
शनिवार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ ।
तीमध्ये ९ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
उनका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो । ती घरटहरा खाली थिए ।
बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितले दिएको जानकारीअनुसार बाढीले आज बिहान पुल बगाएको हो ।
मेलम्ची–७ र ८, पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पका रुपमा यो पुल थियो । पुल बगाएसँगै अब यो भेगमा आवतजावत बन्द छ ।
त्यस्तै ग्यालथुममा रहेको झोलुंगे पुल पनि बाढीले बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ ।
मेलम्ची बजारदेखिमाथि पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए ।
खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको उनले बताए ।
हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बु सवारीसाधन जान नसकेको मेलम्ची नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए ।