२४ असार २०८३, बुधबार
कोरोनाको चपेटामा व्यवसाय

कोरोना संकटमा नयाँ ट्रेन्ड: भाडा तिर्न नसक्दा घरबेटीलाई होटल नै बुझाएर पलायन हुँदै व्यवसायी

साउन १५, २०७८
कोरोना संकटमा नयाँ ट्रेन्ड: भाडा तिर्न नसक्दा घरबेटीलाई होटल नै बुझाएर पलायन हुँदै व्यवसायी

मकवानपुरका सुकबहादुर थिङले करीब ३ वर्षअघि कलंकीमा न्यु दामन पालुङ गेस्ट हाउस सञ्चालनमा ल्याए ।

विगतमा सामान्य होटल चलाएको अनुभवले उनले पछिल्लो समय गेस्ट हाउसमा लगानी गरेका थिए । 

करीब ७ लाखमा सञ्चालनमा ल्याएको गेस्ट हाउस शुरूआती महिनामा त राम्रै चल्यो । आम्दानी राम्रो थियो । उनी खुशी थिए । 

तर गेस्ट हाउस सञ्चालनमा ल्याएको करीब १ वर्षपछि उनले सोचेजस्तो भएन । 

मुलुकभर कोरोना महामारी फैलियो । २०७६ चैत ११ गतेदेखि सरकारले लकडाउन जारी गर्‍यो ।

लकडाउनसँगै थिङको गेस्ट हाउस पनि बन्द भयो ।

कोरोना महामारी बढ्दै गयो, सरकारले लकडाउन तथा निषेधाज्ञा जारी गर्दै गयो । 

गेस्ट हाउस चलाउने अवसर नै मिलेन । यत्तिकैमा उनले आफ्नो गेस्ट हाउस घरबेटीलाई बुझाइदिए । 

‘लकडाउनको समयमा मैले भाडा तिर्न सकिनँ । निकै गाह्रो भयो । त्यसकारण घरबेटीलाई गेस्ट हाउस बुझाएको हुँ,’ थिङले लोकान्तरसँग भने ।

मासिक रूपमा उनले घरबेटीलाई ७५ हजार रुपैयाँ भाडा तिर्नुपर्दथ्यो । अवस्था सामान्य हुँदा त उनलाई कुनै समस्या भएन । तर लकडाउनले व्यवसाय बन्द भएपछि समस्या पर्‍यो । 

घरबेटीसँग सहमति गरेर उनले लकडाउनपछि मासिक ४५ हजार रुपैयाँ भाडा तिर्न थाले । तर लकडाउन लम्बिँदै जाँदा उनलाई त्यो भाडा पनि तिर्न पनि मुस्किल हुन थाल्यो । 

‘मैले घरबेटीलाई भाडा तिर्न सक्दिनँ, गाह्रो भयो भनेँ । घरबेटीले छूट दिने कुरै गरेनन्,’ उनले भने, ‘त्यसपछि घरबेटीलाई नै गेस्ट हाउस छाडिदिने निर्णय सुनाएँ, उनले माने ।’

अहिले दुवै जनाको सहमतिमा आफूले गेस्ट हाउस घरबेटीलाई छाडिदिएको उनले बताए ।

गेस्ट हाउस छाडेपछि अहिले उनी खाली छन् । कोरोना साम्य भएपछि के गर्ने भन्ने सोच्दैछन् । तर यही गर्छु भन्ने भइसकेको छैन । 

उनी भन्छन्, ‘होटल क्षेत्रमै लगानी गर्ने अवस्था हुन्छ कि हुँदैन, के गर्ने होला र खै ?’

****

सुकबहादुर थिङमात्र हैन, कलंकीमै गेस्ट हाउस चलाउँदै आएका सिन्धुलीका इन्द्रबहादुर कर्माचार्यको पनि कहानी उस्तै छ । 

करीब ७ वर्षअघि उनले कलंकीमै न्यू सत्कार गेस्ट हाउस सञ्चालनमा ल्याए ।  व्यवसाय राम्रै चलिरहेको थियो । तर विगत २ वर्षदेखि भने ठप्प रह्यो । 

मासिक ७५ हजार भाडा तिर्दै आएका उनलाई पहिलो लकडाउनमा नै समस्या भयो । लकडाउन शुरू भएसँगै उनले भाडा तिर्न सकेनन् । 

बीचमै घरबेटीले भाडाका लागि ताकेता गर्न थाले । अहिले समस्या छ, केही समय पर्खनुस्, कमाएर तिर्छौँ समेत भनेका थिए, तर घरबेटीले मानेनन् । 

उनी सुनाउँछन्, ‘लकडाउनका समयमा भाडा तिर्न सकिएन । भाडा आजै चाहियो, नत्र खाली गर भन्ने कुरा घरबेटीबाट आयो । विस्तारै कमाएर तिर्छौँ, भनेर भन्यौँ । तर घरबेटीले छोरी अमेरिकामा छ, उसलाई खर्च पठाउनुपर्‍यो भन्न थाले ।’

घरबेटीले पटक–पटक ताकेता गरेपछि उनले गेस्ट हाउस सुम्पिदिने निर्णय गरे । यसमा घरबेटी पनि राजी भए । 

‘केही समयका लागि होल्ड गरिदिन वा सहजीकरण गरिदिन हामीले धेरैतिर आग्रह गर्‍यौँ, तर सम्भव भएन । त्यसपछि गेस्ट हाउस नै घरबेटीलाई सुम्पिदिएँ ।’

****

काठमाडौंको निकै व्यस्त क्षेत्र हो, ठमेल क्षेत्र ।

पर्यटन व्यवसायी सागर पाण्डेले ठमेलमा होटल तथा रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् । 

यस्तै ठमेलमै ट्राभल कम्पनी सञ्चालन गरेका छन् । 

कोभिड १९ शुरू भएसँगै उनको व्यवसाय अहिले ठप्प छ ।

ठमेलमा उनको रेष्टुरेन्ट थियो– द शिप रेष्टुरेन्ट । 

कोरोना महामारी लम्बिँदै जाँदा उनले सो रेष्टुरेन्ट बन्द गरे । 

२०७२ सालमा शुरू भएको सो रेष्टुरेन्ट २०७७ भदौमा बन्द गरिएको व्यवसायी सागर बताउँछन् । 

रेष्टुरेन्ट चलाएबापत घरबेटीलाई महिनाको साढे २ लाख भाडा तिर्नुपर्दथ्यो । 

केही समय त उनले भाडा तिरिरहे । पछि थप भाडा तिर्न समस्या हुने भएपछि उनले घरबेटीलाई नै रेष्टुरेन्ट सुम्पिए । 

उनी अहिले अर्को होटल समेत बिक्रीका लागि प्रयासरत छन् । 

ठमेलको ‘होटल यात्री’ उनको हो । उनी अहिले त्यसलाई बिक्री गरेर थप सेक्योर हुन चाहन्छन् । 

‘मिलेसम्म अहिले यसलाई बिक्री गर्छु । यसमा खर्च पनि धेरै लाग्ने भयो । अहिले समस्या भइरहेको समयमा आफूलाई सेक्योर गर्ने सोच छ,’ पाण्डेले भने ।

****

उनीहरूमात्रै हैन काठमाडौं उपत्यकाका अहिले घरबेटीलाई होटल, रेष्टुरेन्ट तथा गेस्ट हाउस सुम्पिने ट्रेन्ड नै चलेको छ । 

शंखमुल, सुन्धारा, कोटेश्वर, गौशाला, नयाँ बसपार्क लगायतका स्थानमा रहेका होटल तथा गेस्ट हाउसहरू धमाधम घरबेटीले बुझ्न थालेका छन् । 

कोरोना महामारीका कारण होटल तथा रेष्टुरेन्ट चल्न नसक्दा व्यवसायीहरू पलायनको दिशामा गएको होटल व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बाग्मती प्रदेशमा मात्रै करीब ३० प्रतिशत व्यवसायीले घरबेटीलाई चाबी बुझाएका छन् ।

नुवाकोट, चितवन, धादिङ, सिन्धुली लगायतका जिल्लामा रहेका होटलहरू धमाधम घरबेटीलाई छाडिदिन थालेको महासंघका बाग्मती प्रदेश अध्यक्ष सन्तोष उप्रेतीले लोकान्तरलाई जानकारी दिए । 

उनले भने, ‘पछिल्लो अपडेटअनुसार हाम्रो प्रदेशमा मात्रै करीब ३० प्रतिशत व्यवसायीले घरबेटीलाई चाबी बुझाएको पाइएको छ ।’ 

पहिलो चरणको लकडाउनमा घरबेटीलाई करीब २० प्रतिशत व्यवसायीले होटल तथा गेस्ट हाउसको चाबी बुझाएका थिए । दोस्रो चरणमा भने ३० प्रतिशत व्यवसायीले निकै समस्यामा परेर घरबेटीलाई चाबी सुम्पिएको पाइएको उनको भनाइ छ । 

उनका अनुसार अन्य जिल्लाको तुलनामा काठमाडौंका व्यवसायीले बढी मात्रामा होटल तथा गेस्ट हाउसको चाबी घरबेटीलाई सुम्पिएको पाइएको छ । 

उप्रेती भन्छन्, ‘काठमाडौंका विभिन्न ठाउँमा व्यवसायीहरूले घरबेटीलाई चाबी सुम्पिएका छन् ।’

सरकारले लकडाउन जारी गरेको शुरूको वर्षभन्दा पनि अहिले निकै गाह्रो भएको व्यवसायीहरूको भनाइ छ । 

पोहोरदेखि पेन्डिङ रहेको भाडा तिर्न अहिले लकडाउन खुकुलो भएसँगै घरबेटीले ताकेता गरिरहेका छन्, जसले गर्दा निकै गाह्रो भएको अवस्था छ,’ काठमाडौंको सुन्धारामा गेस्ट हाउस सञ्चालन गर्दै आएका एक व्यवसायीले भने । 

होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले पनि विस्तारै निषेधाज्ञा खुकुलो हुँदै गएपछि होटल क्षेत्रलाई बढी मार परेको सुनाए । ‘विगतदेखिको भाडा तिर्न बाँकी छ, नतिरौँ घरबेटीले कराउँछन्, तिरौँ, कसरी तिरौँ  । व्यवसायीहरू मारमा परेका छन्,’ उनले भने । 

आफूहरूले घरभाडाको समस्यालाई केही हदसम्म सम्बोधन गरिदिन सरकारको ढोका ढक्ढक्याएको भए पनि कुनै पहल नभएको उनको गुनासो छ । ‘हामीले पर्यटन मन्त्रालयसँग पनि कुरा गर्‍यौँ, उद्योगसँग पनि र अर्थसँग पनि, तर जोसँग कुरा गरेपनि समस्या समाधान भएन,’ उनले भने ।

पर्यटन पकेट क्षेत्रमा पनि अवस्था उस्तै 

माथि उल्लेख गरिएका होटल तथा गेस्ट हाउसहरू पर्यटनकेन्द्रित भने होइनन् । सानादेखि मझौला होटलसम्मको अवस्था दयनीय देखिँदा पर्यटनकेन्द्रित होटलहरूमा पनि अवस्था उस्तै देखिन्छ । 

आन्तरिक तथा बाह्य पर्यटकका लागि पकेट क्षेत्र मानिने काठमाडौं, पोखरा, चितवन, सौराहा, तनहुँ लगायतमा रहेका पर्यटकीय होटलहरू पनि टिक्नलाई धौधौ परिरहेको छ । 

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले दोस्रो पटकको निषेधाज्ञाका कारण पोखराका करीब २५ प्रतिशत व्यवसायी विस्थापित भएको बताएका छन् ।

उनका अनुसार अघिल्लो लकडाउनमा करीब २५ प्रतिशत व्यवसायी पलायनको अवस्था थियो । यद्यपि पछि अलिअलि होटल सञ्चालनमा आउँदा केही राहत मिले पनि अहिले त उनीहरू विस्थापित नै भएका छन् ।  

यता तनहुँमा पनि धेरै होटल व्यवसायीहरू विस्थापित भएका छन् । 

क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राम जोशीले करीब १६ सय साना होटलहरूमध्ये डेढ सयभन्दा बढी होटलहरूले तालाचाबी सुम्पिएको उनले सुनाए । 

‘कतिपयले भाडामा चलाएका छन् भने कतिपयले आफ्नै घरमा चलाएका छन् । तीमध्ये भाडा तिर्न नसक्नेहरूले छाडेका छन् ।’

यता क्षेत्रीय होटल एसोसिएसन चितवनका अध्यक्ष दीपक भट्टराई पछिल्लो समय भाडामा चलाएकाहरू धेरैले होटल छाडेको बताउँछन् । उनले भने, ‘दोस्रो लकडाउनमा भाडामा चलाउनेहरूमध्ये अधिकांशले छाडेको पाइएको छ ।’

यता होटल एसोसिएसन नेपाल (हान)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) टेक महत होटल क्षेत्रमा समस्या परेको भए पनि पर्यटकीय होटलहरूमा भने होटल छाडेको नपाइएको बताएका छन् । 

‘जसले पर्यटनलाई नजिकबाट होटल क्षेत्रमा लगानी गर्नुभएको छ, उहाँहरूले छाड्नुभएको छैन । समस्या परे पनि समस्या सुल्झाउनतर्फ लाग्नुभएको छ,’ उनले भने ।

कतिपय होटल व्यवसायीहरूले महिनाको ६ लाख वा सोभन्दा बढी समेत भाडा तिरेर होटल चलाइरहेको र शुरूआती समयदेखि नै तिर्न समस्या भइरहेको उनले सुनाए ।

यद्यपि पलायन हुने वा होटल पर्यटन छोड्ने अवस्था आउन नदिनेतर्फ नै जोड दिइरहेको समेत उनले बताए । 

‘दिगो पर्यटन विकासका लागि बुझेर आउनुभएका व्यवसायीहरूले समस्या समाधानका लागि बाटो खोजिरहेका छन्,’ उनले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्