कवि तीर्थराज अधिकारीको ‘मकैका फूलहरू’

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका भूतपूर्व सचिव हुन् । 

जेजस्ता परिवेश र छट्पटी, पीडा र उकुसमुकुस भए पनि जीवन स्वतन्त्रताप्रिय हुन्छ र स्वतन्त्रताको प्राप्तिमा अनवरत लागिरहन्छ । कवि तीर्थ पनि स्वतन्त्रताका उपासक हुन्, स्वतन्त्र सिर्जनामा आनन्दित छन् तर स्वतन्त्रताको खोजीमा कहिले विद्रोह ओकल्न, कहिले व्यंग्य विम्बमा पनि उत्रिन्छन् । 

स्वभावैले सबै सर्जक स्वतन्त्रताका पक्षपाती हुन्छन्, निजत्व र मुक्तिका पारखी हुन्छन् । कोही भावनाको तरेलीमा बगेर स्वतन्त्रताको स्वाद लिन्छन्, कोही विद्रोहको बिगुल फुक्छन्, कोही मनोलापमा उद्वेलित हुन्छन्, कोही चेतनाको सन्देश दिन्छन् त कोही आक्रोशको अभिव्यक्ति ।


Advertisement

शैली मात्र फरक हुने हो । सबै सर्जक स्वन्त्रताका यात्री हुन्, उन्मुक्तताका अन्वेषक हुन् । यस अर्थमा सबै सर्जक एकै ड्याङका हुन् । चेतनाले स्वतन्त्रता खोज्छ, स्वतन्त्रताको निर्माण गर्छ र स्वतन्त्र हुन सिकाउँछ पनि । कवि तीर्थ यसको अपवाद किन हुन सक्थे ? बरु अब्बल उदाहरण पो हुन् । 

स्रष्टा आफ्ना सबै सिर्जनालाई समान माया गर्छन्, कुनैलाई राम्रोभन्दा स्रष्टाको मन कुडिनसक्छ तर समालोचकीय दृष्टिले त्यसो भन्नुपर्छ । ‘मकैका फूलहरू’ कवि तीर्थराज अधिकारीको उत्कृष्ट कृति हो ।

‘सपनामा हराएको विपना’, ‘सत्ताका किनाराहरू’, ‘टाँक’ ‘जंगल’ सबै नै राम्रा छन् तर स्वतन्त्रताप्रेमी कवि तीर्थको गद्यमा लेखिएको कविता संग्रह ‘मकैका फूलहरू’ यिनीहरूबीच पनि अब्बल छ र संग्रहभित्रको अब्बल पनि ‘मकैका फूलहरू’ नै हो । 

मकैका फूलहरू के हुन्, त्यहाँ के भन्न खोजिएको छ भन्ने सन्दर्भमा स्वयं कविका आफ्नै अभिव्यक्ति कविता बुझाउन काफी छन् । उनले भनेका छन्, ‘शक्तिशालीहरू सपनाको व्यापार गर्दै निरीह जनतालाई चुट्दै, भुट्दै र लुट्दै सत्ताको सिँढी चढी शानले मान खाँदै मालामाल बनिरहेका छन् । निमुखा/निम्छराहरू उचालिँदै, पछारिँदै जीवन बिलाउन विवश छन् – मकैका फूलहरू जस्तै ।’ 

कविको अभिव्यक्ति सशक्त कविताको चिनारी मात्र होइन, नेपालीहरूको विवशता हो, जीवनको नियति हो, युगको चित्र हो, शासकको चरित्र हो र शासक–शासितको बिम्ब हो । सबै सर्जकहरू विम्बमा समाज उतार्ने, प्रतीक योजनमा कला गर्ने सामथ्र्यमा हुँदैनन् । 

एकथरी मकै भुट्न घान हाल्नेहरू छन्, अर्काथरी घानमा पर्नेहरू छन्, एकथरी भुट्नेहरू छन्, अरुहरू भुटिने, खाइनेहरू छन् । उठ्न त खोज्छन् विचरा घानमा परेका मकैहरू, घान हाल्नेले कप्टेराले छेक्छ, अन्तिम श्वासमा फूल उठ्दै विस्फोट त हुन्छन् तर बाहिरिन नपाउँदै बिटबाट खँगारिन्छन् । कति समयदेखिको बहुधा हामीहरूको नियति हो यो । अरु धेरै हो जो ‘मकैका फूलहरू’ जसरी नै अरुका अभिष्टका लागि आफूलाई उत्सर्ग गरिरहेका छन्, अस्तित्व सुम्पिरहेका छन् तर सन्देश पनि हाँडीभरि नै छ, केही पोखिएका छन्, केही छेकिएको होलान् । 

‘मकैका फूलहरू’को नियतिमा रहेका नेपालीहरू हाँडीभित्रै एकअर्का पोलिँदा/पड्किँदा पनि परस्पर प्रतिस्पर्धाको जुधाइमा छन्, जीवन पूर्ण पराजित नभएसम्म, अस्तित्व अवसानमा नपुगेसम्म उनीहरू जुधिरहन्छन् । 

‘मकैका दानाहरू
पोलिँदा पीडाले रन्थनिन्छन्
हाँडीको गर्भमा परस्पर जुध्छन्
कप्टेराले किन्छन्
बिट नाघ्न सक्दैनन्
जीवन पोलिन्छन्
हार्नुको क्षणलाई स्वीकार्दै
बल थाक्छन्
तुजुकको विश्राममा
मकैका दानाहरू
निर्जीव फूल बन्छन् ।’ 

‘आखिर जीवन विनाका – यी फूल
आगो फुक्नेका 
ओदान ठड्याउनेका 
हाँडी बसाल्नेका 
घान हाल्ने र निकाल्नेका 
भोकका मस्ठा परिकार न हुन् ।’

–    (मकैका फूलहरू) 

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र अनि प्रतिनिधित्व, समावेशिता, सामाजिक न्याय र अरु धेरै शब्द र प्रयोगमा आफूलाई अस्तित्वविहीन गराइरहेका छन् । त्यसैले ‘मकैका फूलहरू’मा आवाजविहीनको आवाज पाश्र्वित छ, किनाराका अनुहारहरू देखिएका छन्, वञ्चितीकाहरूको बाध्यता छ र हेपिएका/थिचिएकाहरूको स्वर छ । 

‘मकैका फूलहरू’का भूमिका लेखक साहित्यकार एवं विचारक डा. पुरुषोत्तम दाहाल कवि तीर्थको कवित्वको छर्लङ्ग प्रकाश पार्छन्, ‘तीर्थ जीवन–व्यूहबाट केही बाहिर हुन खोज्दै गर्दा उनका सिर्जनाहरूको जन्म हुने गर्दछ । ... कवितामा जीवनको, जगत्को, यथार्थताको, जीवनमूल्यको, अनुभवको समवेत सिर्जनालाई उतारिरहेको हुन्छन्’ ।

यहाँभन्दा बढी कवि तीर्थका कविताका विषयमा के भन्न जरुरी छ र ? सम्पूर्णता दिइसकेपछि अंश/अंगहरूको विचरण कति आवश्यक हो र ?  

डा. शैलेन्दुप्रकाश नेपालका दृष्टिमा ‘जीवनलाई कविता कलामा ढालेर मूलतः स्वच्छन्दतावादी शैलीमा युगका ध्वनिहरूलाई’ उतार्नु कवि तीर्थको विशेषता हो । कवि कलानिधि दाहालका शब्दमा ‘स्वाभिमानी तर ठट्यौले, गम्भीर अन्तरचेतनाको स्तम्भ तर हँसिलो स्वरूपबाहक तीर्थराज अधिकारी स्वच्छन्दतावादी लेखनकै सेरोफेरोमा रहेर पनि कवि माधव घिमिरेजस्तै विचार/भावप्रवाहमा स्वच्छन्दता र भाषागत संरचनात्मक संयोगमा पूर्ण परिस्कारवादी रहेको म पाउँछु ।’ 

सफल सिर्जनामा अक्षरले पाठकलाई स्रष्टा (पात्र) को समानुभूतिमा लाने शक्ति हुन्छ र पाठक आफैं त्यहाँको कथानक बन्छ, अभिव्यक्तिलाई आफ्नै अनुभूति सम्झन्छ र आफैं स्रष्टा भएको अन्तरबोध गर्छ । ‘मकैका फूलहरू’मा पाठक आफूलाई कविता समानुभूतिमा पाउँछ । 

कवि तीर्थ जीवनका भोगाइका अनुभूतिलाई एकदमै सहज ढंगले उतार्ने कालिगढ हुन् । उनीमा प्रकृतिरम्यता छ, युगचेत छ, विद्रोह छ, मनोवाद छ । कतै उच्छवासमा तैरिन्छन् त कतै भावमा गहिरिन्छन् । कतै आक्रोशमा त कतै अपेक्षामा पोखिन्छन् । कतै उत्साहको पौल छ त कही निराशाको ग्लानी छ । आखिर जीवन यी सबै अनुभूति–उच्छवासको छ्यास्मिस न हो । त्यसलै कवितामा सिङ्गै जीवन र युग बोलेको छ, कविताका अक्षरले जीवन पाएका छन् । यस्ता कवि समकालीन समाजमा कमै छन् । - [email protected]

 

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्