३१ असार २०८३, बुधबार
अफगानिस्तान संकट

अफगानिस्तानमा कट्टरपन्थीको दोस्रो इनिङ्स : 'ढुंगेयुग'को धङधङीबाट मुक्त होला तालिबान ?

साउन ३२, २०७८
अफगानिस्तानमा कट्टरपन्थीको दोस्रो इनिङ्स : 'ढुंगेयुग'को धङधङीबाट मुक्त होला तालिबान ?

अमेरिकाले आफ्ना सैनिकहरू फिर्ता लगेपछि द्रुत गतिमा अफगानिस्तानका विभिन्न प्रान्तमा विजय प्राप्त गर्दै तालिबान अब देशकै शासन चलाउने अवस्थामा पुगेको छ । राजधानी काबुल पनि तालिबानको नियन्त्रणमा आइसकेको छ र राष्ट्रपति अशरफ गानी देश छोडेर पलायन भइसकेका छन् ।  

त्यसो त सन् १९९६ देखि २००१ सम्म पनि तालिबानले शासन चलाएकै हो । सन् १९९६ मा अहिलेकै जस्तो आश्चर्यजनक ढंगले प्रान्तीय राजधानीहरूमा कब्जा गर्दै काबुल आइपुगेर तालिबानले देशको शासन चलाएको थियो । 

तालिबानले त्यतिखेर देशभरि इस्लामको कट्टरपन्थी देवबन्दी व्याख्या गर्दै शरिया कानून लगाएको थियो । त्यसपछि पुरुषहरूले लामो दाह्री पाल्नुपर्ने, महिलाहरूले घरबाट बाहिर निस्कँदा पुरुष आफन्तलाई अनिवार्य सँगै राख्नुपर्ने, १२ वर्षभन्दा माथिका महिलाले विद्यालय जान नपाउने, चोरी गर्ने मानिसको हात काटिने, विवाहेतर सम्बन्ध राख्नेलाई ढुंगाले हानेर मार्ने, अपराध गर्नेलाई कोर्रा हानिने लगायतका मानवअधिकार हननका घटना प्रशस्त भएका थिए । 

सन् २००१ मा अमेरिकाको न्युयोर्कमा रहेको ट्विन टावरमा अलकायदाले आक्रमण गरेपछि त्यसको प्रतिशोध लिनका लागि अलकायदाका प्रमुख ओसामा बिन लादेनको खोजीमा अमेरिकाले अफगानिस्तानमा आक्रमण गरेको थियो । लादेनलाई तालिबान शासकहरूले लुकाएर राखेका थिए । 

अमेरिकी आक्रमणपछि तालिबान सत्ताच्युत भयो अनि पश्चिमी समर्थनप्राप्त अफगानी मूलका व्यक्ति हमिद कारजाई राष्ट्रपति बने । उनको दुई कार्यकालपछि पश्चिमकै शिक्षादीक्षा प्राप्त अशरफ गानी राष्ट्रपति बने ।

अमेरिकाले सेप्टेम्बर ११ को घटनाको प्रतिशोध र अलकायदालाई छिन्नभिन्न बनाउनमा सफलता हासिल गरेपछि राज्यनिर्माण (स्टेटबिल्डिङ) शुरू गर्‍यो । अफगानिस्तानमा पश्चिमी शैलीको लोकतन्त्र, मानवअधिकार तथा उदारवाद अपनाउनका लागि अमेरिकाले प्रेरित गरेको थियो । 

फलस्वरूप, अफगानिस्तानमा महिलाले बुर्का लगाएर हिँड्नुपरेन । उनीहरूले विभिन्न किसिमका स्वतन्त्रता अनुभव गर्न पाए । महिला शिक्षामा उल्लेख्य प्रगति भयो । पुरुषहरूमाथिका अनेकौं बन्देज पनि हटे । 

तर तालिबान अहिले पुनः सत्तामा आइपुग्दा यस २० वर्षको अवधिमा हासिल भएका लोकतान्त्रिक उदारवादी उपलब्धिहरू गुम्ने खतरा रहेको भनी विभिन्न टिप्पणीहरू भइरहेका छन् । त्यसो त तालिबानले पहिलाको जस्तो कठोर नीति नअपनाउने संकेत दिँदै सबैलाई सम्मानजनक व्यवहार गर्ने भनिरहेको छ । तर तत्कालका लागि आफ्नो सत्तालाई वैधता दिनका लागि उसले आश्वासन बाँडिरहेको हो कि भन्ने आशंका पनि छ । 

तालिबानले किन कट्टरपन्थी विचारधारा अपनायो भन्ने विषय बुझ्नका लागि इतिहासमा फर्किनुपर्ने हुन्छ । अफगानिस्तानमा रहेका विभिन्न जातीय समुदायमध्ये पश्तुन जाति प्रभावशाली छ र तालिबानको स्थापना नै पश्तुनहरूले गरेका हुन् । 

टेररिजम रिसर्च इनिसिएटिभले प्रकाशन गरेको आइज्याक कफिरको एक आलेखमा उल्लेख गरिएअनुसार, पश्तुनहरू आफ्नै सामुदायिक आचारसंहिता अर्थात् पश्तुनवलीमा विश्वास गर्छन् । त्यसमा बदल अर्थात् प्रतिशोध केन्द्रीय तत्त्व हो । 

पश्तुन अस्मितामाथिको आक्रमण वा आफ्नो कुनै पनि पारिवारिक सदस्यमाथि आघात भएमा त्यसको बदला लिनैपर्ने अलिखित कानून उनीहरूमा विद्यमान छ । उनीहरूको यो कबिलाइ सोचलाई इस्लामको कट्टरपन्थी व्याख्याले धार्मिक तथा आध्यात्मिक दिशा प्रदान गर्दै कबिलाभन्दा पनि माथि धर्म रहेको र धर्मको सम्मानका लागि लड्नभिड्न आवश्यक छ भनी सिकायो । 

इस्लामलाई कबूल गर्नेहरूको समूहलाई उम्मा भनिन्छ । देवबन्दी व्याख्याले उम्मा अर्थात् महान् इतिहास बोकेको बृहत् इस्लामी साम्राज्यको सदस्यका रूपमा पश्तुनहरूलाई लड्न अभिप्रेरित गरेको हो । महान् मुस्लिम परम्पराको कुरा झिकेर मुल्लाहरूले गरीब तथा अशिक्षित कबिलाका सदस्यहरूलाई धर्मको रक्षाका लागि प्रतिबद्धता व्यक्त गर्दा महानता हासिल गर्न सकिन्छ भन्ने शिक्षा दिए ।  

भन्नुको अर्थ तालिबानको उदय हुनुअघि सुन्नी पश्तुनहरू आफ्नै कबिला वा समुदायको रक्षामा बढी ध्यान दिइरहेका थिए । तर अफगानिस्तानमा सोभियत आक्रमणपछि त्यसको प्रतिकारका लागि पाकिस्तानले साउदी अरबको आर्थिक सहयोगमा मुजाहिद्दीनहरू तयार पार्दा त्यस अभियानले धर्मयुद्धको अवधारणा अपनायो । 

मुलुकको सार्वभौमसत्तामाथि सोभियतको आक्रमणका रूपमा मात्र नलिई यसलाई इस्लाम धर्मविरुद्धको आक्रमणका रूपमा व्याख्या गरियो । नास्तिक कम्युनिस्टहरूबाट इस्लामलाई रक्षा गर्नका लागि जन्मिएका यी मुजाहिद्दीनहरूबाट नै पछि तालिबानको उदय भएको हो । युद्ध सरदारहरूको बाहुल्य रहेको मुजाहिद्दीनबाट भिन्न रहँदै तालिबहरूले इस्लामको शुद्धतावादी धारलाई समातेका हुन् । 

उनीहरूको यो शुद्धतावादी धारले अफगानिस्तानमा सहानुभूति पाउँदै गयो किनकि सोभियत संघ हारेर फर्केपछि युद्धसरदारहरूले देशलाई गृहयुद्ध, भ्रष्टाचार र आपसी घृणामा चुर्लुम्म डुबाएका थिए । सधैंको गृहयुद्धबाट वाक्कदिक्क भएका अफगान जनताले तालिबानको कठोर शासन व्यवस्थालाई समुचित विकल्पका रूपमा देख्न थालेका थिए । 

त्यसैले सन् १९९४ मा सक्रिय रूपमा आक्रामकता अपनाएका तालिबान लडाकूहरूले जम्मा दुई वर्षभित्र देशका अधिकांश भूभागमा कब्जा गरे अनि सत्ता हात पार्न सफल भए । 

अहिले २० वर्षको अन्तरालमा उनीहरूले त्यही उपलब्धि दोहोर्‍याउन सफल भएका छन् । तालिबानले अहिले द्रुत गतिमा विजय पाउनुको परिस्थिति लगभग पहिलेको जस्तै छ । यस अवधिमा अफगान सरकार जहिल्यै कमजोर रह्यो । राज्यका सबै निकाय भ्रष्ट भएकाले जनतालाई सेवा दिन सकेनन् । सरकार टिकिरहनका लागि विदेशी फौजहरूमा अतिनिर्भरता कायम रह्यो । अनि युद्धसरदारहरूबीचको द्वन्द्व कायम रहँदा देश गृहयुद्धको स्थितिमै फसिरह्यो । 

अहिले तालिबानको प्रभावशाली विजयका क्रममा युद्धसरदारहरूले सजिलै गरी आत्मसमर्पण गरेकाले तालिबानलाई सत्ता चलाउन धेरै संघर्ष गरिरहनुपर्दैन जस्तो देखिन्छ । अनि अमेरिका जस्तो महाशक्तिलाई हराएको तालिबानको आत्मविश्वास उच्च छ र त्यसैको प्रमादमा उसले थप कठोर शासन चलाउने त हैन भनी आशंका उठ्नु स्वाभाविक हो ।

त्यसैले तालिबानहरू सत्तामा नरहेको यस २० वर्षको अवधिमा अफगानिस्तानमा देखिएको उदारवादको हालत अब के हुन्छ भन्नेमा धेरैले चिन्ता व्यक्त गरेका छन् । 

तालिबानले पहिलेको भन्दा केही लचकता देखाउन सक्ने भनी सीएनएनमा साम काइलीले लेखेका छन् । उनका अनुसार, विगत २० वर्षमा तालिबानको पकड रहेको क्षेत्रमा तालिबानले महिलालाई केही सीमित छुटहरू दिएका थिए अनि न्यायिक स्वच्छता कायम गरेका थिए । 

देशमा सक्रिय रहेका अन्य आतंकवादी संगठनहरू अलकायदा र इस्लामिक स्टेट अफ खोरासानलाई कुनै पनि गतिविधि गर्न नदिने तालिबानको प्रतिबद्धता छ । ती संगठनमाथि पूर्णरूपमा हावी हुन सके पनि तालिबान थप लचकताको बाटोमा जान सक्छ किनकि कसले इस्लामको बढी कट्टरपन्थी व्याख्या गर्दै जनतालाई दमन गर्ने भनी होडबाजी चल्ने छैन । 

पश्चिमको कूटनीतिक तथा परराष्ट्र नीतिनिर्माता समुदायमा तालिबान केही भए पनि परिवर्तन भएको सोच आएको देखिन्छ भनी अमेरिकी थिंकट्यांक एट्लान्टिक काउन्सिलको वेबसाइटमा प्रकाशित एक आलेखमा तमिम आसेले लेखेका छन् । तालिबान अन्तर्राष्ट्रिय आतंकवादी हैन, बरू राष्ट्रवादी राजनीतिक–सैन्य समूह हो र उनीहरूलाई अपनाउनुपर्छ भन्ने सोच कूटनीतिक वृत्तमा आइरहेको उनी उल्लेख गर्छन् । 

त्यसैले तालिबानलाई अफगान राजनीति तथा विश्व मञ्चमा राजनीतिक खेलाडीका रूपमा लिनुपर्ने र उनीहरूका मध्ययुगीन विचारधारालाई कूटनीतिक माध्यमबाट क्रमशः मत्थर बनाउँदै लग्नुपर्ने सोच पश्चिममा विकसित हुँदै गएको छ । युद्ध गरेर त तालिबानलाई झुकाउन वा सुधार्न नसकिने रहेछ भन्ने कुरा पश्चिमले थाहा पाइसकेको छ । तालिबान आफैं पनि विश्व समुदायमा वैधताका लागि तथा भूराजनीतिक कारणहरूले गर्दा पनि पहिलेको भन्दा केही उदार बन्छन् कि भन्ने आकलन गरिएको छ । अमेरिकाका तर्फबाट तालिबानसँग वार्ता गर्ने जाल्मे खलिलजाद तालिबान परिवर्तन भइसकेको ठोकुवा गर्छन् ।

त्यसो त तालिबानभित्र पनि शक्तिसंघर्ष रहेको बताइन्छ । अमेरिका नेतृत्वको पश्चिमी शक्तिलाई हराउनका लागि एकताबद्ध भएको तालिबानले विजय प्राप्त गरिसकेको अवस्थामा ती आन्तरिक विभाजनहरू पुनः सतहमा आउन पनि सक्छन् । अनि तालिबानले सबैलाई समान व्यवहार देखाउन सकेनन् भने देशका अन्य जातीय समुदायले पश्तुनबहुल तालिबानका विरुद्ध विद्रोह गर्न पनि सक्छन् । त्यसमाथि देशमा हातहतियारको ओइरो लागेकाले विद्रोहको सानो झिल्को पनि गृहयुद्धमा परिणत हुन सक्ने खतरा छ ।

शायद यसैलाई दृष्टिगत गर्दै तालिबानले सर्वसाधारणलाई नतर्साउन अनि सामान्य गतिविधि निर्बाध रूपमा गर्न दिनका लागि आफ्ना फौजहरूलाई निर्देशन दिएको छ । पूर्णरूपमा सत्ताप्राप्ति गरेपछि चाहिँ उसले कस्तो व्यवहार देखाउनेछ भन्नेमा धेरै कुरा निर्भर रहनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्