
कोरोनाभाइरस (कोभिड– १९) को दोस्रो लहरका कारण मुलुकका अधिकांश जिल्ला अहिले निषेधाज्ञामा छन् ।
काठमाडौं उपत्यकासहित मुलुकका ठूला शहरहरूमा वैशाख १६ गतेदेखि शुरू भएको निषेधाज्ञा अहिले १८ औं दिनमा चलिरहेको छ ।
सामान्य नागरिकदेखि, उद्योगी व्यवसायी, राजनीतिकर्मी लगायत अधिकांश घरभित्र नै थुनिएका छन् । सडकमा अत्यावश्यक कामका लागि निस्किने व्यक्तिहरू तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र सञ्चारकर्मीहरूको मात्र उपस्थिति देख्न सकिन्छ ।
आफ्नो पेशा व्यवसायका कारण परिवारलाई समय दिन नभ्याउनेहरूले अहिले परिवारलाई समय दिन पाइरहेका छन् । दैनिकी बिलकुल फेरिएको छ ।
यसै सन्दर्भमा लोकान्तर डट्कमले विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको निषेधाज्ञा (लकडाउन) डायरी यहाँहरू माझ प्रस्तुत गर्न शुरू गरेको छ ।
त्यसैको पहिलो अंकका लागि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं प्रतिष्ठित उद्यमी चन्द्र ढकालसँग लोकान्तरकर्मी परिवर्तन देवकोटाले कुराकानी गरेका छन् ।
प्रस्तुत छ, प्रतिष्ठित उद्यमी चन्द्र ढकालको डायरी उनकै शब्दमा :
कोरोना महामारीको दोस्रो लहरसँगै यतिखेर मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी भएको निषेधाज्ञा आगामी जेठ १३ गतेसम्मका लागि थप गरिएको छ । यो अझै कति समयसम्म थपिन्छ भन्ने निश्चित छैन ।
यतिखेर अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द रहेका छन् । सधैं व्यस्त हुनेहरू यतिखेर घरभित्रै थुनिएर बस्नु परेको छ । के व्यवसायी, के उद्योगी, सबै नागरिक यतिखेर घरभित्रै छौं ।
अरू जस्तै अहिले म पनि निषेधाज्ञाको यो समयमा घरमा नै बसिरहेको छु । सरकारले पनि यस समयमा सकेसम्म घरभित्रै बस्न भनेको छ । सबैभन्दा ठूलो स्वास्थ्य भएपछि घरभित्र सुरक्षित बस्नुको विकल्प अहिले रहेनछ ।
निषेधाज्ञाको यस समयले धेरै क्षेत्रमा घाटा त छँदैछ, त्यसका बावजुद पनि घर परिवारसँग बस्ने, रमाउने वातावरण पनि बनेको छ ।
यस समयमा म आफ्नो समयलाई भरपूर प्रयोग गरिरहेको छु ।
दैनिकजसो बिहान साँझ घरमै एक्सरसाइजहरू गरिरहेको छु । अहिले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीलाई परास्त गर्न पनि नियमित शारीरिक अभ्यास आवश्यक पर्ने बताइएको छ, त्यसकारण पनि म नियमित एक्सरसाइजहरू गर्ने गर्दछु ।
यस समयमा विभिन्न व्यक्तिहरूका जीवनी तथा अन्य विभिन्न पुस्तकहरू पढेर समय बिताउँदैछु । यस्तै खाले पुस्तकमा रुचि छ भन्ने त छैन तर व्यवसायसँग सम्बन्धित पुस्तकहरू पढेर, समाचारहरू पढेर समय बिताइरहेको छु ।
नेपालमा गत वर्षदेखि महामारीको रूपमा शुरू भएको कोरोना महामारीमा म पनि संक्रमित बन्न पुगें । अनेक सावधानी अपनाउँदाअपनाउँदै पनि म संक्रमित भएँ । आईसीयूमै उपचारपश्चात निको भएर फर्किएको थिएँ । त्यो समय निकै पेनफूल थियो ।
त्यस समयदेखि मैले परिवारलाई समय दिइरहेको छु । बीचमा संक्रमण कम हुँदै जाँदा बाहिर हिँडियो तर अहिले निषेधाज्ञामा म घरमै छु, हाँसखेल, कुराकानी यही नै हो ।
अरू बेलामा निकै व्यस्त भएर पनि घरपरिवारलाई समय दिन सकिँदैन थियो, तर अहिले यो अवधि त सबैभन्दा धेरै घरमा बसेको हो जस्तो लाग्छ । निषेधाज्ञा परिवारसँग समय बिताउने बहाना पनि बनेको छ ।
कतिपय अवस्थामा उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष भएकाले विभिन्न मिटिङहरूमा अनलाइन प्रविधिमार्फत सहभागिता जनाइरहेको हुन्छु ।
आफ्नै अफिसका कर्मचारीहरूसँग पनि जूम प्रविधिबाट छलफल गरिरहेको हुन्छु । निषेधाज्ञा अवधिमा कार्यालय गएको छैन ।
यसो हुँदा सबै कर्मचारीहरूसँग घरबाटै कुरा गर्नुपर्ने हुँदो रहेछ ।
निषेधाज्ञाको समयमा म पूर्ण रूपमा फ्री भएर बसेको छैन । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणमा सहजीकरणका लागि महासंघले हटलाइनको व्यवस्था गरेको छ ।
यसबाट उपाध्यक्ष र सदस्यहरू सहितको टीम बनाएर विभिन्न किसिमका कामहरू, जस्तै एम्बुलेन्स, अक्सिजन तथा अस्पतालहरूसँग सहजीकरण गर्ने, बिरामीहरूलाई सहयोग गर्ने जस्ता कामहरू गरिरहेका छौं ।
यसका लागि कोअर्डिनेट मैले गरेको छु । त्यसकारण बिहानदेखि रातिसम्म नै यसका लागि मैले काम गरिरहेको हुन्छु ।
अहिले निकै पेनफूल अवस्था हो । यस अवस्थामा मुलुकमा पूर्वाधारको हिसाबमा पनि स्वास्थ्य क्षेत्रमा सरकारले विशेष प्राथमिकताका साथ विकास गर्नुपर्ने देखिन्छ । मैले नै कतिपय अवस्थाहरूमा अनुभव गरेको छु ।
स्वास्थ्य तथा पूर्वाधारको हिसाबमा अस्पताल, अक्सिजन प्लान्ट, आइसोलेसनजस्ता क्षेत्रमा सक्रिय सहभागिता आवश्यक हुनुपर्ने देखिन्छ ।
घरमा बस्दा यस्तैयस्तै सोचहरू आउने रहेछन् । मैले समयसमयमा विभिन्न निकायहरूमा पनि यी सुझाव राख्ने गरेको छु ।
अहिले आर्थिक वर्ष २०७८/०७९ का लागि नयाँ बजेट आउँदैछ । यस बजेटमा निजी क्षेत्रको पुनरुत्थानका लागि सरकारले विशेष प्याकेज ल्याओस् भन्ने चाहना छ ।
निजी क्षेत्र सरकारको राजस्वको स्रोत हो । रोजगारी सिर्जनाका लागि पनि यसको ठूलो योगदान छ । त्यसकारण कोरोना महामारीले थलिएको व्यवसायलाई पुनः माथि उठाउने गरी नयाँ बजेट बनाउनुपर्छ ।
नयाँ बजेटले कम्तिमा २ वर्षका लागि व्यवसायलाई राहत हुने गरी लैजान सकेमा त्यसपछि त महामारी एक हदसम्म रोकिन्छ कि भन्ने लाग्छ ।
(कुराकानीमा आधारित)