
चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाको सय वर्षको भव्य समारोह बिहीवार मनाइरहँदा यस पार्टीको विकासक्रम संघर्षपूर्ण तथा रोचक रहेको तथ्य हामीले भुल्न मिल्दैन ।
चीनलाई एक शताब्दीसम्म विदेशी शक्तिहरूले दमन, अतिक्रमण तथा बेइज्जती गरिरहेपछि प्रतिकारका लागि सन् १९२१ मा कम्युनिस्ट पार्टी स्थापना गरिएको थियो ।
अफिम युद्धको नाममा पश्चिमी मुलुकहरूले चीनमाथि गरेको अत्याचारले गम्भीर किसिमका सामाजिक तथा आर्थिक संकट निम्त्याएका थिए । पश्चिमी शक्तिहरूले चीनका विभिन्न भूभाग समेत टुक्राटुक्रा बनाएर प्रभुत्व कायम गरेका थिए ।
चिङ राजवंशको पतनपछि सन यात सेनको नेतृत्वमा सन् १९१२ मा गणतन्त्र चीनको शुभारम्भ भयो । उनको राष्ट्रवादी दल क्वोमिन्ताङले चीनलाई पश्चिमी मूलयमान्यताअनुसार आधुनिक बनाउन खोज्यो तर चिनियाँ जनताले त्यसलाई स्वीकार गरेनन् । क्वोमिन्ताङको राजमा चीनमा अव्यवस्था फैलियो ।
सनपछिका नेता च्याङ काई सेकले चिनियाँ कम्युनिस्ट पार्टीलाई निमिट्यान्न बनाउन खोजे तर सकेनन्, उल्टो कम्युनिस्टहरूसँग उनले सहकार्य गर्नुपरेको थियो । जापानी साम्राज्यवादीहरूसँग लड्न सहकार्य गरेका च्याङले पछि फेरि कम्युनिस्टहरूलाई सक्नका लागि गृहयुद्ध मच्चाए तर अन्त्यमा उनको पराजय भयो र उनी ताइवानतिर लखेटिए ।
कम्युनिस्ट पार्टी गठन गरिँदा त्यसको एउटा प्रमुख उद्देश्य थियो । चीनमाथि पश्चिमका साम्राज्यवादी शक्तिहरूको कहिले पनि प्रभुत्व जमाउन नदिने अठोट कम्युनिस्ट पार्टीले गरेको थियो । विदेशी उपनिवेश तथा शोषणबाट मुक्ति र सार्वभौम समाजवादी अर्थतन्त्र सहितको स्वतन्त्र चीन बनाउने लक्ष्यका साथ चिनियाँ कम्युनिस्ट पार्टीले संगठन विस्तार गर्र्दै लगेको थियो । माओत्से तुङले लामो यात्रा तथा आत्मनिर्भर खाद्यान्न अभियानमार्फत चिनियाँ जनताको विश्वास आर्जन गर्न अथक प्रयास गरेका हुन् ।
विदेशी प्रभुत्वका विरुद्ध गठन भएको कम्युनिस्ट पार्टीको त्यही अभीष्टलाई राष्ट्रपति सी चिनफिङले आजको सम्बोधनमा दोहोर्याउँदै चीनलाई कसैले पनि हेप्न नहुने, हेप्न खोजेमा एक अर्ब ४० लाख चिनियाँले बनाएको फलामको पर्खालसँग ठोकिनुपर्ने भनेका छन् ।
यस सय वर्षको अवधिमा चिनियाँ कम्युनिस्ट पार्टीले चीनमा सुव्यवस्था कायम गर्न, सरकारप्रति जनताको विश्वास सुदृढ राख्न, शान्तिपूर्ण तरिकाले विकासको काम अघि बढाउन, जनताको गाँसबासकपासको समुचित व्यवस्था गर्न र सबभन्दा महत्त्वपूर्ण कुरा त ८० करोडभन्दा बढी मानिसलाई गरीबीको रेखाबाट माथि उचाल्न असाधारण काम गरेको छ । आफ्ना जनताको हितका लागि कुनै पनि देशले यस्ता असाधारण लक्ष्यहरू प्राप्त गर्न सकेको छैन ।
चिनियाँ कम्युनिस्ट पार्टीमा अहिले लगभग १० करोड सदस्य छन् । यो संसारकै सबभन्दा विशाल राजनीतिक दल हो । चिनियाँ कम्युनिस्ट पार्टीको सफल नेतृत्वका कारण १ अर्ब ४० करोड जनसंख्या भएको मुलुक संसारकै दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको छ । अझ सन् २०१७ मा पर्चेजिङ पावर प्यारिटीको मापदण्डबाट हेर्ने हो भने त चीन विश्वको पहिलो अर्थतन्त्र हो । अबका केही वर्षमा चीन अमेरिकालाई उछिनेर विश्वको पहिलो अर्थतन्त्र बन्नेछ ।
चिनियाँ कम्युनिस्ट पार्टीले समयानुकूल रूपमा आफूलाई व्यावहारिक रूपमा चुस्तदुरुस्त बनाउँदै लगेको छ । शीतयुद्धको समयमा सोभियत संघले सीमामा विवाद झिकेपछि चीनले अमेरिकासँग सम्बन्ध विस्तार गर्नु आफ्नो हितमा हुने निर्क्यौल निकालेको थियो । अमेरिकासँगको सम्बन्धमा न्यानोपन आएसँगै सुधार तथा खुलापनको नीति अपनाएर चीनले ४० वर्षको छोटो अवधिमा अकल्पनीय प्रगति गरेको हो ।
सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीबाट पश्चिमको पतन आरम्भ भएको देखेपछि चीनले आफ्नो वास्तविक उदयको समय आएको अनुभव गरेको हो । त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीले बेल्ट यान्ड रोड इनिसिएटिभका रूपमा निकै महत्त्वपूर्ण परियोजना अघि सारेको छ । राष्ट्रपति सी चिनफिङको भिजनरी परियोजना मानिसहरूबीच पुलको काम गर्न, सेवा तथा वस्तुको विनिमय गर्न सबैका लागि खुला गरिएको योजना हो ।
यस परियोजनाले एक्काईसौं शताब्दीको विश्वलाई आकार दिने सम्भावना छ । प्राचीन रेशम मार्गकै अवधारणामा आधारित रही बेल्ट यान्ड रोड इनिसिएटिभले संसारलाई यातायात मार्ग, भौतिक संरचना, औद्योगिक विकास, अध्ययन अध्यापन, सांस्कृतिक आदानप्रदान तथा अन्य विविध विषयमा केन्द्रित रही काम गर्ने अवसर दिएको छ । सन् २०१७ मा चीनको संविधानमा राखिएको बीआरआई चिनियाँ परराष्ट्रनीतिको मियो बनेको छ ।
चीन सरकारले अपनाएको विश्वव्यापी विकास रणनीति बीआरआईले नेपाल सहित १५० देशमा लगानी गरिरहेको छ र लगभग सबै महादेशमा उपस्थिति जनाएको छ । बीआरआईका लगानीहरू ५ खर्ब डलर बराबर छन् ।
बीआरआई दीर्घकालीन लगानी परियोजना हो र यससँग जोडिने देशहरूमा विकासका विभिन्न कामहरू थालनी गरिसकिएका छन् । विश्व व्यापार संगठनभन्दा भिन्न रही बीआरआईले अन्य मुलुकसँग चीनको पारस्परिक समझदारी तथा विश्वास आर्जन गर्न, पूँजी प्रवाहको स्वतन्त्रता कायम गर्न र प्रविधिको विकासमा सबैको पहुँच सुनिश्चित गर्न काम गरिरहेको छ ।
वर्षौंसम्म पश्चिमी मुलुकहरूले चीनको हौवा पिटेर उससँग कुनै सम्झौता नगर्नका लागि विभिन्न मुलुकरूलाई भड्काएको भए पनि चीनले क्षेत्रीय स्तरमा विभिन्न आर्थिक सम्झौता गर्न सफलता पाएको छ । सन् २०२० को नोभेम्बर महिनामा आठ वर्षको सहमतिपछि चीनले आसियानका दश मुलुक, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजील्यान्डसँग मिलेर रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरशिप (आरसीईपी) मा हस्ताक्षर गरेको छ ।
आरसीईपी २.२ अर्ब मानिसको जीवनसँग जोडिएको छ र यसले संसारको कुल गार्हस्थ्य उत्पादनको लगभग ३० प्रतिशत भाग ओगटेको छ । आकार, मूल्य तथा आशयको मापदण्डले हेर्दा यो अभूतपूर्व सम्झौता हो ।
आरसीईपीको व्यापारिक कारोबार स्थानीय मुद्रा तथा युआनमा आधारित रहनेछन् । अमेरिकी डलरको उपयोग गरिने छैन । त्यसैले एसिया प्रशान्त क्षेत्रलाई डलरको आधिपत्यबाट मुक्त गर्नका लागि आरसीईपी महत्त्वपूर्ण संयन्त्र हो । पश्चिमले लगाउने नाकाबन्दीको संस्कृतिबाट विश्वलाई मुक्त गर्न डलरबाहेकको मुद्रामा आधारित अर्थतन्त्र प्रभावकारी उपाय हो ।
चीनले यथाशीघ्र नयाँ डिजिटल रेनमिनबी वा युआन अन्तर्राष्ट्रिय कारोबारका लागि ल्याउने तयारी गरिरहेको छ । एक देशले अर्को देशसँग कारोबार गर्दा चल्ने वैध मुद्राका रूपमा यो आउँदैछ । यसले पनि विश्वलाई अमेरिकी डलरको तानाशाहीबाट मुक्त गर्नेछ ।
विगत ५०० वर्षको श्वेत सर्वोच्चतावादी पश्चिमी संस्कृतिले मच्चाएको औपनिवेशिक शोषण, लुटपाट, विभेद तथा अन्य संस्कृतिको विनाशको युग अब समाप्त हुन लागेको देखिन्छ । चीनको सदाशयपूर्ण नेतृत्वमा मानवताको भविष्य शान्तिपूर्ण तथा समानतामा आधारित रहने कल्पना गर्न सकिन्छ ।
विगत १०० वर्षमा चीनलाई कमजोर मुलुकबाट शक्तिशाली मुलुकका रूपमा कायापलट गरेको चिनियाँ कम्युनिस्ट पार्टीले सबैको समृद्धि तथा सुस्वास्थ्य कायम गर्दै अर्को सय वर्ष पनि नेतृत्व गर्ने अपेक्षा छ ।
पश्चिमले चिनियाँ कम्युनिस्ट पार्टीलाई निरंकुश तथा अन्य विशेषण दिएको भए पनि चिनियाँ मोडलको लोकतन्त्र, विधिको शासन, मानवअधिकार रक्षा तथा जनताको समृद्धि पार्टीले नै सुनिश्चित गराएको हो । विभिन्न सर्वेक्षणहरूमा चिनियाँ जनता कम्युनिस्ट पार्टीको शासनसँग खुशी रहेको तथ्य प्रस्तुत गरेका छन् ।
अमेरिकी एकध्रुवीय विश्व व्यवस्थाको पतन भएसँगै नयाँ युगमा बहुध्रुवीय विश्वले सबैको भलो हुने व्यापार सम्बन्ध, सामाजिक चेतना तथा एक्यबद्धता ल्याउनेछ । मानवको भलाइका लागि बेल्ट यान्ड रोड इनिसिएटिभले नयाँ विचार, सिर्जना, सांस्कृतिक आदानप्रदान तथा पारस्परिक सिकाइलाई प्रोत्साहन गर्नेछ । यसै परियोजनाले चिनियाँ जनता तथा अन्य मुलुकका जनताको नजरमा चिनियाँ कम्युनिस्ट पार्टीको लोकप्रियतालाई उचाइमा पुर्याउने देखिन्छ ।