२५ जेठ २०८३, सोमबार
सन्दर्भ : युगकवि सिद्धिचरण श्रेष्ठ स्मृति दिवस

युगकविको ‘कारागारको सम्झना’ : क्रान्तिचेत र विद्रोहको जीवन्त चित्र

जेठ ९, २०७८
युगकविको ‘कारागारको सम्झना’ : क्रान्तिचेत र विद्रोहको जीवन्त चित्र

साहित्य सिर्जनाका लागि खुला वातावरण र सुविधा स्थान मात्र जरुरी होइन । सर्जकले जस्तोसुकै परिस्थितिमा पनि सिर्जनालाई निरन्तरता दिन सक्छ भन्ने कैयन उदाहरण जेलभित्र लेखिएका वा जेलभित्रको यातनाका अनुभूतिमा लेखिएका कृतिबाट पाउन सकिन्छ । कारागारलाई सिर्जना आधार बनाइ कारागार साहित्यको विकास भएका कैयन उदाहरण विश्व साहित्यमा पाउन सकिन्छ । नेपाली वाङ्‍मय यसबाट अपवाद छैन ।

निरङ्कुश सत्ताले चेतनालाई कैद गर्न सक्दैन, केवल व्यक्तिको भौतिक शरीरलाई मात्र कैद गर्नसक्छ । विचार र चेतना कहिल्यै पनि कारागारभित्र बन्द हुँदैन, निसासिँदैन, बरु झनै सशक्त देखिन्छ भन्ने कुरा विश्वका महान कृतिहरु जेल जीवनमा लेखिएबाट सिद्ध भएको छ । चेतनाले बन्दीगृहलाई पनि सिर्जनास्थल बनाउँदो रहेछ । यसलाई कारागार साहित्य पनि भन्न सकिएला ।

कारागार साहित्यको बेग्लै अनुभूति र स्वाद हुन्छ । कारागारभित्र पनि सर्जक सामान्य जीवन बिताउँदैन । त्यतिबेला लेखक, साहित्यकारहरू असीम काव्यात्मक अनुभूति वा आन्तरिक छटपटीको पीडा भोगिरहेका हुन्छन् । तर बाह्य परिवेशसँग भने उनीहरु नितान्त टाढा हुन्छन् । बाह्य परिवेशबाट टाढा भएकाले नै मनभित्र दौडिनु, पौडिनु, पोखिनु, मनोलाप गर्नु सर्जकको दैनिकी हुन्छ, शब्दहरू त्यसैलाई उठाएर उत्कृष्ट साहित्य सिर्जना गरिदिन्छ । त्यो साहित्य मात्र रहँदैन, इतिहास पनि बनिदिन्छ, स्वतन्त्रता र क्रान्तिचेतको दर्शन पनि बन्न सक्छ, किनकी साहित्य कहिलेपनि समाज निरपेक्ष रहँदैन ।

त्यसो त कारागार वा बन्दीगृहमा छटपटिनु जत्तिकै पीडा जन्मभूमिबाट लखेटिँदा दार्शनिक दाँतेले भोगे र ती पीडालाई ‘डिभाइन कमेडी’ मा उतारे । अर्को अर्थमा अनिच्छित प्रवास पनि बन्दीगृह नै हो । जुन चीज वा परिवेश आफूबाट पर हुन्छ वा पर गराइन्छ, त्यो अवस्था पनि बन्दीगृह हो । कारागार भौतिक र आत्मिक दुवै रुपमा हुन्छ ।

विद्रोहको आरोपमा जेल राखिएका एक सामान्य कर्मचारी मेकियावेलीले त्यहाँ नै ‘दी प्रिन्स’ जस्तो सुन्दर कृति मात्र दिएन, शासन प्रणालीमा उथलपुथल ल्याउने राजनैतिक दर्शनका प्रतिष्ठाता नै बन्न पुगे । जीन जेनेटले बन्दी अवस्थामा नै ‘आवर लेडी अफ दी ल्फोरेन्स’ जस्तो विख्यात उपन्यास लेखी बन्दीगृहमा युवायुवतीमा अनुभूत हुने यौवनावस्थाका पीडालाई छताछुल्ल पार्न पुगिन् । जोन व्युनान ब्राडफोर्ड जेलभित्र रहँदा नै ‘पिल्ग्रिम्स प्रोग्रेस’ मार्फत पवित्र शहरको तीर्थाटन गर्न पुगे, मार्को पोलो ‘मार्कोपोलोको यात्रा’ कति साहसिक र मनोरम यात्रामा हिडें । क्रिम्सटन जेल नपरेको भए बट्र्राण्ड रस्सेल बीसौं शताब्दीका विख्यात दार्शनिक बन्न सक्दैनथे, न ‘प्रिजन  अर प्यासन’ को नै जन्म हुन्थ्यो । बन्दीगृहमा लामो बसाइमा रहेका यस शताब्दीका राजनेता नेल्सन मण्डेला आफैंसँगको कुराकानी (कन्भरसेसन वीथ माइसेल्फ) मा अन्तरमनको यात्रा गरे । मार्टिन लुथर किङले ‘बर्निङघम कारागारबाट चिठी’ लेख्दै संसारलाई नै चकित पारे । जवाहरलाल नेहरुको नेहरुज लेटर्स लुथर किङ कै बाटो समाउन पुग्यो । महात्मा गान्धीदेखि लेक वालेसाहरु समाजलाई शिक्षा र विचार दिन पुगे ।

त्यसो त नेपालका बन्दीगृह पनि अपवाद कहा रहे र ? नेपालको राजनीतिका शिखर व्यक्तित्व जननायक विपी कोइराला बन्दीगृहबाट नै महान साहित्यकार पनि बन्न सके । साहित्य लेखनीमा छुट्टै धार शायद जेलकै कारण स्थापित गर्न सके । उनका आख्यान र जेल डायरीहरू सुदूर भविष्यतक नेपाली समाजलाई मनोरञ्जन र मार्गदर्शन गरिरहने छन् ।

जेलभित्र सिर्जित साहित्यले मानवता, विचार, दर्शन र शैलीगत पक्ष सामान्य अवस्थामा सिर्जिएको सिर्जनाभन्दा फरक पाइन्छ । किनकी जेलभित्रका अन्तरमनका यात्रा, मनोसंवाद र दैनिकीले काव्यात्मक आयाम, आत्मिक चिन्तन र कल्पनाका बेग्लै अनुभूति हुन्छन् । रस्सेल वा वीपी, व्युनान वा जेनेट यसका उदाहरण हुन् । क्रान्ति र प्रकृति चेतका भरपूर व्यक्ति युगकवि सिद्धिचरण श्रेष्ठ पनि कारागारको सम्झना मार्फत बन्दीगृहमा बिताएका क्षणहरुलाई काव्य सौन्दर्यसाथ प्रस्तुत गर्न पुग्छन् । ‘कारागारको सम्झना’ कारागारलाई आधारि मानी लेखिएको बेजोड कृति बन्न पुगेको छ । युगकविमा भएको युग चेत यसमार्फत नेपाली साहित्यले पाएको छ ।

‘कारागारको सम्झना’ युगकवि सिद्धिचरण श्रेष्ठको कारागारमा बिताएका संस्मरणको संगालो हो । राणाशासन विरुद्धको जनक्रान्तिका लागि युगचेतना जगाउने राजनीतिज्ञ, बुद्धिजीवी, समाजसेवी जागरुक युवाहरुसाथ वि.स. १९९७ कार्तिक २ गते बन्दी बनाइनु भएका युगकवि लगायत शुक्रराज, टङ्कप्रसाद, रामहरि शर्मा, धर्मभक्त, चुडाप्रसाद, गणेशमान, जीवराज, पूर्णनारायण लगायत ३२ जना व्यक्तिहरुलाई दिइएको यातनाको वरिपरी घुमेको छ ‘कारागारको सम्झना’ । एकातिर यो तात्कालीन समाजको सजीव चित्र उतार्ने इतिहास हो भने अर्को नेपालमा राजनैतिक आन्दोलन कसरी शुरु भयो, क–कस्को योगदान रह्यो, तिनीहरुलाई राणा शासकहरुले कसरी नारकीय व्यवहार गर्‍यो भन्ने यथार्थ चित्र पनि हो , कारागारको सम्झना’ । यो कृति त्यसैले वि.स. १९९७ का राजनैतिक घटनाहरुलाई त्यस इतिहासमा संलग्न एउटा नायकले उतारेको सम्भवतः सवैभन्दा भरपर्दो कृति पनि हो ।

सामाजिक चेतना र जागरणका गीतहरू जनतासामू पोख्ने एउटा कवि हृदय बन्द कारागारभित्र आफ्नै वावुको क्रिया गर्न नपाउँदा आफ्नै कृतिका पानाहरू चोरिदा, लुटिँदा र च्यातिँदा, आफ्नै सहयात्री–सहृदयी साथीहरुको निर्मम हत्या हुँदा कसरी सम्हालिएर कविता, संवेदना र आत्मकथा अभिव्यक्त भएर बसेको छ भन्ने जानकारी कारागारको सम्झनाले दिन्छ । त्यसो त लौहपुरुष गणेशमान सिंहले भने झै ‘युगकवि सिद्धिचरण श्रेष्ठ एउटा युगचेतना र युग प्रेरणाको अमर नाम हो ।’ गणेशमान सिंहले काजिदाइ (सिद्धिचरण) लाई उनको क्रान्तिचेतका कारण धेरै ठाउँमा मुक्तकण्ठले प्रशंसा गरेका छन् । यस्तो प्रशंसा समकालीन राजनीतिज्ञ र सर्जकहरुले पनि धेरै ठाउँमा गरेको पाइन्छ ।

नेपालको राजनैतिक जीवन र साहित्यिक क्षेत्रमा सजग रुपले क्रान्तिकारी भावनाको उद्घोष गर्ने प्रथम कविका रुपमा युगकविको योगदान चिरस्मरणीय रहने छ । युगकविका कवितामा मानव संवेदनाका स्वरहरु असरल्ल छरिएका हुन्छन्, साहित्य सर्जकमा सामाजिक जागरण जगाउने साहस हुन्छ भन्ने साहित्य अनुरागीहरुलाई पर्याप्त जानकारी भएको विषय हो । तर यही कारणले उनलाई १८ वर्ष कैद सजाय सहित जेल चलान गरेको थियो भन्ने कुरा सवैमा जानकारी नभएको हुनसक्छ । जेलका दिनचर्या पनि समाज सुधार र आन्दोलनका लागि उनको चिन्तन समर्पित थियो भन्ने जानकारी प्रस्तुत कृतिले दिएको छ । उनका मनमा उर्लेका विद्रोह, आक्रोस, उत्साह र पीडाले सङ्गठित स्वरुप पाएको छ यस कृतिमा ।

कारागारको सम्झनाले कतिपय सत्यहरुलाई उद्घाटित गरिदिएको छ । एउटा देशभक्त प्रजातन्त्रवादीको निष्ठा कति दृढ हुँदो रहेछ भन्ने कुरा गङ्गालाललाई दिएको क्रुर यातनामा पनि प्रजापरिषदको कुनैपनि कुरा नखोल्नाले प्रष्ट पारेको छ भने मानव संवेदना कति सरल हुदो रहेछ भन्ने कुरा दशरथ चन्दले राममाया च्यामिनीलाई आफ्नो संभावित हत्याप्रति सङ्केत गरेर ‘मेरो लागि रुने कोही छैन राममाया, तिमी दाइ दशरथ चन्द भनेर एकक्षण भएपनि रोइदिनु ।’ भन्ने आग्रहबाट पुष्टि हुन्छ । त्यस्तै राणा शासक र उनीहरुमा अनुयायीहरुको बन्दी राजनीतिज्ञ समाजसुधारक प्रति गरिएको निर्मम व्यवहार, त्यसमा नहट्ने गणेशमान, चुडाप्रसादहरुको साहसिकपनालाई युगकविको कलमले सम्झनामै भएपनि सम्पूर्णत: मेटेको छ ।

गङ्गालाल लगायतका व्यक्तिहरुलाई दिएको यातनाबाट कवि हृदय क्षत–विक्षत भएको छ । गणेशमानमा आक्रोश जागेको छ ! समय बिताउने क्रममा कविता लेख्नु, रमाइलो गर्नु, गीता, रामायण पाठ गर्नु, पुराण भन्नु सवै जेल जीवनका कारुणिक दिनचर्या हुन् । तर जेलभित्रका युवाहरुमा एकै श्वर गुञ्जिएको छ, ‘स्वतन्त्रतालाई हुर्काउनका निम्ति हामीले आफ्नो रगत सिंचाई गर्नु परेको छ ।’

जेल जीवनमा रोगी भएर बौलाएका बलवहादुर पाँडेको स्याहार गर्ने गणेशमान सिंहको कठोर मन कति कोमल मानवीय पनि रहेछ भन्ने छुपेको यथार्थलाई युगकविले कलात्मक ढङ्गले उतारेका छन् । यसबाहेक प्रजा परिषद, आर्य समाजका स्थापनाका कुराहरु, दशरथ चन्द, गंगालाल, धर्मभक्त, शुक्रराज, टङ्कप्रसाद आचार्य, पूर्णप्रसाद, जीवराज, चुडाप्रसाद, हीराप्रसाद, खड्गमान सिंह, बलबहादुर, स्वयम् युगकवि, पूर्णनारायण, चित्तघर लगायतका व्यक्तिहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको ऐतिहासिक योगदानको विवरण पनि कविले उतारेको छन् ।

 साथै उनले लखन थापाभन्दा पूर्वको भारदारी षड्यन्त्र आपसी शक्ति संघर्षको परिणाम हो र त्यसपछिका राजनैतिक क्रियाकलाप मात्र प्रजातन्त्रका लागि चालिएका कदम हुन् भन्ने यथार्थलाई उजागर गरेका छन् ।     

जेलमा रहँदा मानिस सामान्यतः आपसमा पुराना कुराहरु दोहो¥याएर, आफ्ना कथाहरु पल्टाएर समय व्यतित गर्दछन् तर युगकविलगायत जेलजीवनमा रहेका प्रतिभा र राजनैतिक व्यक्तिहरु ३२ सै जनाले मुलुक, स्वतन्त्रता, भाषा, साहित्य जस्ता सार्वजनिक विषयमा चिन्तन, बहस, छलफल लेखनीमा जेल जीवन व्यतित गरेको पाइन्छ । यसै समयमा युगकविले ‘करवीर मसान’ र थुप्रै कविता, काव्य सिर्जना गरे, चित्तधर हृदयले ‘सुगत सौरभ’ (महाकाव्य) लेखे, केदारमान व्यथितले पनि साहित्य साधना गरे ।

‘कारागारको सम्झना’ ब्युनानको तीर्थाटन वा जेनेटको जेलभित्र यौवन तड्पाई होइन, बरु यो मण्डेलाको अन्तर संवाद वा मेकियावेलीको विद्रोह हो । किनकी यसले तत्कालीन शासकहरुको जनदमनप्रति युगको विद्रोह बोकेको छ । साथै बन्दी जीवन साहित्य– भाषा सेवाको पनि मलिलो भूमि बन्न सक्छ भन्ने उदाहरण दिएको छ, जसलाई पछि महान आख्यानकार वीपी कोइरालाले पनि सिद्ध गरे । साथै युगकवि सिद्धिचरण प्रकृतिका काव्य चेत मात्र होइनन्, क्रान्ति चेतका बेजोड अभिव्यञ्जक हुन भन्ने पनि देखाएको छ ।

[email protected]     

salt training

कमेन्ट गर्नुहोस्