
सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको बधाई लिइरहेको समयमा कांग्रेस पार्टी कार्यालय सानेपामा पार्टी कार्यकर्ताहरू धर्नामा बसिरहेका छन्, क्रियाशील सदस्यताका विवादको विषयलाई लिएर ।
पार्टीको महाधिवेशन गर्नुपर्ने समयमा देउवालाई अनायासै मुलुक हाँक्नुपर्ने जिम्मेवारी काँधमा आएको छ ।
सर्वोच्च अदालतले असार २८ गते देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाको प्राथमिकता फेरिएको जस्तो देखिएको छ । अहिले देउवालाई पार्टी महाधिवेशनको तयारी भन्दा पनि सरकारलाई विश्वासको मत लिने हतारो छ ।
सँगसँगै पार्टीभित्र मन्त्री बन्ने आकांक्षीको लस्कर व्यवस्थापन र गुटलाई मिलाउनुपर्ने चुनौती पनि देउवाको काँधमा छ ।
विश्वासको मतको चटारोकै कारण देउवाले कांग्रेस पदाधिकारी बैठकलाई समय दिन नसकेर तीन दिनदेखि स्थगित हुँदै आएको छ । कांग्रेस बैठक स्थगित गरेर देउवा बुधवार एमाले नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेको थिए ।
मुलुकको अग्रणी र लोकतन्त्रको वकालत गर्ने पार्टी कांग्रेसका लागि बाध्यकारी रहेको महाधिवेशन आउन मात्र ४७ दिन मात्र बाँकी छ । क्रियाशील सदस्यताको विवाद अझै सुल्झिएको छैन ।
क्रियाशील सदस्यताको विवाद टुंग्याएर सभापतिलाई हस्तान्तरण गर्ने कामदेखि नै महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ ।
संस्थापन पक्षकै एक केन्द्रीय सदस्यले तोकिएको मितिमा महाधिवेशन हुनेमा सन्देह व्यक्त गरे ।
‘तोकिएको समयमा महाधिवेशन हुँदैन भनेर अहिल्यै भन्न मिल्दैन,’ संस्थापन पक्षकै एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।
धेरै छन् गर्नुपर्ने कामका चाङ
असार ३ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही बैठकले तय गरेको कार्यतालिका असार २० देखि नै प्रभावित हुन शुरू गर्यो ।
आजका मितिले ४८ दिनभित्र महाधिवेशन गर्नका लागि धेरै प्रक्रिया बाँकी छन् । महाधिवेशनका लागि आधारभूत विषय महाधिवेशनका (प्रारम्भिक मतदाता) भनेका क्रियाशील सदस्यताको वितरण हो । निर्धारित तालिकाअनुसार काम भएको भए आज पार्टी सभापतिले क्रियाशील सदस्यको सूची निर्वाचन समितिलाई बुझाउनुपर्ने थियो ।
कोरोना महामारीका कारण नीतिगत विषयमा छलफल भन्दा पनि महाधिवेशनको कर्मकाण्ड पूरा गरेर पार्टीलाई वैधानिकता दिनुपर्ने बाध्यता आइपरेको नेताहरू बताउँछन् ।
कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले तोकिएको सयममा महाधिवेशन गर्नुको विकल्प कांग्रेससँग नभएको बताए ।
‘मुलुकको संविधान, राजनीतिक दलसम्बन्धी ऐन र पार्टी विधानअनुसार पनि भदौमा महाधिवेशन गर्नुको विकल्प छैन, कुनै बहानाबाजीले महाधिवेशन रोक्न मिल्दैन,’ गुरुङले लोकान्तरसँग भने, ‘क्रियाशील सदस्यको विवाद टुंगिनेबित्तिकै महाधिवेशन कार्यतालिका अनुसार काम गर्न कठिनाइ छैन ।’
साउन १२ देखि वडा, गाउँ नगर अधिवेशन गर्ने कांग्रेस महाधिवेशन कार्यतालिकामा उल्लेख छ । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले दिनरात गरेर काम गरिरहेको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र डा। शेखर कोइरालालगायत नेताहरूले कार्यालयमै गएर क्रियाशील सदस्यता छानबिनका विषयमा पटक–पटक चासो राख्दै आएका छन् ।
संस्थापन पक्षकी केन्द्रीय सदस्य डा। डिला संग्रौला तोकिएको समयमा महाधिवेशन हुनेमा आशंका नरहेको बताउँछिन् ।
‘क्रियाशील सदस्यता लगायत विवादित विषयमा भोलि पदाधिकारी बैठकले टुंग्याउला, तोकिएको समयमै महाधिवेशन हुनेमा कुनै शंका गर्नुपर्दैन,’ संग्रौलाले भनिन् ।
बाँकी छैन बहानाबाजी
गत चैत महिनामा बसेको कांग्रेस बैठकले भदौ ७ गतेदेखि महाधिवेशन गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा वैशाख ५ गते भएको सर्वदलीय बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गाइजात्रा’को दिन परेको अधिवेशन नहुने अवस्था आए संवैधानिक रूपमा सहजीकरण गरिदिने प्रस्ताव गरेका थिए ।
भदौमा महाधिवेशन गर्न नसकेमा संवैधानिक जटिलता फुकाइदिने ओलीको आश्वासन कांग्रेस नेताहरूले त्यो बेला स्वीकार गरेनन् ।
बरु सर्वदलीय बैठकमा नगएका नेताहरूले संवैधानिक रूपमा बाधा अड्काउ फुकाएर देउवाले महाधिवेशन पर धकेल्न खोजेको आरोप लगाए ।
कोरोना महामारीका कारण वैशाख १६ देखि जेठ महिनाभर राजनीतिक गतिविधि ठप्प जस्तै भए । कोरोनाको बहाना बनाएर महाधिवेशन टार्न खोजेको आरोप सभापति देउवामाथि लाग्यो ।
यही आशंका मेटाउन सभापति शेरबहादुर देउवाले जेठ २६ गते विज्ञप्ति प्रकाशित गरेरै तोकिएको मितिमा महाधिवेशन गर्ने प्रतिबद्धता जनाए ।
‘यस्तो विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नुपरेको छ । म देशभरिका सम्पूर्ण साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु, २०७८ भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिबद्ध छु,’ देउवाले भनेका थिए ।
केन्द्रीय सदस्य गुरुङ विगतमा पनि पार्टी सरकारमा रहेको समयमा महाधिवेशन भएकाले पार्टीको आन्तरिक लोकतान्त्रीकरणको अभ्यास गर्न कुनै अवरोध नभएको बताउँछन् ।
‘कांग्रेस जस्तो अग्रणी र लोकतान्त्रिक पार्टीको महाधिवेशन रोक्ने कुरा शोभनीय हुँदैन,’ गुरुङले भने ।
मंगलवार, बुधवार र बिहीवार स्थगित भई शुक्रवारका लागि तय भएको पदाधिकारी बैठकमा रामचन्द्र पौडेल पक्षले महाधिवेशनको सुनिश्चितताका लागि दबाब दिने तयारी गरेको छ ।