकाको राष्ट्रिय आधारभूत विद्यालय रानीखोलाका शिक्षकलाई संक्रमण देखिएको छ ।

भरतपुरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार वाल्मीकिका १० कक्षाका विद्यार्थीलाई संक्रमण देखिएपछि २ दिन विद्यालय बन्द गरिएको छ । आइतवार र सोमवार विद्यालय बन्द गरिएको छ भने अन्य विद्यालयमा स्वास्थ्य सुरक्षा अपनाएर कक्षा सञ्चालन गरिएको छ ।

गुञ्जानगर माविका २ विद्यार्थी, नारायणीका लेखाका कर्मचारी र इच्छाकामनाका २ शिक्षकमा संक्रमण देखिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भूमिलाल सुवेदीले बताए । विद्यालयमा कोरोना देखिन थालेपछि अभिभावक, विद्यार्थी, शिक्षक र कर्मचारी त्रसित भएका छन् ।

कतिपय अभिभावकले बालबालिकालाई विद्यालय पठाउन छाडेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको उपस्थितिमा आइतबार बसेको पालिकास्तरका शिक्षा शाखा प्रमुख र समन्वय एकाइ प्रमुखको बैठकले वैशाखभित्रमा वार्षिक परीक्षा सक्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ । सुवेदीका अनुसार जेठमा गर्ने भनिएको वार्षिक परीक्षा वैशाखभित्रमा सम्पन्न गर्न विद्यालयलाई निर्देशन दिने निर्णय गरिएको छ । 

निजी विद्यालयको छाता संस्था निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का प्रतिनिधिसँग सोमवार छलफल गरिँदैछ । आइतवार मात्रै २२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

कमेन्ट गर्नुहोस्