
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बागलुङका ११० सामुदायिक विद्यालय छानिएका छन् ।
जिल्लामा रहेका १० स्थानीय तहका ती विद्यालयलाई विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको छ ।
सरकारले सामुदायिक विद्यालयको स्तरोन्नति गर्न पहिलो पटक यो कार्यक्रम ल्याएको जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लाको ती विद्यालय सहित देशभरका ७ हजार २७८ सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा समेटेर बजेट विनियोजन गरेको जनाएको छ ।
मन्त्रालयले चैत्र १९ गते गरेको निर्णय अनुसार जिल्लाको बागलुङ नगरपालिकामा १९, गलकोट नगरपालिकामा ८, जैमिनी नगपालिकामा ९, ढोरपाटन नगरपालिकामा ८, काठेखोला गाउँपालिकामा १०, ताराखोला गाउँपालिकामा ९, बरेङ गाउँपालिकामा ३, बडिगाड गाउँपालिकामा २९, निसीखोला गाउँपालिकामा ५ र तमानखोला गाउँपालिकामा १० विद्यालय छनोट गरिएको शिक्षा विभागले जनाएको छ ।
कार्यक्रम अन्तर्गत सबैभन्दा बढी २९ वटा बडिगाडमा र सबैभन्दा कम ३ विद्यालय बरेङमा छनोटमा परेको सांसद मनकुमारी केसीले जानकारी दिए ।
केन्द्रको कार्यक्रम कार्यान्वयनका लागि विद्यालय छनौट गरी मापदण्ड समेत सार्वजनिक गरिएको हो । छनौट भएका विद्यालयमा शैक्षिक सुधारका कार्यक्रम सम्बन्धित स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने जनाइएको छ ।
विभागका अनुसार कार्यक्रमका लागि संघीय सरकारले सम्बन्धित स्थानीय तहमा छिट्टै बजेट निकासा गर्नेछ । मन्त्रालयको गत चैत १९ गतेको निर्णय अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रम अनुसार मुलुकका ७ हजार २७८ सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम छानिएको जनाइएको छ ।
सरकारले ५ अर्ब ६ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश सदस्य थानेन्द्र गौतमले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम शुरू हुनु शिक्षा क्षेत्रका लागि खुशीको खबर रहेको बताए । उनले विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधारका लागि महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । – खेमराज गौतम/रासस