०२ असार २०८३, मंगलबार

सरोकार समितिको सक्रियतामा बौरिँदै मेलम्ची बजार [फोटोफिचर]

साउन ३, २०७८
सरोकार समितिको सक्रियतामा बौरिँदै मेलम्ची बजार [फोटोफिचर]

गत असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको लेदोसहितको भीषण बाढीले मेलम्ची बजारमा ठूलो क्षति भयो । 

बाढीले ल्याएको लेदोले मेलम्ची अधिकांश घर एक तलादेखि चार तलासम्म पुरेको छ । बाढीकै कारण १ सय ७६ घर प्रभावित भएका छन् । मेलम्चीमा रहेका अधिकांश व्यापार व्यवसाय सबै बाढीले पुरेको छन्, बगाएका छन् । 

गत असार १ गते आएको बाढीले क्षति पुर्‍याएको एक महिना बितिसक्दा बाढीबाट प्रभावित स्थानीयलाई कसरी पुनःस्थापना गर्ने भन्नेबारे अझै स्थानीय र संघीय सरकारबाट प्रयाप्त चासो देखिएको छैन । 

मेलम्ची बजारमा बालुवा र माटोले पुरिएको घरहरूबाट स्थानीयको सक्रियतामा माटो निकाल्ने काम भैरहेको छ । 

पीडित समुदायको सक्रियतामा मेलम्ची बजार पुनर्निर्माण तथा नदी तटबन्ध निर्माण गर्नका लागि सरोकार समिति नै बनाएर पीडित आफैँ मेलम्चीलाई पुरानो अवस्थामा फर्काउने लक्ष्यका साथ दिनरात लागिरहेका छन् । 

सरोकार समितिकै पहलमा मेलम्ची उठाउने पहल भैरहेको छ । 

मेलम्ची नगरपालिकाबाट प्रयाप्त स्रोत साधनको उपलब्धता नभएपछि ३१ दिनदेखि निरन्तर बगरमै खटिएर स्थानीय सागरकुमार श्रेष्ठले मेलम्ची बजार पुनर्निर्माण तथा सरोकार समिति बनाएर पुरानै अवस्थाको मेलम्ची बनाउन लागिपरेका छन् । 

सरोकार समिति र हाम्रो टिम मेलम्चीको सहकार्यमा स्थानीयले निरन्तर मेलम्ची बजारको अस्तित्व जोगाउन दिनरात बगरमै खटिरहेका छन् । 

सरोकार समितिको पहलमा देश तथा विदेशमा रहेका विभिन्न स्थानीयहरूले मेलम्ची पुनःस्थापनाका लागि आर्थिक सहयोग गरिरहेका छन् । 

सोही सहयोग रकमबाट स्काभेटरहरू, बुलडोजर, टिप्परको प्रयोग गरी मेलम्ची बजारमा बाढीले पुरेका घरहरूबाट बालुवाहरू निकाल्ने काम भैरहेको छ ।  

अहिले दिनैपिच्छे मेलम्ची बजारमा बाढी विस्थापितहरू भेला हुन थालेका छन् । सरोकार समितिको सहयोगमा बजार पुर्नस्थापना लागि काम हुन थालेपछि स्थानीयको मुहारमा केही खुसी देखिन्छ । 

मेलम्ची बजार दिनहुँ छ वटा स्काभेटरको प्रयोगले पुरिएको बजारको बालुवा निकाल्ने काम भैरहेको छ । स्थानीय र केही सहयोगी निर्माण व्यवसायीदेखि जनप्रतिनिधिहरूले पनि मेलम्ची पुन:स्थापनाका लागि सहयोग गरिरहेका छन् । 

इन्द्रावती अविरल क्रसर उद्योगका अध्यक्ष उपेन्द्र श्रेष्ठ, जुगल गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष, तथा विभिन्न निर्माण व्यवसायीहरूले स्काभेटर देखि ट्रकलगायतका उत्खनन् सामाग्री सहयोग गरेका हुन् । 

सरोकार समितिलाई हालसम्म १४ लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध भएको छ । उक्त रकम मेलम्ची बाढी विस्थापित बासीको पुनःस्थापनाको लागि मेसिनरी औजारमा खर्च भैरहेको श्रेष्ठले जानकारी दिए । 

सहयोग आएको छ वटा स्काभेटर र ट्रकहरूलाई इन्धन खर्च साथै, अहिले एउटा स्काभेटर र डोजरलाई समितिकै पूर्ण खर्चमा सञ्चालन गरिरहेको समितिले जनाएको छ ।  

बाढीबाट विस्थापितहरू घरमा थुप्रिएको बालुवा हटाएर आफ्नै घरमा बस्न चाहन्छन्   । यसका पीडित परिवार आफैंको व्यक्तिगत खर्चमा सम्भव देखिँदैन ।

यसरी पुनःस्थापनाको लागि स्थानीय सरकारले चासो नदिएपछि पीडित समुदायलाई एक रुपैयाँ लागत पनि खर्च नगराउने गरी सरोकार समितिबाट काम भैरहेको छ । 

बाढीले पुरिएका विभिन्न सामाग्री, पशुपन्छीका कारणले अर्को महामारी फैलने खतरा बढेको र  घर अगाडि थुप्रिएको ३० देखि ४० फिट बालुवाका थुप्रोका कारण स्थानीयमा मानसिक समस्या आउने देखिन थालेपछि तत्काल हटाउनुपर्ने भएर दिनरात लागिपरेको श्रेष्ठले बताए ।

करोडौंको लगानीमा बनेका महँगो होटेल, घर तथा विभिन्न व्यवसाय बगर बनेका छन् ।

भौतिक क्षतिको मूल्यांकन गरी त्यसको क्षतिपूर्तिका लागि स्थानीय सरकारको अग्रसरतामा संघीय सरकारले तत्काल पहलकदमी थाल्नुपर्ने भएपनि हालसम्म केही हुन सकेको छैन । 

बाढी पीडित मेलम्चीबासीले छिटो भन्दा छिटो पुनर्वासको व्यवस्था गर्नुपर्ने आवाज उठाइरहेका छन् । स्थानीय सरकारबाट तत्काल पुनर्वासको योजनाका लागि खासै केही पहलकदमी भएको देखिँदैन ।

प्रदेश र संघीय सरकारको आस्वासन मात्रै दिएको तर, केही  पहल नगरेकाले मेलम्चीबासी आफैँ पुनःस्थापनाको लागि जुटेका हुन् । 

गत असारमा आएको बाढीले मेलम्ची र हेलम्बुमा ठूलो संख्यामा मानवीय र भौतिक क्षति भयो । 

बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, गणेश बगर, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत भयो ।  

नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बगायो । बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा ध्वस्त भयो ।

सयौं घरपरिवार विस्थापित भए । अर्बौंको भौतिक क्षति भयो । हालसम्म पाँचजनाको शव फेला परेको छ भने २० जना अझै बेपत्ता छन् ।  

salt training

कमेन्ट गर्नुहोस्