
फेवातालमा ग्रेगर र बालुवा थुप्रिनबाट रोक्नका लागि हर्पनखोलामा निर्मित सिल्टेसन ड्याम बाढीले बगाएको छ ।
गएरातिदेखिको अविरल वर्षाका कारण ड्याम बगाएपछि तल्लो तटीय क्षेत्रका एक दर्जनभन्दा बढी (करीब १५) घर जोखिममा परेका छन् ।
पोखरा महानगरपालिका वडा २३, डुडेको फाँटमा निर्माण भएको हर्पनखोला सिल्टेसन ड्याम गएरातिको वर्षापछि आएको बाढीले बगाएको हो ।
फेवातालमा पानीको लागि मुख्य स्रोत हर्पन हो ।
स्थानीय चेतबहादुर क्षेत्रीका अनुसार ड्याम निर्माणको २ वर्ष पूरा नहुँदै जगदेखि नै बगाएको छ । गत वर्ष पनि सो ड्याममा बाढीले क्षति पुर्याएको थियो ।
फेवातालको सिरान क्षेत्रका खोलाहरूबाट बगेर आउने ढुंगा, गिटी, माटो, बालुवा लगायतका ग्रेगर बगेर फेवातालमा मिसिँदा बर्सेनि तालको गहिराइ घट्दै गएकोमा सिल्ट पोखरी र ड्याम निर्माणसँगै ताल पुरिनबाट जोगिने विश्वास थियो ।
त्यसबेला नै ड्याम निर्माणमा गुणस्तरहीन सामान राखेको भन्दै स्थानीयले विरोध जनाएका थिए ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा फेवाताल संरक्षणको लागि भन्दै हर्पनखोला, अँधेरीखोला, लौरुकखोला र बेतनीखोलाका विभिन्न ४ स्थानमा ड्याम बनाइएको थियो ।
बेतयानी र लौरुकखोलामा ५० मिटर लम्बाइ, ५० मिटर चौडाइ र ४ मिटर उचाइको, अँधेरीखोला र हर्पनखोलामा १ सय मिटर लम्बाइ, १ सय मिटर चौडाइ र ४ मिटर उचाइको सिल्टेसन ड्याम बनाइएको हो ।
त्यसको जिम्मा सिल्टेसन ड्याम पिके जेभी कन्स्ट्रक्सनले लिएको थियो ।
पोखरा २४ स्थित वेतयानी खोलामा निर्माण गरिएको सिल्टेसन ड्याम गीता/जयनेपाल ईश्वर जेभीले जिम्मा लिएको थियो ।
यसको लागत ५ करोड ४६ लाख ५८ हजार रुपैयाँ थियो भने पोखरा २४ लौरुकखोलामा निर्माण भएको सिल्टेसन ड्याम खड्का कृष्ण/पिके जेभी दाङले ५ करोड ७४ लाख ८४ हजारमा बनाएको थियो ।
पोखरा २३ र २४ स्थित अँधेरीखोलामा निर्मित सिल्टेसन ड्याम खड्का कृष्ण/पिके जेभी दाङले नै निर्माण गरेको थियो ।
यसको लागत ९ करोड ६ लाख ४ हजार थियोे । तालको सिरान क्षेत्र हर्पनखोलामा बनाइएको ड्याममा ७ करोड ८८ लाख खर्च भएको थियो ।