
कोरोनाभाइरसको संक्रमण तीव्ररूपमा फैलिएपछि देशका अधिकांश जिल्लामा निषेधाज्ञा छ । जसका कारण कतिपय जिल्लामा बैंक तथा वित्तीय संस्था समेत बन्द छन् ।
देशका अत्यावश्यक वस्तु र अस्पतालबाहेक अन्य कुनै पनि संघसंस्था खुलेका छैनन् । कोरोना संक्रमण दर केही घटे पनि मानिसहरूको मृत्यु भइराखेकाले कहिले खुल्ने भन्ने पनि अन्योल छ ।
तर त्रिभुवन विश्व विद्यालयले यही बीचमा वार्षिक परीक्षाको फर्म खोल्दा विद्यार्थीहरू झन् अन्योलमा परेका छन् ।
२०७६ सालमा भर्ना भएका विद्यार्थीहरूको भविष्य कोरोनाभाइरसका कारण २ वर्ष पछाडि धकेलिएको छ ।
२०७७ सालमा गर्नुपर्ने स्नातक तहको परीक्षा २०७८ आउँदा पनि अझै अन्योल छ । २०७५ मा भर्ना भएका स्नातक तह दोस्रो वर्षका विद्यार्थीले परीक्षा दिँदादिँदै वैशाख १६ गतेबाट कोरोना भाइरसका कारण विश्वविद्यालयले परीक्षा स्थगन गरेको थियो भने परीक्षा फर्म खुलेको पहिलो वर्षका विद्यार्थीको परीक्षाको अन्तिम मिति वैशाख ३० सम्म थियो ।
४ वर्ष भएको स्नातक तहमा अहिले सबैमा अनिवार्य प्रयोगात्मक परीक्षा छ, जुन कलेजहरूले विश्वविद्यालयलाई पठाउनु पर्छ । तर अधिकांश आंगिक तथा मातहतका कलेजहरूले भने प्रयोगात्मक परीक्षा समेत लिन पाएका छैनन् ।
‘अघिल्लो वर्षको कोरोनाका कारण विद्यार्थीहरू घरघरमा भएकाले सबै विद्यार्थीले प्रयोगात्मक परीक्षा दिन पाएका छैनन्, वैशाख १७ गते लिने तयारी थियो तर बन्द भयो,’ रत्न राज्यलक्ष्मी क्याम्पसका सहायक प्रमुख गोविन्द आचार्यले लोकान्तरसँग भने, ‘अब अहिले टीयूले परीक्षा फर्म खुलाइदियो ।’
अनलाइन फर्म भर्दा विद्यार्थीले अनिवार्य रूपमा परीक्षा शुल्कको प्रतिलिपि राख्नुपर्छ, तर अहिले निषेधाज्ञाले बैंकसम्म पुग्ने अवस्था छैन ।
विद्यार्थीले कसरी फर्म भर्छन् ? त्यसमा पनि छोटो समय राखेकाले विद्यार्थीमाथि खेलबाड भएको सहायक क्याम्पस प्रमुख आर्चायले बताए ।
‘मलाई विद्यार्थीहरूले फोन गरेर अब हामीले कसरी फर्म भर्ने हामी त गाउँमा छौं, यहाँ बैंक छैन, काठमाडौं आउन पनि बन्द छ, फर्म खुलेछ भनेर फोन गर्छन्, मैले के जवाफ दिऊँ,’ आर्चायले गुनासो पोखे ।
रत्न राज्य क्याम्पसमा स्नातक तह पहिलो वर्ष पढ्ने ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका- ९ माधपुरकी अस्मिता राई अहिले गाउँमा छिन् । परीक्षा फारम खुलेको छ । त्यहाँ नेट राम्रोसँग चल्दैन फारम कसरी भर्ने भन्ने चिन्ताले सताएको उनले बताइन् ।
‘यहाँबाट बजार जानै २ घण्टा लाग्छ, त्यसमा पनि निषेधाज्ञा छ । बैंक खुलेको छैन, कसरी भर्ने परीक्षा फारम भन्ने चिन्ताले सताएको छ,’ अस्मिताले लोकान्तरसँग भनिन् ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तह पहिलो वर्षका विद्यार्थीलाई जेठ २० गतेसम्म परीक्षा फारम अनलाइनको माध्यमबाट भर्न भनेको छ ।
पछि तिर्न मिल्नेगरी मिलाएका छौंः परीक्षा नियन्त्रक
कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण निषेधाज्ञा लम्बिने अवस्था भएकाले विद्यार्थीलाई अनलाइन फारम भर्न पछि परीक्षा शुल्क बुझाउने गरी मिलाइएको त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
‘अहिलेको अवस्थालाई मध्यनजर गरेर हामीले खुलेपछि शुल्क तिर्ने गरी परीक्षा फारम भर्ने व्यवस्था मिलाएका छौं,’ नियन्त्रक जोशीले लोकान्तरसँग भने ।
संक्रमण र निषेधाज्ञामा विद्यार्थीहरूको परीक्षा कसरी गर्ने भन्ने विषयमा पदाधिकारीको बैठकले निर्णय गरेपछि आजै सार्वजनिक गर्ने समेत जोशीले बताए ।
‘हामी बैठक बस्दैछौं । परीक्षा कसरी गर्ने भन्ने विषयमा पछि सार्वजनिक गर्छौं,’ नियन्त्रक जोशीले भने ।
काम देखाउन खोज्दा विद्यार्थीलाई बेवास्ता !
कोरोना संक्रमणका कारण घोषित निषेधाज्ञामा काम देखाउन खोज्दा त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको विषयमा नसोचेको प्राध्यापकहरू बताउँछन् ।
‘पदाधिकारीहरूको समय सकिन लागेको छ । धेरै विद्यार्थीको भविष्य दुई वर्षपछि धकेलियो । अहिले आएर यस्तो समयमा परीक्षा फारम खुलाइएको छ,’ त्रिभुवन विश्वविद्यालयका सह–प्रध्यापक दीपक गजुरेलले भने, ‘विद्यार्थीको विषयमा पहिले नै विचार गर्नुपर्थ्यो ।’
निषेधाज्ञाको समयमा विद्यार्थीहरूले कसरी परीक्षा दिने ? पठनपाठन कसरी गर्ने भन्ने विषयमा विश्वविद्यालयले पहिले नै योजना बनाएर लैजानुपर्ने र माथिल्लो तहको कक्षाहरू सञ्चालन गर्नुपर्ने सह–प्रध्यापक गजुरेलले बताए ।
‘अहिले पहिलो वर्षको परीक्षा यस्तै राखेर दोस्रो वर्षको कक्षाहरू सञ्चालन गर्नुपर्ने हो । कि त ऐन-नियम परिर्वतन गरेर क्याम्पसहरूलाई जिम्मा दिनुपर्ने हो,’ प्राध्यापक गजुरेलले भने ।