चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–बसुन्धरा खण्डको माछापोखरी क्षेत्रमा ५६५ मिटर लामो अत्याधुनिक ‘भ्याडक्ट ब्रिज’ (फ्लाइओभर) निर्माण गरिने भएको छ ।
चीन सरकारको पूर्ण अनुदानमा निर्माण हुन लागेको उक्त संरचनाको भौतिक निर्माण दशैं–तिहारपछि शुरू गर्ने तयारी गरिएको छ ।
आयोजनाअन्तर्गत माछापोखरीमा निर्माण हुने फ्लाइओभर ग्वार्कोको संरचनाभन्दा फरक हुनेछ । ग्वार्कोमा जस्तै माटो भरेर सडक उचालिने नभई विशाल पिल्लरमाथि ‘भ्याडक्ट ब्रिज’ निर्माण गरिनेछ ।
उक्त फ्लाइओभरले विष्णुमती नदीलाई ९० डिग्रीको कोणमा पार गर्दै स्थानीय तथा मुख्य सडकको सवारीलाई अलग–अलग सञ्चालन हुने व्यवस्था गर्ने लक्ष्य राखिएको छ ।
फ्लाइओभर निर्माणका लागि हाल रहेको माछापोखरी पुल हटाएर नयाँ संरचना निर्माण गरिनेछ । यो संरचना कलंकीदेखि बसुन्धरासम्मको ८.२ किलोमिटर चक्रपथ विस्तार आयोजनाको प्रमुख आकर्षणका रूपमा रहनेछ ।
चीनको सहयोगमा सन् १९७७ मा निर्माण भएको २७.२ किलोमिटर चक्रपथमध्ये कोटेश्वर–कलंकी खण्डको विस्तार २०७५ सालमै सम्पन्न भएको थियो । तर, कलंकी–बसुन्धरा दोस्रो खण्ड विभिन्न प्राविधिक कारणले सात वर्षदेखि अघि बढ्न सकेको थिएन ।
नेपाल र चीन सरकारबीच २०८१ भदौ ६ गते यस आयोजनाका लागि अनुदान सम्झौतामा हस्ताक्षर भइसकेको छ । चीनको सीसीसीसी फर्स्ट हाइवे कन्सल्ट्यान्ट्स कम्पनी लिमिटेड ले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ भने २०८३ वैशाख १६ गते द्विपक्षीय कार्यान्वयन सम्झौता सम्पन्न भइसकेको छ ।
आयोजनाअन्तर्गत कलंकी–बसुन्धरा सडकलाई ६२ मिटर चौडाइको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ८ लेन सडकमा विस्तार गरिनेछ । बीचमा तीन मिटर चौडाइको सेन्टर मिडियन रहनेछ भने दुवैतर्फ चार–चार लेनका मुख्य सडक, सर्भिस लेन, हरियाली क्षेत्र तथा फुटपाथ निर्माण गरिनेछ ।
यस्तै, सीतापाइला, गंगालाल अस्पताल क्षेत्र र बसुन्धरा आसपास गरी चार स्थानमा आधुनिक आकाशे पुल निर्माण गर्ने योजना पनि समावेश गरिएको छ ।
आयोजनाका इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार चिनियाँ पक्षबाट डिजाइनको ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ भने ठेक्का प्रक्रियाको तयारी भइरहेको छ । ठेकेदार छनोट भई निर्माण शुरू भएपछि चार वर्षभित्र सम्पूर्ण आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
उनका अनुसार जग्गा प्राप्ति र विद्युत्का पोल स्थानान्तरणका अधिकांश समस्या समाधान भइसकेका छन् । निर्माण सामग्री व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको छ भने सडक किनारका अनधिकृत संरचना र डम्पिङ सामग्री हटाउन काठमाडौं महानगरपालिकालाई पत्राचार गरिएको छ ।
निर्माण कार्य शुरू भएसँगै हाल सडक किनारमा राखिएका अस्थायी तारजालीसमेत हटाइनेछ ।
आयोजना सम्पन्न भएपछि माछापोखरी क्षेत्रको ट्राफिक व्यवस्थापनमा सुधार आउने, सवारी आवागमन सहज हुने तथा काठमाडौंको चक्रपथलाई आधुनिक शहरी सडक सञ्जालमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
हेर्नुहोस् भिडियो :