
ओ बुद्ध !
म यतिखेर तिम्रो मूर्तिसामु छु
र लागिपरेको छु
हृदयभरिको पुष्पाञ्जली चढाउन
शायद
यो धर्ती, प्रकृति र समस्त प्राणीलाई
सबैभन्दा बढी माया गर्नेमा
बुद्ध तिमी थियौ
दुःख निवारण र सुख बीजारोपणको लागि
सबैभन्दा बढी चिन्तन गर्नेमा
बुद्ध तिमी थियौ
धर्मलाई अन्धविश्वासबाट माथि उठाउन
र मानिस–मानिस बीचको भेदभाव हटाउन
सबैभन्दा बढी संघर्ष गर्नेमा
बुद्ध तिमी थियौ
अहो तिमीले
कति सरल रूपमा सम्झायौ
मध्यम मार्ग नै जीवन जिउने कला हो
आफ्नो मनलाई जित्नु नै
सबैभन्दा ठूलो जीत हो
लाग्छ तिमीले विना हतियार
मात्र मधुर वाणीले धेरै युद्ध जित्यौ
किनभने सबैका लागि
ब्युँझाउनु थियो जागृति
उठाउनु थियो स्वावलम्बन
र सबैभन्दा बढी
बचाउनु थियो मानवीयता
हटाउनु थियो पाखण्डपन र संकीर्णता
र जरैदेखि उखेल्नु थियो
यज्ञको नाममा, धर्मको नाममा
अबोध प्राणी विरुद्धको हिंसा–क्रुरता
मलाई आश्चर्य लाग्छ
पच्चीस सय वर्ष अगाडिको
पुरातन समाजमा
तिमीले कसरी सम्प्रेषण गर्न सक्यौ
अनिश्वरवाद र अनात्मवाद
तिमीले कसरी भन्न सक्यौ
शास्त्रका सबै वचनहरू प्रामाणिक हुन सक्दैन
प्रश्नले घेर र अनुभवलाई स्वीकार
धन्न तिमीले
सत्य वचन बोल्दा
जिसस क्राइस्ट र ग्यालिलियोले भोगेको
नियति भोग्नुपरेन
म सोध्न चाहन्छु
तिमीसँग त्यस्तो के आत्मज्ञान थियो
जसले जीवन पर्यन्त तिमीलाई
भयरहित बनायो
बुद्ध, म तिम्रो
– अनित्यवाद/क्षणिकवादमा
क्वान्टम फिजिक्स देख्छु
र डार्विनको विकासवाद भेट्छु
– प्रतित्य समुत्पादमा कर्मको रूप देख्छु
र धर्मको सार पाउँछु
– शुन्यवादमा गहिरो जीवन दर्शन देख्छु
– अष्टांगिक मार्गमा दुःख निरोधको
सरल उपाय भेट्छु
– आर्य मौन/विपस्सनामा
निर्वाणको सिँढी देख्छु
र म देख्छु तिम्रो मूर्तिलाई
तिम्रो सम्पूर्ण विचारको शरीर
जुन जीवन्त छ
तिम्रो
– शील, समाधि र प्रज्ञाले
– दया, करुणा र मैत्रीले
यसैले म हरेक बैशाख पूर्णिमामा
सुनाइरहन्छु तिम्रो मूर्तिलाई
ह्याप्पी बर्थ डे !