३२ असार २०८३, बिहीबार
कांग्रेस महाधिवेशन

सभापतिमा निधिको दाबीले कांग्रेसमा तरंग : अन्तिमसम्म टिक्छन् कि देउवासँग बार्गेनिङ मात्र ?

महाधिवेशनमा नेतृत्व हस्तान्तरणको बहस जोडतोडले उठ्ने संकेत
असार ७, २०७८
सभापतिमा निधिको दाबीले कांग्रेसमा तरंग : अन्तिमसम्म टिक्छन् कि देउवासँग बार्गेनिङ मात्र ?

चौधौं महाधिवेशनको दिनगन्ती शुरू भएका बेला कांग्रेस वृत्तमा यतिबेला सबैभन्दा चर्चाको विषय बनेको छ– सभापतिमा विमलेन्द्र निधिले गरेको दाबी । लामो समय सभापति शेरबहादुर देउवासँग सहकार्य गरेका र देउवालाई साथ दिएका निधिले १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने बताएपछि कांग्रेस वृत्तमा एकप्रकारको हलचल मच्चिएको छ । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुँदैछ ।

शुक्रवारसम्म निधिले बाहिर कुरा गरेपनि सभापतिमा उठ्नेबारे देउवासँग आमनेसामने भएर कुरा गरेका थिएनन् । शनिवार भने निधिले सभापतिमा उम्मेदवारी दिने जानकारी मात्र गराएनन्, देउवाको साथ र समर्थन माग गरे । आसन्न महाधिवेशनबाट सभापतिमा दोहोरिने आकांक्षासहित देउवाले शनिवार प्रदेश १ र २ का केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । 

आफूलाई सभापतिमा समर्थन जुटाउन बोलाएको भेटघाटमै निधिले सहयोग मागेपछि देउवा रनभुल्लमा परे । शनिवारको भेटमा सहभागी प्रदेश २ का एक नेताका अनुसार निधिले सभापतिमा उठ्ने तयारी गरेको बताएपछि देउवाले ‘तपाईंको पनि अधिकार छ’ भनेर प्रतिक्रिया जनाएका थिए । 

कांग्रेसलाई देशको प्रमुख पार्टी बनाउने पुरानै नारा लिएर देउवाले सभापतिमा दोहोरिने दाउ गरिरहेका छन् । यस क्रममा देउवाले आइतवार बाग्मती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । आइतवारको भेटमा पनि देउवाले आफू सभापतिमा दोहोरिन लागेको बताएका थिए । 

निधिले सभापतिमा उठ्ने दाबी गरेपनि कांग्रेसका बहुसंख्यक कार्यकर्ता देउवासँग भिड्न निधि तयार होलान् भन्नेमा शंका व्यक्त गर्छन् । तर निधि भने कुनै पनि हालतमा पछि नहट्ने मनस्थितिमा छन् । महाधिवेशनको मिति नै तय भइनसकेको अवस्थामा निधिले गतवर्ष नै सभापतिमा उठ्ने जनाउ दिएका थिए । 

त्यसपछि निधिले नियमित रूपमा कार्यकर्ताहरूसँग परामर्श गरेका छन् ।

१४ औं महाधिवेशनमा नेतृत्व दाबीको ‘निधि तर्क’

देशव्यापी रूपमा र नेपाली कांग्रेसमा पनि नेतृत्वमा युवा पुस्ताको उपस्थितिको बहस भइरहेको छ । युवा पुस्ताका आकांक्षा सम्बोधन गर्न नसकेको, युवालाई पार्टीमा आकर्षित गर्न नसक्दा कांग्रेस कमजोर भएको भन्ने बहस कांग्रेसभित्र चलिरहेको छ ।

युवा पुस्ताका नेताहरू आक्रामक ढंगले आइरहेको समयमा सभापतिका लागि अहिले उपयुक्त समय आएको निधिको निष्कर्ष छ । 

‘अर्को महाधिवेशनसम्म गगन–विश्वप्रकाश–चन्द्र भण्डारीहरू नेतृत्वको दाबी गर्ने अवस्थामा आउँछन्, मेरो लागि नेतृत्व दाबी गर्ने उपयुक्त मौका यही हो,’ निधिले निकटस्थहरूसँग भनेका छन् । 

१३ औं महाधिवेशनमा देउवालाई सघाएबापत यसपटक देउवाले आफूलाई समर्थन गर्नुपर्ने निधिको तर्क छ ।

बीपी कोइरालाको जन्मघर सिन्धुलीमा निधि

आफूलाई सभापतिमा सघाएमा चुनावपछि देउवालाई नै प्रधानमन्त्री बनाउने निधिको प्रस्ताव छ । देउवापक्षीय अन्य नेताहरूले भने निधिलाई मनाउन सुझाव दिएका छन् । 

२४ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका निधि कांग्रेसमा महामन्त्री र उपसभापति बनिसकेका छन् । उपसभापतिमा दोहोरिने कुनै इच्छा नभएको निधिले निकटस्थहरूसँग बताउने गरेका छन् । 

‘कांग्रेस सभापतिमा उम्मेदवारी दिने कुरा निधिको कुनै बार्गेनिङ होइन, बार्गेनिङ गरेर माग्नुपर्ने पद केही छैन,’ निधिलाई समर्थन गरेका प्रदेश २ का एक जिल्ला सभापतिले लोकान्तरसँग भने । 

छैन बलियो आधार

सभापतिमा उठ्ने आकांक्षा गरेपनि कांग्रेसको नेतृत्वमा पुग्नका लागि निधिलाई फलामको च्युरा चपाएसरह छ । देउवा समूहको दोस्रो वरीयतामा रहेपनि अहिलेकै केन्द्रीय समितिमा निधिको पक्षमा खुलेर लबिङ गर्ने सदस्य देखिएका छैनन् । प्रदेश २ का ८ जिल्ला र कांग्रेसको प्रभाव रहेका तराईका जिल्लाका कार्यकर्ताले समर्थन गर्ने निधिको विश्वास छ । तर सभापतिमा जित्नका लागि यतिमात्र पर्याप्त छैन् । 

‘सिटौलाजी (कृष्ण सिटौला)जस्तो उहाँले कांग्रेसमा अलग्गै धार बनाउनुभएको छैन । देउवा गुटकै एक नेता भएकाले उहाँको पक्षमा देशभर कस्तो प्रभाव छ भनेर आकलन गर्न मुस्किल छ,’ एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने । 

प्रदेश २ मा नेपाली कांग्रेस संसदीय दलको नेता समेत रहेका कांग्रेस धनुषाका सभापति रामसरोज यादव कांग्रेसको पुर्नजीवनका लागि देउवालले अब निधिलाई अगाडि सार्नुपर्ने बताउँछन् ।

‘बीपी जस्तो दूरदर्शी नेताले निधिमा केही क्षमता देखेरै २०३६ सालमा नेविसंघको सभापति बनाउनुभएको थियो । अहिले देउवाले निधिलाई अगाडि सार्नुभयो भने कांग्रेसको इतिहासमा देउवाको नाम स्वर्ण अक्षरले लेखिने छ,’ यादवले लोकान्तरसँग भने । 

मधेशमा कांग्रेसको जनाधार खस्केको र क्षेत्रीय पार्टीको दबदबा बढेको समयमा कांग्रेसको नेतृत्व मधेशबाट निर्वाचित भएमा जनाधार फर्किने यादवको दाबी छ ।

‘आजसम्म कांग्रेसका जतिपनि सरकार बने त्यसको आधार मधेश थियो, जब मधेसमा कांग्रेस कमजोर भयो त्यसपछि कांग्रेस सत्ताबाट बाहिर रहने अवस्था भयो,’ यादवको विश्लेषण छ । 

यादवले दाबी गरेपनि निधि त्यति लोकप्रिय पनि छैनन् । आफैँ गृहमन्त्री भएको समयमा २०७४ सालको प्रतिनिधि सभामा ‘टुरिस्ट उम्मेदवार’ (अर्को क्षेत्रबाट आएका) राजेन्द्र महतोसँग पराजित भएका थिए । 

नेतृत्व हस्तान्तरणमा निधिको हस्तक्षेप

देशको अग्रणी प्रजातान्त्रिक पार्टी भएपनि नेपाली कांग्रेसभित्र आन्तरिक लोकतान्त्रीकरणको अभ्यास निकै कमजोर छ ।

बाँचुञ्जेल पार्टीको नेतृत्वमा रहिरहन मरिहत्ते गर्ने प्रवृत्ति कांग्रेस लगायतका पार्टीमा विद्यमान छ । गुटमा लागेर लाभ लिएकाले सितिमिति नेतृत्वलाई चुनौती दिन सकेका छैनन् । 

२०६४ सालको निर्वाचनमा पार्टीले लज्जास्पद पराजय बेहोरेपछि नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले राजीनामा गरे । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनका कांग्रेसलाई शर्मनाक पराजय गराएको भन्दै सभापति शेरबहादुर देउवाको राजीनामा र ‘अर्ली महाधिवेशन’मा जान युवा नेताहरूले अभियान नै सञ्चालन गरे । तर देउवाले राजीनामा गरेनन्, बरू विधानको व्यवस्थाअनुसार कार्यसमितिको कार्यकाल थपे । 

‘हारजीत जे भएपनि निधिको दाबीले एउटा गुटमा भूकम्प गएको छ, आफ्नो अडानमा अन्तिमसम्म टिक्न सके भने यसले कांग्रेसको नेतृत्व हस्तान्तरणमा बल पुग्छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने । 

कोइरालाले पनि दिँदैछन् टक्कर

१४ औं महाधिवेशनको कार्यतालिका नै पारित भएपछि संस्थापनइतर समूहले पनि तयारी शुरू गरेको छ ।

यसपटकको महाधिवेशनमा डा. शेखर कोइरालाले एक प्रकारको माहोल सिर्जना गर्दैछन् । एक पटकका लागि सभापतिमा उठ्ने र प्रधानमन्त्रीमा दाबी नगर्ने शेखरको एजेन्डाले कांग्रेसमा तरंग ल्याएको छ । 

कांग्रेस, एमाले, माओवादी सबै पार्टीमा एकै व्यक्तिले बहुपद ओगट्ने प्रवृत्ति विद्यमान छ । एकपटक नेतृत्वमा पुगेपछि विधान संशोधन गरेरै भएपनि नेतृत्वमा रहिरहन खोज्ने प्रवृत्तिविरुद्ध एकपटक मात्र सभापति बन्ने भनेर शेखरले अगाडि सारेको एजेन्डाले कांग्रेसमा राम्रै बहस भइरहेको छ । 

कांग्रेसमा कोइराला परिवारको विरासत र केही हदसम्म सहानुभूति छ । बीपी कोइराला संस्थापक अध्यक्ष रहेको कांग्रेसमा लामो समय कोइराला परिवार नै नेतृत्वमा रहेको थियो ।

बीपीपछि गिरिजाप्रसाद कोइराला लामो समय कांग्रेसको नेतृत्वमा रहे भने देउवाभन्दा अघि सुशील कोइराला सभापति थिए । 

कोइराला परिवारका सदस्यहरूले कांग्रेसको नेतृत्व गरेको समयमा पार्टीले उपलब्धि हाँसिल गरेको कांग्रेसको इतिहास छ । 

बीपी कोइराला सभापति रहेको समय २०१५ सालमा भएको आम निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत ल्यायो । 

गिरिजाप्रसाद कोइराला सभापति रहेको समयमा पनि कांग्रेसले पटक–पटक बहुमत ल्याउन सफल भयो । किन्तु कोइराला सभापति रहेको समयमा २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा भने कांग्रेसको लज्जास्पद पराजय भयो । 

गिरिजापछि छोटो समय कांग्रेसको नेतृत्व गरेका सुशीलले त्रिपक्षीय प्रतिष्पर्धामा कांग्रेसलाई पहिलो बनाए भने संविधान सभाबाट संविधान जारी गरेको जस पनि बटुले ।

कांग्रेसकै नेतृत्वको सरकार रहेको समयमा संविधान सभाबाट संविधान जारी भएपनि त्यसपछिको निर्वाचनमा कांग्रेसको लज्जास्पद पराजय भयो । 

२०७४ सालको आम निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि कांग्रेसमा नेतृत्व परिवर्तनको बहस चलेको थियो ।

अन्य नेताहरूले महाधिवेशनको मिति घोषणापछि मात्र चहलपहल शुरू गरे पनि शेखर कोइराला आम निर्वाचनमा कांग्रेसको पराजयपछि नै जनताबीच गएका थिए । 

उसो त रामचन्द्र पौडेल स्वयंले आफू पनि ‘कोइराला परिवारकै सदस्य’ भनेर सहानुभूति बटुल्ने कोशिश गरिरहेका छन् ।

जिन्दगीभर बीपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सहयोगी बनेर काम गरेकाले आफू पनि कोइराला परिवारको सदस्य रहेको उनले बताउँदै आएका छन् ।

कोइराला परिवारका निकटस्थ र शुभेच्छुकहरूले भने शेखर र शशांकलाई नै मिलेर जान जोड दिइरहेका छन् ।

केही समय पहिले गिरिजाप्रसाद कोइरालाको नाममा खोलिएको प्रतिष्ठानले सुनसरीमा आयोजना गरेको कार्यक्रममा कोइराला परिवारका सदस्यले एउटै माला लगाएर एकताको सन्देश दिएका थिए ।

शेखर र निधि दुवैको एजेण्डा भने आगामी आम निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने भन्ने छ ।

सभापति, संसदीय दलको नेता र प्रधानमन्त्री सबै पद एकै व्यक्तिले ओगट्ने परम्परालाई शेखरले उल्ट्याउन खोजेका छन् । 

महाधिवेशनमा निधि र कोइरालाको उम्मेदवारी घोषणाले कांग्रेसमा नेतृत्व हस्तान्तरणको कुरालाई जबरजस्त बहसमा ल्याएको छ । 

रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला जस्ता नेताहरूले पनि सभापतिमा उम्मेदवारी दिए भने कांग्रेस महाधिवेशनमा बहुपक्षीय प्रतिस्पर्धा हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्