२६ जेठ २०८३, मंगलबार
कोरोना संकट

‘ग्राउन्ड जिरो’ ३- एपीएफ अस्पताल : एक आमाको चित्कार– मेरो कोख बचाइदिनुस् डाक्टरसा’ब !

सशस्त्र प्रहरी अस्पताल सतुंगलका डाक्टर सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रोशनकुमार झा कोरोनाका बिरामीको अवस्था बुझ्न बेडतर्फ जाँदै थिए । 

डा. झालाई देखेर रामेछापकी शान्ता (नाम परिर्वतन) उनी नजिक आइन् । उनले आफ्नो छोरालाई जसरी भएपनि बचाइदिन आग्रह गरिन् ।

‘मेरो कोख बचाइदिनुस्, डाक्टर सा’ब,’ ती आमाको अनुनय सुनेपछि डा. झाले सान्त्वना दिए, ‘केही हुँदैन, त्यस्तो अवस्थाबाट त फर्काएका छौं, निको हुन्छ, आत्तिनु पर्दैन,’ उनलाई हौसला दिँदै सम्झाए ।

उनले बारम्बार दोहोर्‍याइरहिन्, ‘मेरो कोख बचाइदिनुस् डाक्टरसा’ब !’ 

आफ्नो छोराले खाना पनि नखाएको कुरा उनले सुनाइन् ।

‘छोराले केही खान मान्दैन । हजुरले अलि सम्झाइदिनुपर्‍यो,’  शान्ताले आग्रह गरिन् । 

डा. झा उनको छोरा भएको ठाउँमा गए । १९ वर्षका छोरा रोहित (नाम परिवर्तन) बोल्न सक्दैनथे । डाक्टरलाई देखेपछि मुसुक्क हाँसे । 

आमासँग कापी र कलम मागे । ‘म कहिले कोरोनाको खोप लगाउन सक्छु ?’ लेखेर प्रश्न सोधे । 

लिखित प्रश्नको जवाफमा डा. झाले बोलेरै भने, ‘आफ्टर ३ विक्स (अबको तीन हप्तापछि) लगाउन मिल्छ ।’

त्यसपछि उनले डाक्टरलाई कानैमा केही भन्न खोजे, तर सकेनन् ।

शायद उनलाई डाक्टरसँग धेरै सोध्न मन थियो तर घाँटीबाट पाइप लगाएर खाना खुवाएका कारण उनी बोल्न सकेका थिएनन् । 

डाक्टर झाले लोकान्तरसँग भने, ‘उहाँलाई नाक र घाँटीबाट पाइपको माध्यमले खाना दिइएको थियो, त्यसैले बोल्न सक्नुहुन्न ।’

रोहितले आमातिर पुलुक्क हेरे । आमाले उनको हेराइबाटै कुरा बुझेर कामी र कलम दिइन् ।

उनले अर्को प्रश्न कापीमा लेखे, ‘मलाई मासु मन पर्दैन । स्टामिना बढाउनका लागि मैले के खाने ?’ 

‘तपाईं भेजिटेरियन भए पनिर खानुस् । फलफूल खानुस् । फ्रेस जुस खानुस्,’ डा. झाले बोलेरै जावाफ दिए ।

थोरै मुस्कुराएर रोहितले ‘हवस्’ भन्ने संकेत गरे ।

रोहितकी आमाले मासु खाँदैन, अरू त खुवाएकी छु डाक्टर सा’ब भनिन् ।

डा. झाले नआत्तिन आग्रह गर्दै केहीबेर सम्झाए । शायद त्यसपछि उनको मन शान्त भयो । उनी छोरालाई सुम्सुम्याउँदै बसिन् ।

उनले २०७२ सालको विनाशकारी भूकम्पमा छोरी गुमाएकी रहिछन् । कोरोनाले छोरोलाई केही हुन्छ कि भन्ने चिन्ता उनलाई छ । 

आमाको मन न हो, छोराछोरीलाई सानो चोट लाग्दा त सहन गाह्रो हुन्छ ।

१५ दिन अगाडि सशस्त्र प्रहरी अस्पताल आएकी शान्ता रोहितलाई २ चोटी आईसीयू भेन्टीलेटरमा राख्नु परेकाले धेरै डराएकी रहिछन् ।

‘२/२ चोटी आईसीयूमा राखेर ल्याएको सन्तानको नाममा यही एउटा छोरा छ,’ लोकान्तरसँग शान्ताले भनिन्, ‘आश मरेको थियो, डाक्टरसा'बहरूले बचाइदिनुभयो ।’

कोरोना संक्रमणका कारण फोक्सोमा धेरै क्षति पुगेकाले रोहितलाई पछिल्लो समयमा मात्रै २ पटक भेन्टीलेटरमा राखेर उपचार गर्नुपरेको डा. झाले लोकान्तरलाई बताए । 

उनी अहिले कोरोना संक्रमणमुक्त भइसकेका छन्, तर कोरोनाले फोक्सोमा पुर्‍याएको क्षति रिकभर हुन समय लाग्ने अवस्था छ ।

उनलाई डिस्चार्ज गर्न अझै केही दिन लाग्ने डा. झाले बताए ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्