०७ साउन २०८३, बिहीबार
ब्लग

लज्जावती झार झैं बन्द हुने हाम्रा बजार

जेठ १३, २०७८
लज्जावती झार झैं बन्द हुने हाम्रा बजार

राजेन्द्र सेन्चुरी

प्रहरीको भ्यान साइरन बजाउँदै सरर आउँछ, पसलका सटर पनि सरर बन्द हुँदै जान्छन्, लज्जावती झार निभे झैँ l बजार पुरै ठप्प देखिन्छ l भ्यान अगाडी अगाडी बढ्दै जान्छ पछाडी पछाडिबाट सटर खुल्दै जान्छन् l लज्जावती झार उघ्रे झैँ l लज्जावती झारलाई फेरि खुल्न झन्डै १० मिनेट लाग्ने रहेछ यी सटरहरुलाई खुल्न २ मिनेट पनि लाग्दैन l लज्जावती झार त निभ्दैपिछे ब्युँझिरहन्छ, तर यस्तै ताल हो भने हाम्रा सटरहरू सँधै ब्युँझिरहलान् भन्ने कुरामा संकै लाग्छ l

आउनुस् तपाईं हामी मिलेर यो कर्मकाण्डी पारालाई बदलौँ l

अहिले प्रचलनमा रहेको कानुन ‘संक्रामक रोग ऐन, २०२०’ आज भन्दा ५८ बर्ष पहिला बनेको हो, हाम्रा हजुरबाका पालामा l त्यतिखेर सुनको भाउ ७०/७५ रुपैंया त्यस्तै केही हुँदो हो प्रतितोला l यो कानुन त्यो बेलामा जति बलियो थियो, अहिले त्यति पनि छैन l त्यही बेलामा निषेधाज्ञा उल्लङ्घन गर्नेलाई ५०० सम्मको जरिवाना थियो l त्यतिबेला ५०० रुपैंयाले ६/७ तोला सुन आउने रहेछ; अहिलेको हिसाबले झन्डै ६/७ लाख रुपैंया जरिवाना l तर अहिले सरकारको निर्णय नमान्दा जम्मा १०० रुपैंया जरिवाना वा १ महिनाको कैद, या दुबै; यत्ति मात्रै हो l अनि किन टेर्थे मान्छे l

आफ्नै लागि हो बाध्यकारी नियम बनाइएको भन्ने चेतना यिनमा छैन l राज्यको कानुन परिस्थिति अनुरुप बदल्न सकिएको छैन l मान्छे त्यत्तिकै रमिता हेर्नका लागि सडक छेउ भेला भइदिन्छन्, भेला भएर गफ्फिनु भन्दा बरु त्यो समयमा केही परसम्म पुगेर आउँदा दिनभरी घरमा बस्दा खुम्चिएको नसाले तन्कन पाउँछ भनेर बुझ्दैनन् l कसरी हुन्छ यो कुरा पनि बुझाउनु सरकारकै दायित्व हो l

जनस्वास्थ्यका मापदण्ड पालन नगर्नेलाई निर्देशन मात्रै हैन कडा कारवाही समेत गर्न आवश्यक त छ नै, तर कानुनले मात्रै पनि मान्छेको आदत परिवर्तन गराउन नसकिने हुँदा रचनात्मक अभ्यासहरू प्रयोगमा ल्याउने तिर पनि त्यत्तिकै ध्यान पुर्याउन पर्ने देखिन्छ l जस्तै अघिल्लो लकडाउनमा प्राय पसलहरूले आफ्नो अगाडी गोलो घेरा बनाएका हुन्थे तर यसपाली त्यो त्यति देखिएको छैन l मान्छेलाई भिड नगरिदिनुस् भनेर भन्नै नपर्ने त्यो तरिका प्रभावकारी थियो l फरक प्रसंगको अन्य उदाहरणहरूबाट पनि यो कुरा बुझ्न सकिन्छ l जस्तै: गत बर्षदेखि चोक-चोकमा राख्न सुरु गरिएको  ट्राफिक प्रहरीको पुत्लाले राम्रो काम गरेको देखिन्छ l यही आख्यानकारलाई समेत कैयौं पटक सचेत गराएको छ त्यसले नजानिँदो पारामा l कोभिडको सन्दर्भमा त्यस्तै किसिमका अन्य अभ्यासहरु पनि प्रयोगमा आइरहेका हुन सक्छन् अन्य देशमा, त्यसलाई पनि सिको गर्न सकिएला कि !

यसरी नयाँ ढंगबाट संदेश पुर्याउने कुरालाई व्यवहार विज्ञानको भाषामा ‘नज’ (कुहिनोले हल्का धक्का दिनु) भनिन्छ l नज सिद्धान्तका पिता रिचार्ड थ्यालर, जसले अर्थशास्त्रमा २०१७ को नोबल पुरस्कार जिते, उनले यस सिद्दान्त विमानस्थलको पुरुष शौचालयभित्र मुत्रविश्राम गर्ने ठाउँ (युरिनल)मा राखिने झिँगाको चित्रबाट प्रेरित भएर प्रतिपादन गरेका थिए भनिन्छ l पुरुषहरूले मुत्रबिश्राम गर्दा उक्त झिँगालाई उदेश्य बनाऊन् र पिसाब भुइँतिर नपोखियोस् भन्ने हेतुले उक्त चित्र बनाइन्छ l पहिलो पटक १९९० तिर आम्सटरड्यामको सिफल एयरपोर्टका प्रबन्धक आद किएबूमले उक्त झिंगाको चित्र युरिनलमा राखेपछि भुइँतिर छरिने पिसाब ८०% ले कम भएको थियो र त्यसले सफाई खर्च ८ प्रतिशतले घटाएको थियो रे l

यसबाट हामीले के सिक्न सक्छौं भने, यस्ता रोचक र बैकल्पिक तरिकाहरू अपनाएर मान्छेहरूको आदत परिवर्तन गर्न सकिन्छ l सामाजिक दुरी पालना गर भन्नै नपर्ने हिसाबले बनाइने पसल अगाडीको गोलो गोलो घेराहरू त्यसैको एउटा तरिका हो l जनस्वास्थ्यका नियमहरु पालना गराउन हाम्रो जस्तो शिक्षा स्तर कम भएको मुलुकमा त्यति सजिलो छैन l ‘नेपाली हो नि!’ जस्ता टिसर्ट-प्रिन्टको मर्मैबाट पनि त्यो कुरा ठम्म्याउन गाह्रो पर्दैन l केही गडबढ भो भने ‘हामी यस्तै त हो नि ब्रो!’ भन्दियो वा ‘नेपाली हो नि’ भन्दिए पछी पार पाइयो; पुन: त्यही कुरा दोहोर्याउने छुट पाइयो l तर रोगले हामीलाई छुट दिँदैन, तसर्थ हामी यस्तै त हो नि भनेर लापरबाही गर्न वा गर्न दिन मिल्दै मिल्दैन l

तसर्थ नयाँ नयाँ र रोचक या मनोरञ्जनात्मक बिधीको प्रयोगबाट यस्ता कुराहरुलाई बदल्न आवश्यक देखिन्छ l शायद कलिला नानीबाबुलाई बाहिर जानु हुँदैन धेरै हाउगुजी छ भनेर डर देखाइने कथा फेरि दोहोर्याउने दिन आएको छ, समय अनुसार परिस्कृत गरेर l हाम्रा आमाहरुले कोही पनि नभएको ठाउँमा जानु हुँदैन भुराचोरले लैजान्छ भन्थे, अब मान्छे धेरै भएको ठाउँमा जानुहुँदैन हाउगुजीले लैजान्छ भनेर बच्चाहरुलाई सम्झाउन पर्ने समय आएको छ l

अर्कोतर्फ जनस्वास्थ्यका नियम पालना गराउने सन्दर्भमा स्थानीय तहहरुले सक्रिय भूमिका खेल्न आवश्यक छ, जुन गरेको पाइएको छैन l उनीहरु प्रहरीको सारथी बन्न सक्छन्, नियम पालना गराउने सन्दर्भमा l कार्यालयकै गाडी लिएर पनि माइकिङ गर्दै हिड्न सक्छन् बिहान बेलुका, त्यो गरेको देखिएको छैन l

अर्कोतर्फ नियम बनाउनेहरुले समेत मौजुदा नियम प्रभावकारी भए नभएको समिक्षा गरेर सोही अनुसारको व्यवस्था गर्न पर्ने देखिन्छ l बनाउने बेलामा अनुमानको आधारमा बनाइने भएपनि कार्यान्वयनपश्चात यथेस्ट तथ्यांक प्राप्त गर्न सकिन्छ l हुन सक्छ राती ७ बजे बन्द गर्न लगाउनुको साटो ९ बजे सम्म खोल्न दिँदा ग्राहकको चाप घट्न सक्छ l यो एउटा अनुमान मात्रै हो, नघट्न पनि सक्ला तर  त्यो परिक्षण गरेर हेर्न सकिन्छ l बिगतमा यस्तो कहिल्यै पनि नभएकोले यही नै तरिका ठीक हो भनेर ठोकुवा गर्न सकिने अवस्था छैन, तसर्थ सम्भावनाका सबै विकल्पहरु खोजिरहन आवश्यक हुन्छ l

नीति नियम फितलो भयो भन्ने सन्दर्भमै अर्को कुरा गरौँ कालाबजारीको l

ऐतिहासिक दस्ताबेज भेटिन, तर सुनेको - ९० सालको भूकम्प जाँदा चोरी र कालाबजारी एकदमै बढ्यो रे l त्यतिबेलाका प्रधानमन्त्री जुद्ध शमशेरले चोर्नेको हात काटिदिने हुकुम दिएका थिए रे l कालाबजारी गर्नेलाई पनि त्यस्तै कडा कानुन थियो रे l अहिले केही अति आवश्यक देखिएको वस्तुमा कृत्रिम अभाव र कालाबजारी यसरी बढेको छ कि त्यस्तो सायदै अन्त कतै वा यो भन्दा पहिले सुनियो l बढीमा ५ हजार पर्ने एउटा औषधी (एक फाइल रेन्डिसिभिर) को ५० हजार सम्ममा बिक्री हुँदै छ भन्ने समाचार आउँछ l त्यही पनि अझै सक्कली हैन, उक्त औषधीको ट्याग लगाइएको ९० रुपैंया पर्ने कुनै अर्को औषधी l यसको नियमनमा सरकारले ध्यान पुर्याउन अपरिहार्य छ l यस्तो विषम परिस्थितिमा कसैको ज्यानसँग खेलेर धन कमाउन पल्किएका त्यस्ता अपराधीलाई सायदै कुनै सजाय कम होला l यद्यपी, त्यस्तालाई सबैले देख्ने गरेर कडा भन्दा कडा सजाय दिन सकेको खण्डमा मात्रै पनि त्यसले माथि चर्चा गरिएको ‘नज’को जस्तै काम गर्ने देखिन्छ l त्यस्ता अपराधीलाई जरिवाना मात्रै हैन, उनीहरुको ब्यवसायको लाइसेन्स समेत रद्द गरिदिएर सामाजिक बहिस्कार गरेपछि मात्रै अन्यले डर मान्ने थिए, नत्र हरेक संकटमा त्यही दुस्चक्र दोहरिरहने निश्चितप्रायः नै भो l

यसर्थ आउनुस्, यस माहामारीसँग जुध्न हामी सबैले आफ्नो आनीबानी सुधारौँ l सम्बन्धित निकायले पनि रचनात्मक ढंगका प्रयासहरु खोजोस्, र कानुनमा देखिएको फितलो पक्षलाई बलियो बनाएर यस रोगबाट दीर्घकालीन छुटकारा नपाउन्जेल जनस्वास्थ्यका नियमहरु कडाइका साथ पालना गराओस् l

(लेखक नीति अनुसन्धान प्रतिष्ठानमा विश्लेषकका रुपमा कार्यरत छन् lट्वीटर:@RSenchurey)

salt training

कमेन्ट गर्नुहोस्