०२ असार २०८३, मंगलबार
कोरोना कहर

गाडी थन्किएर रन्थनिएका गौतमको बेचैनी

जेठ २९, २०७८
गाडी थन्किएर रन्थनिएका गौतमको बेचैनी

घर नजिकैको खुला चौरमा लहरै पार्किङ गाडी हेर्न तोयनाथ गौतम घरिघरि गइरहन्छन् । गाडीको अवस्था के छ, टायर बिग्रिसकेकी ? इन्जिनको मोबिल जम्यो कि, ब्याट्री नचल्ने भयो ? वा अरु केटाकेटीले बिठ्याइँ पो गरे कि ?

झन्डै २ महिनादेखि चल्न नपाएका उनका लाखौं लगानीका गाडीको हालतले बेचैन बनाउँदो रहेछ । 

‘दिनरात निद्रा पर्दैन । बैंकको ब्याज कहिले तिर्ने हो ? चल्न नपाएको गाडी झन् बिग्रिँदै जाने भो,’ गौतम निराश मुद्रामा भन्छन् । 

पोखरा महानगरपालिका–७ अन्नपूर्ण टोलका ४० वर्षीय तोयनाथ यातायात व्यवसायी हुन् । १८ वर्षदेखि व्यवसायमा आवद्ध उनको सम्पत्तिका नाममा ४ गाडी छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिअन्तर्गत चल्ने ती गाडी पोखराबाट काँकडभिट्टा, जोमसोम, दरबाङ र बागलुङ आउजाउ गर्छन् । 

तर कोरोना महामारीले गत वर्षझैं यसपालि पनि खुला आकाशमा घामपानी खाँदै थन्किएका हुन् । वरिपरि घाँसमा डुबेका छन् । लामो समय एकै ठाउँमा राखिरहँदा घामपानीले टायर, ब्याट्री, मोबिल लगायतमा खराबी उत्पन्न हुनेमा चिन्तित छन् । पछि मर्मत गरेर चलाउनुपर्दा पनि २–३ लाख रुपैयाँ जति खर्च पर्ने उनले बताए । किनकि गाडीको एउटा चक्का फेर्नुपरे कम्तीमा १५ हजार रुपैयाँ पर्छ ।

यी पीडा र चिन्ता सबै कोरोना महामारीका कारण उत्पन्न भएका हुन् । महामारी नियन्त्रणका लागि देशभर डेढ महिनादेखि लकडाउन (निषेधाज्ञा) जारी छ । कास्कीमा पनि जिल्ला प्रशासन कार्यालयले गत वैशाख १५ गतेदेखि निषेधाज्ञा गरेको छ ।

जेठ मसान्तसम्म बढाइएको पछिल्लो निषेधाज्ञाको आदेशअनुसार अन्य सेवाझैं अत्यावश्यकबाहेक निजी तथा सार्वजनिक यातायातका कुनै पनि सवारीसाधन चलाउन दिइएको छैन । 

‘कोरोनाको दोस्रो लहर शुरू भएसँगै हामीहरूलाई वैशाख लागेदेखि नै प्रभाव परेको थियो । लामो दूरीका यात्रामा मानिसहरू निस्कन कम भइसकेको थियो । हत्तपत्त बस चढ्दैन्थे,’ उनले भने, ‘पोहोरको लकडाउनले ढाड सेकेकोमा पछि केही भइहाल्छ कि भन्दाभन्दै अहिले झन् ठूलो महामारी बनेर आयो । कोरोनाका कारण यतिखेर विषम परिस्थितिमा छौं । यसको वर्णन गरिसाध्य छैन । हातमुख जोड्न पनि समस्या पारिसकेको छ ।’ 

गाडी चल्न नपाउँदा आम्दानी सुको छैन । गाडी खरिदमा बैंकबाट लिएको ऋणको साँवा–व्याज तिर्नुपर्छ । ४ गाडीको गरी मासिक झण्डै २ लाख रुपैयाँ किस्ता तिर्नुपर्नेमा अहिले नसकेको गुनासो उनले गरे । 

‘हामीलाई त यो समस्या कोरोना महामारी शुरू भएको १५ महिनादेखिकै हो,’ लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘अघिल्लो वर्षको चैत ११ गतेदेखि झण्डै ८ महिनासम्म गाडी चलाउन पाइएन । बीचमा कोरोना हटेजस्तो भयो । कात्तिकदेखि अलिअलि शुरू भयो । यातायात व्यवसाय सुध्रिँदै गएकोमा फेरि वैशाख १५ गतेदेखि बन्द गर्नुको विकल्प भएन ।’ कोरोना कहिले हट्ने हो र व्यवसायमा कहिले फर्किन पाइने हो निश्चित नभएको उनले बताए । 

गाडीको मोडल अनुसार मासिक किस्ता कुनैको ५० हजार, कुनैको ५२ हजार, कुनैको ५८ हजारसम्म पर्दो रहेछ । गत वर्ष बैंकले ६ महिना किस्ता अवधि पछाडि सारेर सुहलियत दिए पनि पुनः अवस्था उस्तै दोहोरिएको गौतमले सुनाए । तर ब्याज त तिर्नु नै थियो । साँवा मात्र पर सार्दा पनि के–के शुल्क तिर्नुपर्ने रैछ, तिरेर ६ महिना पछि त धकेलियो । ‘तर अहिले त्यस्तो अवस्था छैन । कति पर सार्ने ? समय घर्किंदै जाँदा गाडी पनि पुरानो हुने भएकाले बैंकलाई पनि गाह्रो छ,’ उनले भने, ‘क्लोजिङ बेला भयो भन्दै फोन आउन थालिसक्यो । हामीलाई पनि सधैं सारेर भएन । कहिले कसरी तिर्न सकिने हो निश्चित नै भएन । तिर्न जसै पर्‍यो ।’ 

यसका लागि उनले एउटा उपाय सुझाएका छन् । उनी राज्य तहबाटै केही पोलिसी ल्याई ब्याजदरमा अलि न्यूनतम दर तोकिए सहज हुने बताउँछन् । ‘पर धकेलेर र सारेर मात्रै समस्याको समाधान हुँदैन,’ उनले भने ।

पोखरामा प्रधान कार्यालय रहेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीसँग हाल करीब १ हजार ४०० गाडी आबद्ध छन् । कास्की कोरोनाको उच्च जोखिम क्षेत्र भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्ट सहितको कोरोनाको दोस्रो लहर शुरू हुँदा तोकेको थियो ।

कास्कीमा अझै पनि करीब १ हजार जना कोरोनाका सक्रिय संक्रमित छन् । गण्डकी प्रदेशमा यसको संख्या झण्डै ५ हजार छ । प्रदेशमा एकैदिन सबैभन्दा धेरै ३० जनाको मृत्यु भएको रेकर्ड छ । 

salt training

कमेन्ट गर्नुहोस्