
गुल्मीका पत्रकारहरू महामारीमा एकजुट भएका छन् ।
अक्सिजनको कारण नागरिकको ज्यान जान थालेपछि नेपाल पत्रकार महासंघ गुल्मी अक्सिजन अभियानमा जुटेको हो । गत बैशाख २५ गते बाट सञ्चालित अक्सिजन अभियानबाट आइतबारसम्म ३६ लाख ६३ हजार सहयोग संकलन भएको अभियान्ता तारा भुसालले जानकारी दिए ।
गुल्मीमा पनि कोरोना संक्रमणबाट ५० जनाको मृत्यु भएको छ । करिव १२ सय संक्रमित छन् ।
भुसालले जिल्लामा संस्थागत रुपमा र प्रवासमा समेत अभियान संचालन भएकाले महासंघ मार्फत नै करिव ५० लाख संकलन हुने लक्ष्य राखेको बताए । पछिल्लो समय पत्रकार महासंघ गुल्मीको अक्सिजन अभियान प्लान्टसम्म पुगेको छ । यो अभियानलाई चौतर्फी रुपमा स्वागत र साथ रहेकाले अहिले विभिन्न संघ–संस्थाहरुसंग सहकार्य गरेर प्लान्ट सञ्चालनको प्रक्रिया अगाडि बढाइएको भुसालले बताए ।
अक्सिजन प्लान्ट अभियानमा गुुल्मीका प्रतिनिधिसभा सांसद तथा पूर्व मन्त्री गोकर्ण बिष्ट १० लाख सहयोग जुटाउने प्रतिवद्धता जनाएका छन् । भने पुर्व सभासद तथा कांग्रेस नेता चन्द्र भण्डारीले पनि अभियानमा ऐक्यबद्धता जनाएका छन् ।
गुल्मी उद्योग वाणिज्य संघले पनि पत्रकार महासंघको अभियानमा ऐक्यबद्धता जनाउँदै करिव १५ लाख बढी सहयोग संकलन गरिसकेको पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए ।
महासंघले अहिले अक्सिजन खरिद गरेर गुल्मी अस्पताल र रेसुंगा अस्पतालका बिरामीहरुको आवश्यकतालाई मध्येनजर वितरण गरिएको छ । साथै आवश्यकताको आधारमा जिल्लाका अन्य स्थानीय तहसँग पनि अक्सिजनको बिषयमा समन्वय भइरहेको अर्यालले बताए । ‘रातमा समस्या पर्ने देखि बाहिर रेफर भएकालाई समेत अक्सिजन र समन्वय गरिरहेका छौ,’अर्यालले भने,‘प्लान्ट पूर्ण संचालन नहुने बेलासम्म अक्सिजन सिलिन्डर खरिद र भर्ने काम काम गर्छौ ।’
अभियानमा जोडिन पत्रकार महासंघले सवैलाई आह्वान गरिरहेको छ । नेपालमा अक्सिजन सिलिन्डर खरिद र भर्ने स्थिति निकै संकटपूर्ण बन्दै गएको अवस्थामा सुरु गरिएको अक्सिजन प्लान्ट अभियानमा मनदेखि नै जोडिन पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष तथा समन्वय समिति संयोजक जनार्दन घिमिरेले आग्रह गरे ।
पत्रकार महासंघले आफ्नै कार्यालय भवनमा ५ शैयाको आइसोलेशन स्थापना गरेको छ । जिल्लाका सञ्चारकर्मीहरूलाई स्वास्थ्य सामग्री (मास्क, सेनिटाइजर) लगायतका स्वास्थ्य सुरक्षाका सामग्री बितरण गरिएको पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनारले जानकारी दिए ।