०७ साउन २०८३, बिहीबार
बागमतीको पुनर्जीवन

बागमतीमा अब ढल होइन, बग्नेछ प्रशोधित पानी : फोहोरबाटै उत्पादन हुनेछ २०४ किलोवाट बिजुली

साउन ७, २०८३
काठमाडौं

काठमाडौं उपत्यकाको मुख्य नदी बागमतीमा अब प्रशोधन नगरी ढलको पानी मिसिने क्रम अन्त्य हुने भएको छ । 

बागमतीमा मिसिने फोहोर पानीलाई आधुनिक प्रविधिबाट प्रशोधन गरेर मात्रै नदीमा छाड्ने उद्देश्यले निर्माण गरिएको धोबीघाट फोहोर पानी प्रशोधन केन्द्र अन्तिम चरणमा पुगेको छ ।

नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)को करिब दुई अर्ब रूपैयाँभन्दा बढीको संयुक्त ऋण लगानीमा निर्माण भएको यो आयोजना सञ्चालनमा आएपछि दैनिक ३ करोड ७२ लाख लिटर (३७.२ एमएलडी) ढल प्रशोधन गरी सफा पानी बागमतीमा छाडिनेछ ।

शुरूमा खानेपानी मन्त्रालयअन्तर्गत रहेको आयोजना हाल भौतिक पूर्वाधार मन्त्रालयको मातहतमा सञ्चालन भइरहेको छ । सिभिल निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सीजीसीओसीले लिएको छ भने विद्युतीय तथा यान्त्रिक प्रणाली जडानको काम हङकङस्थित अटल जेभीले सम्पन्न गरेको हो ।

सन् २०१८ मा गुह्येश्वरी प्रशोधन केन्द्रको सफल परीक्षणपछि धोबीघाट परियोजनाको निर्माण अघि बढाइएको थियो । प्रारम्भिक चरणमा स्थानीयको विरोध, त्यसपछि कोरोना महामारी र अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा आएको अवरोधका कारण आयोजना प्रभावित भएको थियो ।

यसबाहेक २०२४ सेप्टेम्बर २८ मा आएको बाढीले प्रशोधन केन्द्रमा करिब चार फिटसम्म पानी पस्दा उपकरणमा क्षति पुगेको थियो । त्यसपछि उपकरणको सफाइ, मर्मत तथा नयाँ उपकरण आयात गरेर आयोजना पुनः सञ्चालनको तयारी गरिएको हो ।

यसरी हुन्छ ढलको पानी प्रशोधन

प्रशोधन केन्द्रमा प्रवेश गरेको ढलको पानीलाई विभिन्न चरणमा प्रशोधन गरिन्छ ।

पहिलो चरणमा मेसिनले ढुङ्गा, प्लास्टिक, बोतललगायत ठूला फोहोर छुट्याउँछ । त्यसपछि बालुवा, गिट्टी तथा अन्य सूक्ष्म फोहोर अलग गरिन्छ । 

त्यसपछि पानीलाई इक्वलाइजेसन ट्यांकमा सन्तुलित गरी एरिएसन ट्यांकमा अक्सिजनको सहायता लिएर सूक्ष्म जीवाणुमार्फत जैविक प्रशोधन गरिन्छ ।

अन्तिम चरणमा लेदो छुट्याएर क्लोरिनमार्फत पानीलाई कीटाणुरहित बनाइन्छ । त्यसपछि मात्रै प्रशोधित पानी बागमती नदीमा छाडिने व्यवस्था गरिएको छ ।

प्रशोधन केन्द्रको सम्पूर्ण सञ्चालन स्काडा प्रणालीमार्फत एउटै नियन्त्रण कक्षबाट डिजिटल रूपमा गर्न सकिने व्यवस्था गरिएको छ ।

फोहोरबाटै उत्पादन हुनेछ बिजुली

प्रशोधन प्रक्रियामा निस्कने ग्यासको उपयोग गरी अधिकतम २०४ किलोवाट विद्युत् वा बायोग्यास उत्पादन गर्ने प्रविधिसमेत जडान गरिएको छ । यसले सञ्चालन खर्च घटाउनुका साथै ऊर्जाको पुनः उपयोगमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आयोजनाको सिभिल निर्माण कार्य शतप्रतिशत सम्पन्न भइसकेको छ भने हाल वास्तविक ढलको पानी प्रयोग गरेर तेस्रो चरणको प्राविधिक परीक्षण (कमिसनिङ) भइरहेको छ । आगामी पाँच वर्षका लागि आवश्यक स्पेयर पार्ट्ससमेत व्यवस्थापन गरिसकिएको आयोजनाले जनाएको छ ।

स्ट्रिट लाइट तथा ल्यान्डस्केपिङजस्ता केही बाँकी काम सम्पन्न भएपछि आयोजना पूर्ण रूपमा सञ्चालनमा आउनेछ ।

आयोजना सञ्चालनमा आएपछि बागमतीमा सिधै ढल मिसिने अवस्था अन्त्य हुने, नदीको पानीको गुणस्तरमा उल्लेखनीय सुधार आउने तथा जलचर, वन्यजन्तु र समग्र नदी प्रणाली संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । 

प्रशोधित पानी प्रत्यक्ष पिउन योग्य भने नहुने जनाइएको छ ।

हेर्नुहोस् भिडियो :

salt training

कमेन्ट गर्नुहोस्