पीसीआरको उपहार !

  • प्रशान्त शर्मा

Advertisement

त्रिभुवन विश्वविद्यालयको छात्राबासमा सरेको ७ दिन मात्रै भएको थियो । छात्राबास पाएर मलगायत अरु थुप्रै विद्यार्थीहरू हर्षित भएका थियौं ।


Advertisement

विद्यार्थी छात्राबासमा सर्ने क्रम बिस्तारै शुरू हुँदै थियो, मेरो कोठा छेउका विद्यार्थी आएका थिएनन् । छात्राबासको नयाँ वातावरणमा घुलमिल हुनै लागेको थिएँ । लहरै भएका कोठामध्ये आफू पस्न लागेको कोठा आफ्नै हो वा अरुको भनी सोच्नुपर्ने अवस्था थियो ।

कोठा मिलाइसकेर बल्ल आरामको श्वास मात्रै के फेरेको थिएँ, फेसबूक चलाउन बस्दा काठमाडौंका सीडीओ सा’पको हस्ताक्षर सहितको सूचनामा आँखा पर्‍यो, औला रोकिए । सूचनामा उपत्यका खाली गर्न वैशाख १६ गतेसम्मको अन्तिम म्याद दिइएको थियो । सीडीयो सा’पको त्यो सूचना निम्न र मध्यमवर्गीय परिवारबाट आउने विद्यार्थीका लागि उपत्यका छोड्न दिइएको अल्टिमेटमजस्तै थियो ।


Advertisement

बिस्तारै भरिन लागेका त्रिभुवन विश्वविद्यालयका छात्राबास धमाधम खाली हुन थाले । जसले जसरी बसको टिकट पाए, घर फर्कन थाले । वैशाख १३ गते छात्राबासमा बिताएको त्यो रात अझै सम्झना गर्दा लाग्छ – मानौं कुनै चलचित्रको विशाल तर खण्डहरमा परिणत हुन पर्खिरहेको पुरानो महलमा फसेको छु । 

छात्राबास सरेको २ दिन मात्रै भएकाले कुनै साथी पनि चिनिसकिएको थिएन । पानी भर्ने क्रममा हल्का चिनजान भएकोहरू पनि घरतिर लागिसकेका थिए, त्यहाँ आफ्ना कोही नभएर एकदमै एक्लो महसूस भयो । 

परिवारको माया

घरबाट फोनमा आमा भन्दै हुनुहुन्थ्यो – छोरा घर आइजा, छिमेकी आन्टीको छोरा पनि आइसक्यो, यस्तो महामारीको बेला घरबाट टाढा नबस । 

कहिले रिसाएर, कहिले मायाले बारम्बार निर्देशनात्मक रूपमा नै आमाले आग्रह गर्दै हुनुहुन्थ्यो । छोरा चाँडै घर फर्कियोस् भनेर आमाले मप्रति आफ्नो निश्चल माया देखाइरहनुभएकै थियो, यता म पनि आफूलाई असुरक्षित र एक्लो महसूस गर्न थालिसकेको थिएँ । 

वैशाख १४ गते बिहान म पनि अब घर जानुपर्छ भनेर निर्णय गरे र बसको टिकटका लागि आफूसँग नम्बर भएका हरेक बसमा फोन गर्न थालें । अन्ततः एउटा बसमा ‘क्याविनमा खाली छ’ भन्ने जवाफ आयो । लामो बाटोमा क्याविनको सिट पीडादायी नै हुन्छ भन्ने मलाई थाहा थियो । एकचोटी फेरि फोन गरे । उहाँले भन्नुभयो – भोलिको ५/६ नम्बरको सिट खाली छ । भोलि अर्थात् वैशाख १५ गते । मैले १ सेकेन्ड पनि नसोची हस् धन्यवाद दाइ भनी टिकट निश्चित गरें । म पनि उपत्यका खाली गर्ने ठूलो भीडको एक हिस्सामा सामिल भएँ ।

पूर्व निर्धारित योजना अनुसार वैशाख १५ गते साँझ ६ बजे बस समाउन बल्खु पुगे, त्यहाँको दृश्य हेर्दा लाग्यो कि मानौं उपत्यका खाली गर्ने कुनै प्रतियोगिता चलिरहेको छ, आँखा अगाडिको दृश्य हेर्दा सबै मानिसहरू माथि हाँस्न थाले – कस्ता भेडा रहेछन् सबै ! फेरि याद आयो, आफू पनि यही भीडको हिस्सा छु । आँखा रसायो । त्यतिकैमा बस पनि आइपुग्यो । सिट पाउँदा आफूलाई भाग्यमानी ठानें ।

भोलिपल्ट बिहान ६ बजे पुग्नुपर्ने थियो, जामका कारण दिउँसो १ बजे घर पुगें । त्यतिकै पनि बसको यात्र मलाई निकै असहज लाग्थ्यो । यसपालि त झन् १८–१९ घण्टा लगातार बसको यात्रा । एकदमै थकित भई घर पुगें । दिनभर सुतें, साँझ साथीहरूसँग भेटघाट भयो पुरानै शैलीमा ।
 
कोरोना जाँच, नतिजा र सावधानी 

वैशाख १७ गते शुक्रवार घरायसी कामले सदरमुकाम जलेश्वरमा रहेको मामाघर गएको थिएँ । बसमा यात्रा गर्दा स्वास्थ्य अवस्था थाहा नभएका कति अपरिचित व्यक्तिको सम्पर्कमा आएको छु, कथंकदाचित आफू पनि संक्रमित भएको रहेछु भने घरपरिवार लगायत सम्पूर्ण समाजलाई नै जोखिममा राख्न मेरो आत्माले मलाई अनुमानि दिएन ।

मैले आफ्नो कोरोना परीक्षण (पीसीआर) गराउने निर्णय गरे । मामा घरबाट नजिकै रहेको जिल्ला अस्पतालमा स्वाब दिएको भोलिपल्ट शनिवार भएकाले रिपोर्टका लागि आइतवार बिहान १० बजेपछि मात्रै आउन भनियो । त्यसैदिन साँझ घर नजिकमै भइरहेको भोजमा पनि सहभागी भएँ । सबथोक साधारण थियो, मान्छेलाई म आफूभन्दा टाढै बस्न भन्थें तर कसैले मानेनन् । अझ परिवारका सदस्यले त थोरै पनि सावधानी अपनाएनन् । दाइ हेमराज त सँगै सुत्नु भयो र सँगै एउटै थालमा खाना समेत खानुभयो ।

मेरो स्वास्थ्य अवस्था पनि राम्रै थियो, कुनै पनि किसिमको लक्षण देखिएको थिएन । त्यही भएर म आफू संक्रमित नभएको कुरामा निश्चित नै थिएँ । घरकै कामले गर्दा आइतवार फुर्सद भएन, अर्कोदिन अर्थात् वैशाख २० गते सोमवार दाइ कामले मामाघर (जलेश्वर) जानुपर्ने भएकाले रिपोर्ट ल्याइदिन भनेको थिएँ ।

सोमवार दिउँसो दाइको फोन आयो । भन्नुभयो – पोजेटिभ आएछ । मलाई मजाक लाग्यो । फेरि सोधें – साच्चै हो र !? दाइले भन्नुभयो – अँ साँच्चिकै, यस्तो कुरा पनि कोही झूट भन्छ ? मैले भने – त्यसो भए रिपोर्ट ह्वाट्समा पठाउनू ।

एकछिनपछि दाइको म्यासेज आयो, साँच्चै कोरोना पोजेटिभ रहेछु । एकछिन त रिपोर्टमाथि नै विश्वास भएन । कोरोना मजाक जस्तै लाग्यो । तैपनि आमालाई भने – आमा म संक्रमित छु, आइसोलेट गर्नुस् मलाई । आमा निकै चिन्तित हुनुभयो । तर मलाई अझै विश्वास लागेको थिएन, बारम्बार रिपोर्ट हेरिरहें । 

स्वाद र गन्ध सबै हरायो 

त्यसैदिन सोमवार साँझ हल्का ज्वरो जस्तो महसूस भयो । घाँटीमा खस्रो–खस्रो महसूस हुन थाल्यो । म निकै डराएँ, यति हुदाँ चाहिँ आफू संक्रमित भएछु भनेर विश्वास भयो ।

मंगलवार बिहान उठ्दा मैले स्वाद र सुगन्ध दुवै गुमाइसकेको थिएँ । चारैतिर फोन हुन लाग्यो, घरपरिवारका मान्छे चिन्तित थिए, चिकित्सकको सम्पर्कमा घरमै उपचार चल्यो र सबै जनाको स्नेहले चौथो दिन मेरो घाँटी राम्रो भयो । गुमाएका स्वाद र सुगन्ध पनि बिस्तारै आउन थाले । 

चिकित्सकका अनुसार अब म खतराभन्दा बाहिर छु तर यसक्रममा म शारीरिक रूपले एकदमै कमजोर भएको रहेछु र १० दिन अझै आइसोलेसनमा बस्नुपर्ने थियो । यतिसम्म सब ठिक थियो, म निको हुन लागेको थिएँ वा भनौं निको भइसकेको पनि थिएँ सायद । 

म सतर्क थिएँ तर आफू कोरोना पोजेटिभ रहेको कुरा कसैसँग लुकाएको थिएन । सबैलाई सतर्क गराएको थिएँ तर अचम्म त के भयो भने कोरोनाबाट ठीक भइसक्दा मात्रै म संक्रमित छु भन्ने कुरा गाँउभर हल्ला भयो, चर्चाको विषय बन्यो । मेरो जस्तै लक्षण भएका अरु थुप्रै थिए गाउँमा र अहिले पनि छन् । कोरोना समुदाय स्तरमै फैलिएको छ भन्ने कुरा सरकारलाई पनि थाहा छ र जनतालाई पनि । तर म र लक्षण भएका अरु गाउँलेहरूमा फरक यति थियो कि मैले पीसीआर जाँच गरेपछि आफू कोरोना संक्रमित रहेको पक्का थियो भने अरुलाई आफू संक्रमित होइन भन्नेमा आत्मविश्वास थियो ।

मेरा निम्ति कोरोना संक्रमणभन्दा पनि बढी पीडादायक समाज निर्मित समस्याहरू हुन थाले । पर्याप्त ज्ञानको अभाव र कोरोना सम्बन्धी चेतनाको अभावमा धेरैले यसलाई गलत तरिकाले बुझेका छन् । 

समुदायबाट मायाको सट्टा अपहेलना 

दूध लिएर आउनेलाई गाउँका अरु मान्छेले भन्न थाले – ‘फलानोको घरमा नजाऊ, त्यसको छोरालाई कोरोना लागेको छ रे ! उसको घर अगाडिको बाटोमा कोही हिँड्दैन, तपाईं दूध कसरी पुर्‍याउनुहुन्छ ?’ साँच्चै हो पनि, मेरो घर अगाडिको बाटोमा मान्छेको आवतजावत कम भएको थियो, जानेले पनि मात्रै मेरा घर अगाडि मास्क लगाउने, सारी, कपरा वा गमछाले नाक छोप्ने, केही अगाडि पुगेपछि  हटाउने गर्ने गरेको मैले स्वयं देखेको थिएँ ।

यस्तो गर्ने अशिक्षित मात्र होइन, कथित शिक्षित व्यक्तिको पनि कमी थिएन । ट्युसन पढाइरहेका एक छिमेकी अंकलको ट्युसनमा अचानक विद्यार्थीहरू आउन बन्द भए, मेरो टोलमा अचानक तरकारी बेच्नेहरू आउन छाडे । यो सब त्यसबखत शुरू भयो, जब म संक्रमणभन्दा बाहिरिएको थिएँ ।

समाजमा रहेका अशिक्षा, पछौटेपन, कोरोना प्रतिको मानिसमा रहेको गलत बुझाइले हरसम्भव समस्याहरू दिइरह्यो । 

अर्कोतर्फ गाउँमा कोरोना संक्रमणको वर्तमान अवस्थालाई हेर्ने हो भने स्थानीय स्वास्थ्यकर्मी र औषधि पसलेका अनुसार ७५ प्रतिशत मानिसमा कोरोना संक्रमणको लक्षण देखापरिरहेको छ, जसको आधारमा हामी कोरोनाको लक्षण अनुसार दिइनुपर्ने औषधिहरू चलाइरहेका छौं ।

ती सम्पूर्ण व्यक्तिहरू समाजमा निर्बाधरूपमा चहलपहल गरिरहेका छन् र संक्रमण फैलिरहेको छ । 

टीयूमा समाजशास्त्रको दोस्रो सेमेस्टरमा एउटा पेपर ‘सोसियोजोली अफ हेल्थ’ पढ्दैछु । समाजशास्त्रमा स्वास्थ्य सम्बन्धी कुरा किन राखिएको छ भन्ने बल्ल ज्ञान हुँदैछ । यस पेपरबाट सैद्धान्तिक ज्ञान बटुलिरहेको मैले आफू कोरोना संक्रमित हुँदा व्यावहारिक ज्ञानमा पनि पोख्त हुने मौका पाएँ । 

शुरूमै हामीले सावधानी अपनाउने तरिकाको रूपमा भौतिक दूरीको बदलामा सामाजिक दूरीलाई लियौं । सामाजिक दूरीको तात्पर्य वा भन्न खोजिएको कुरा भौतिक दूरी नै थियो तर संक्रमितबाट सबैले सामाजिक दूरी नै बनाए । संक्रमितलाई कुनै अपराधीलाई गरिने जस्तो व्यवहार गरियो । 

महामारीप्रति हाम्रो बुझाइ कति सीमित र अवैज्ञानिक छ भन्ने कुरा यसअघिको लकडाउनमा जब बाहिरबाट आएकाहरू र संक्रमितलाई क्वारेन्टीनमा राखिन्थ्यो, त्यसलाई समाजले कुनै अपराध गरेबापत जेलमा जाकिए समान बुझ्थे । त्यसबेला भारतीय न्यूज मिडियामा क्वारेन्टीन जान नचाहने संक्रमितहरूमाथि प्रशासनद्वारा अत्याधिक बल प्रयोग भएका भिडियोहरू छ्यापछ्याप्ती देख्न सकिन्थ्यो । सरकार र मिडियाद्वारा त्यसबखत तब्लिगी जमातलाई कोरोना फैलाएको एकतर्फी आरोप थोपरियो, कोरोना बम भनेर चित्रण गरियो । 

समाजशास्त्रमा ‘अव्यक्त कार्य’ सिद्धान्त खुब प्रयोग हुन्छ, जसको मतलब सामाजिक संरचनाका त्यस्ता उपज वा कार्य हुन्, जो अनपेक्षित हुने गर्छ वा जानाजाज गरिएको हुँदैन । त्यसबखत सरकारले आफ्नो असक्षमता ढाक्न चाइना र मुस्लिम समुदायलाई अपराधी घोषित गर्‍यो तर भइदियो के भने समाजले कोरोना संक्रमितलाई अपराधीको नजरले हेर्न थालियो । त्यसको प्रभाव सामाजिक र भौगोलिक रूपमा जोडिएको छिमेकी देश नेपालमा नपरेको भन्न सकिन्न । 

मेरो गाउँमा पनि ठीक यही भइरहेको छ । सामाजिक कलंकका कारण मानिसहरू पीसीआर जाँच गर्न डराइरहेका छन् । समाजले उसलाई कोरोना संक्रमणको लक्षणका साथ त्यतिबेलासम्म सहर्ष स्वीकार गरेको छ, जबसम्म उसको पीसीआर रिपोर्ट पोजेटिभ देखिँदैन । आफू संक्रमित छु भन्ने थाहा हुँदाहुँदै पनि मानिसहरू कोरोना परीक्षण गराउन मानिरहेका छैनन् । किनभने परीक्षणको उपहारस्वरूप समाजले संक्रमितलाई बहिष्कृत गर्छ, जसकारण संक्रमित पनि समाजलाई उपहारस्वरूप कोरोना फैलाइरहेको छन् । 

कोरोना संक्रमण प्रमाणित भएपश्चात भोग्नुपर्ने सामाजिक दूरीबाट बच्न मानिसहरू पीसीआर परीक्षणबाट सामाजिक दूरी बनाइरहेका छन् । जुन मेरो गाउँ लगायत देशका अधिकांश ठाउँमा संक्रमण तीब्र रूपमा फैलिनुको मुख्यकारण बनिरहेको छ ।

सरकारद्वारा कोरोना सम्बन्धी पर्याप्त जनचेतना र उचित सतर्कतामा कमीका कारण पनि यस्तो अवस्था देखिएको छ । मुख्यतः हाम्रो समाजमा पहिलेदेखि नै जनस्वास्थ्यको मामिलालाई अति कम महत्त्व दिने गरिन्छ । त्यसमाथि कोरोना केही पनि होइन भन्ने प्रधानमन्त्रीकै अवैज्ञानिक वक्तव्यबाजीले अशिक्षित जनतामा कोरोनालाई सामान्यरूपमा लिने मनोविज्ञानमा बल पुगेको देखिन्छ । 

जनचेतनाको खाँचो 

मैले समयमै कोरोना परीक्षण गराएर आफ्नो दायित्व पूरा गरे । खुशी यस कुराको छ कि मैले आफूबाट अरु कोहीलाई संक्रमित हुन दिइनँ । अन्त्यमा यहीँ भन्न चाहन्छु कि कोरोना परीक्षण पीसीआर गराउनु अपराध होइन, कोरोना पोजेटिभ आउनु कुनै पाप होइन । संक्रमितलाई माया र प्रेम गरौं, पीसीआर गराएबापत मैले पाएको उपहार अरु कसैले पाउन नपरोस् ।

शंका लागेमा परीक्षण गराऊ, आफू र आफ्नो घरपरिवार लगायत समाजलाई सुरक्षित राख्न आफ्नो सामाजिक दायित्व पूरा गरौ । किनभने यस्तो महामारीबाट आपसी सहयोग, सहचार्य र सामाजिक सद्भावको मद्दतले मात्र पार पाउन सकिन्छ, नकि हेला, तिरस्कार र अपमानले । 

(जलेश्वरका वासिन्दा लेखक शर्मा त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागमा अध्यनरत छन् ।)

कमेन्ट गर्नुहोस्