करीब डेढ वर्षदेखि जारी कोरोना महामारीका कारण निकै प्रभावित भएको तर, कमैको मात्र ध्यान गएको क्षेत्र हो, सिनेमा हल । कोरोनाका कारण पुराना हलदेखि करोडौं लगानीमा खुलेका मल्टी प्लेस हलहरू समेत ठप्प छन् ।
नेपालमा कोरोनाको दोस्रो संक्रमित भेटिएपछि २०७६ चैतदेखि बन्द हलहरू बीचमा महामारी केही कम भएका बेलामा खुले । तर कोरोनाको डरले दर्शकहरू हलसम्म नपुग्दा सञ्चालन खर्च उठाउन समेत नसक्ने अवस्था आयो ।
कोरोना महामारीका कारण फिल्म हलहरूको बिजोग भएको एफ क्युब सिनेमाज के.एल टावरका एच.आर म्यानेजर रामहरि कोइराला बताउँछन् ।
फिल्म हलहरूले तीनै तहका सरकारलाई कर तिर्दै आएपनि उद्योगको दर्जा नदिएको उनको गुनासो छ । उद्योगको दर्जा नदिँदा फिल्म हलहरू पाउनुपर्ने सुविधाबाट समेत वञ्चित भएको गुनासो कोइरालाले गरे ।
पछिल्लो समय मल्टी प्लेस हलहरूमा तीव्र प्रतिस्पर्धा थियो । अहिले आएर एकैपटक सबैजसो हलहरू व्यवसायिक रूपमा उठ्नै नसक्ने गरी थला पर्ने स्थिति आएको छ । यसतर्फ राज्यको ध्यान जान नसकेको व्यवसायीहरूको गुनासो छ ।
हेर्नुहोस्, भिडियो रिपोर्ट :