०३ असार २०८३, बुधबार
गण्डकी सरकार

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, पुरानै ४ मन्त्रीले शपथ लिँदा दीपक मनाङे अनुपस्थित !

जेठ ५, २०७८
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, पुरानै ४ मन्त्रीले शपथ लिँदा दीपक मनाङे अनुपस्थित !

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नियुक्तिको एक सातापछि गण्डकी प्रदेशमा बुधबार मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले पुरानै मन्त्रीहरूलाई नियुक्ति दिँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधवार प्रदेश प्रमुखको कार्यालयमा ४ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन् ।

पुरानै मन्त्रीहरूले निरन्तरता पाएपनि निवर्तमान युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) काठमाडौं भएकाले शपथमा उपस्थित हुन सकेनन् । 

शपथ ग्रहण गर्नेहरूमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, विना विभागीय मन्त्रीहरू रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन छन् ।

मुख्यमन्त्रीले भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानून, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास मन्त्रालय आफैँले राखेका छन् ।

मन्त्रिमण्डल विस्तारसँगै मुख्यमन्त्रीले प्रदेशमा मन्त्रालय थप्ने जनाएका छन् । 

मन्त्रिमण्डल विस्तारसँगै बुधबार नै बस्ने मन्त्रिपरिषद बैठकमा जिम्मेवारी बाँडफाँट गरिने जनाइएको छ ।

गण्डकीमा ६० सदस्य रहेकोमा १२ जनासम्म मन्त्रिमण्डल बनाउन सकिने संवैधानिक प्रावधान छ । यसअघि ८ मन्त्री थिए ।

मुख्यमन्त्रीले १० सदस्यीय मन्त्रिमण्डल बनाउन सक्ने स्रोतले जनाएको छ ।  

आफूविरुद्ध विपक्षीहरूबाट अविश्वासको प्रस्ताव आएकै बेला उनले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

गत वैशाख २६ मा मुख्यमन्त्रीबाट राजीनामा दिएका उनी पुनः दोस्रो कार्यकालका लागि ठूलो दलको संसदीय दलको नेताको हैसियतले ३ दिनभित्रै मुख्यमन्त्री नियुक्त भएका थिए । 

कोभिड–१९ संक्रमितका कारण आइसोलेसनमै रहेको हुँदा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्