२९ असार २०८३, सोमबार
एमाले विवादमा विशेष प्याकेज

एमाले विवादमा विशेष प्याकेज– भाग १ : ओली–नेपाल ५० वर्षे सम्बन्धको फेहरिस्त

भदौ १, २०७८
एमाले विवादमा विशेष प्याकेज– भाग १ : ओली–नेपाल ५० वर्षे सम्बन्धको फेहरिस्त

न सुमधुर सम्बन्ध, न त सम्बन्धविच्छेदको अवस्थामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल भविष्यमा सँगै रहलान् वा नरहलान्, सर्वत्र चासोको विषय बनेको छ । 

उत्कर्षमा रहेको एमालेको आन्तरिक विवादका कारण यी दुई नेताको सहकार्य संकटमा छ । एकले अर्काको अस्तित्व नै स्वीकार्न नसक्ने अवस्थामा उनीहरू छन् । तर, इतिहास पल्टाउँदा यी दुई नेताको सम्बन्धमा यति गहिरो दरार कहिल्यै थिएन ।

ओली र नेपालबीच ५० वर्षको सम्बन्ध छ । कम्युनिस्ट आन्दोलनमा दोस्रो पुस्ताका यी दुई नेताको चिनापर्ची २०२८ सालमा भएको पुराना कम्युनिस्ट नेता राधाकृष्ण (आरके) मैनाली बताउँछन् । २०२८ को ‘वर्ग शत्रु सफाया क्रान्ति’का नामले चिनिएको झापा आन्दोलनका प्रमुखमध्ये एक नेता थिए, केपी ओली । 

त्यसबेला माधव नेपाल भने विराटनगरमा नेपाल बैंकमा जागिरे थिए । भूमिगत रूपमा कम्युनिस्ट आन्दोलनमा पनि सहभागी थिए, उनी । २०२८ सालमै विराटनगरस्थित माधव नेपालको डेरामा केपी ओली एक महिना बसेको मैनाली सम्झन्छन् । ‘२०२८ सालमै ओली र नेपालको भेट भइसकेको थियो । माधव नेपालको डेरामा केपी ओली एक महिना बसेका पनि रहेछन्’, मैनालीले भने ।

नेपाली कम्युनिस्ट आन्दोलनका शिखर पुरुष मोहनचन्द्र अधिकारी त्यसबेला भारतमा थिए । ओलीले अधिकारीलाई भेट्ने रूचि राखेपछि माधव नेपालले अधिकारी रहेको ठाउँको ठेगाना दिएर ओलीलाई भारत पठाए । 

अहिलेका धेरैजसो कम्युनिस्ट नेताका गुरू हुन्, मोहनचन्द्र अधिकारी । उनी झापा आन्दोलनका नेतृत्वकर्ता मध्ये एक थिए । 

पुरानो घटना स्मरण गर्दै मैनालीले भने, ‘माधव नेपाललाई मोहनचन्द्र गोरखपुर गएका छन् भन्ने थाहा रहेछ । माधवसँगै गोरखपुरको ठेगाना लिएर केपी ओली भारत गएछन् । केपी भारत पुग्दा मोहनचन्द्र गोरखपुरबाट नैनीताल सरिसकेका रहेछन् । गोरखपुरमा एक जनाले मोहनचन्द्र नैनीताल गएको बताएपछि ओली पनि त्यतै लागेछन् । नैनीतालमा मोहनचन्द्र उखु गोडेर बसेका रहेछन् । ओलीले पनि मोहनचन्द्रसँगै केही समय उखु गोडेछन् ।’

केही समय सँगै बसेपछि अधिकारी र ओली नेपाल फर्किए, अनि माधव नेपालको सम्पर्कमा पुगे । यता प्रशासनले भने अधिकारी र ओली दुवैको व्यापक खोजी गरिहेको थियो । नेपाल र ओली यो विषयमा जानकार थिए । 

माधव नेपालले नै ओलीलाई प्रशासनबाट जोगाउनको लागि रौतहटमा लुकाएर राखे । त्यसबेलाका तत्कालीन अधिवक्ता कृष्णप्रसाद भण्डारीको सहयोगमा उनीहरूलाई लुकाएर राखेको मैनाली सम्झन्छन् ।

हाल वयोवृद्ध अवस्थामा पुगिसकेका वरिष्ठ अधिवक्ता भण्डारी तिनै व्यक्ति हुन्, जसले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा बहस गर्दा ओलीले ‘रमिता’ भनेका थिए ।

मैनाली र ओली १४ वर्षसँगै जेल (गोल घरमा ३ वर्ष) बसेका थिए । २०४४ सालमा मात्रै उनीहरू जेलबाट छुटे ।

माधव नेपालसँग त्यति लामो समय जेल बसेको अनुभव छैन । २०३२ सालमा राजकाजको मुद्दामा पक्राउ परेको उनी दुई वर्षमा छुटे । त्यसपछि भने नेपाल कोअर्डिनेसन केन्द्रमा आबद्ध भएर निरन्तर पार्टी काममा नै खटिए । केपी ओली लामो समय जेल बस्दा माधव नेपाल दुईपटक मात्रै भेट्न गएको मैनाली बताउँछन् ।

२०३५ सालमा माक्सवादी लेनिनवादी (माले) पार्टी बन्यो । त्यसको महासचिव भए, सीपी मैनाली । मालेले भूमिगत रूपमा कम्युनिस्ट आन्दोलन चलाएको थियो । संगठन विस्तारको काममा नेपालले मेहनत गरे । 

नेपाल पहिल्यैदेखि महत्त्वाकांक्षी स्वभावको रहेको उनलाई शुरूदेखि चिन्ने नेता प्रदीप नेपाल बताउँछन् । त्यसबेला पार्टी महासचिव रहेको सीपी मैनालीलाई कारवाही गरिएको थियो । ‘उहाँ २०३९ सालमै पार्टीको महासचिव हुन चाहनुहुन्थ्यो । तर, पार्टीले झलनाथ खनाललाई महासचिव बनायो’, प्रदीप नेपाल भन्छन् ।

‘महाकाली सन्धिका बेला ओली र नेपालको आन्द्रा नै जोडिएजस्तो थियो’, आरके मैनाली भन्छन्, ‘उनीहरूबीचको सहकार्य यस्तो थियो कि अब उनीहरू कहिल्यै छुट्टिएलान् भन्ने कल्पना नै गर्न गाह्रो हुन्थ्यो ।’ दुवैलाई नजिकबाट चिन्ने नेता प्रदीप नेपालको धारण पनि यस सम्बन्धमा मैनालीको जस्तै छ । ‘महाकाली सन्धिका बेला नेपाल र ओलीको सम्बन्ध हलगोरु जस्तै थियो,’ नेपालले सम्झिए ।

केपी ओली जेलबाट छुटेर आउँदा माधव नेपाल ठूलो नामको नेता भइसकेका थिए । मदन भण्डारीसँग नेपालको संगत थियो ।

‘त्यसबेला माधव नेपाल र केपी ओलीको सम्बन्ध ठूलो नेता र सामान्य कार्यकर्ताको जस्तो थियो’, नेपाल भन्छन् । उनी जेलबाट छुटेर आएपछि पार्टीले लुम्बिनी अञ्चलको इञ्चार्ज बनाएर पठाउने भन्दा ओलीले अस्वीकार गरेका थिए । ‘कसैलाई नटेर्ने उहाँको पहिल्यैदेखिको स्वभाव हो । २०४५ सालमा उहाँलाई लुम्बिनीको इञ्चार्ज बनाएर पठाउन खोज्दा जान मान्नुभएन । म राजधानीमै बसेर काम गर्ने हो, बाहिर जान्नँ भन्नुभयो । उहाँले भनेअनुसार भएन भने कामै नगर्ने बरू सुतेर बस्ने गर्नुहुन्थ्यो’, नेता नेपाल भन्छन् । 

पार्टीले निर्णय गरेपछि मन नपरेपनि लिएर हिँड्नुपर्छ भन्ने स्वभाव माधव नेपालको रहेको प्रदीप नेपाल बताउँछन् । 

२०४८ सालमा भने माधव नेपालकै प्रस्तावमा ओलीलाई त्यसबेलाको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (अहिलेको राष्ट्रिय युवा संघ)को अध्यक्ष बनाइएको नेपालले जानकारी दिए । त्यसपछि भने माधव नेपाल र ओलीको सम्बन्ध केही नजिकियो ।

हुन त एमालेको पाँचौ र छैठौं महाधिवेशनका बेला नेपाल र ओलीको एउटै लाइन थियो । त्यसबेला मदन भण्डारी पार्टी महासचिव थिए । पाँचौ महाधिवेशनले नै एमालेको तत्कालीन कार्यनीति जनताको बहुदलीय जनवाद (जबज)लाई अगाडि सारेको थियो ।

महाकाली सन्धिमा एक स्वर

२०५० जेठ ३ मा दासढुङ्गामा भएको दुर्घटनामा मदन भण्डारीको निधन भयो । त्यसपछि पार्टीको नेतृत्व माधव नेपालले सम्हाले ।

वि.सं. २०५२ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गर्दा तत्कालीन एमालेको नेतृत्वमा माधव नेपाल थिए । केपी ओली महाकाली सन्धिका बलिया समर्थक थिए । 

‘महाकाली सन्धिका बेला ओली र नेपालको आन्द्रा नै जोडिएजस्तो थियो’, आरके मैनाली भन्छन्, ‘उनीहरूबीचको सहकार्य यस्तो थियो कि अब उनीहरू कहिल्यै छुट्टिएलान् भन्ने कल्पना नै गर्न गाह्रो हुन्थ्यो ।’

दुवैलाई नजिकबाट चिन्ने नेता प्रदीप नेपालको धारण पनि यस सम्बन्धमा मैनालीको जस्तै छ । ‘महाकाली सन्धिका बेला नेपाल र ओलीको सम्बन्ध हलगोरु जस्तै थियो,’ नेपालले सम्झिए ।

बाहिर देख्दा निकै राम्रो सम्बन्ध बने पनि सुख–दुःख साटासाट गर्ने खालको हार्दिकता भने थिएन ।

महाकाली सन्धिपछि राजनीतिमा ओलीको तरक्की शुरू भएको मैनाली बताउँछन् । 

‘सानो कोठाबाट ठूलो कोठामा बस्ने, गाडी छाडेर जहाज प्रयोग गर्ने, आफूसँगै ठूलो जमात लिएर हिँड्न सक्ने हैसियत ओलीको बन्यो । त्यसअघि त्यस्तो हैसियत कहिल्यै थिएन’, मैनालीले भने, ‘महाकाली सन्धि पछि उनको त तरक्की नै शुरू भयो ।’

मैनालीको कुरामा नेपाल पनि सहमत छन् ।

‘कतै साथीहरू खाना, खाजा खान बस्यो भने पनि पैसा तिर्ने बेलामा त्यो मेरो नाममा गर्दिनू भन्न थाले । महाकाली सन्धिपछि उनको हैसियत परिवर्तन भयो’, नेपालले भने ।

आरके मैनालीको पुस्तक ‘नलेखिएका इतिहास’मा मैनालीले लेखेका छन्, ‘ माधवकुमार नेपाल शुरूदेखि नै केपी ओलीलाई आफ्नो पक्षमा पार्नतिर लागे । महाकाली सन्धिकै विषयमा कुरा गर्न भारतबाट मन्त्रीस्तरीय टोली नेपाल आएका बेला नेपालले ओलीलाई च्यापेका थिए । चलाख केपी आफूलाई शुभलाभ हुने बुझेपछि राष्ट्रहितका झमेलामा अल्झिएनन् ।’

२०५४ मा नेपालगञ्जमा एमालेको छैठौं महाधिवेशन भयो । त्यसबेलासम्म पनि ओली र नेपालको राजनीतिक लाइन एउटै थियो । उनीहरूको सहयात्रा जारी थियो । एमालेभित्र महाकाली सन्धिको समर्थन र विरोधको अन्तरसंघर्ष यति गहिरियो कि सन्धिकै कारण पार्टी नै फुट्यो । महाकाली सन्धिको विरोध गर्ने नेता कार्यकर्तालाई नेपाल र ओलीले मिलेरै किनारा लगाएको मैनालीको आरोप छ ।

२०५४ फागुन २१ मा बसेको केन्द्रीय कमिटीको आकस्मिक बैठकबाट वामदेव गौतम, चन्द्रप्रकाश (सीपी) मैनाली, राधाकृष्ण (आरके) मैनाली, देवी ओझा, सहाना प्रधान, हिरण्यलाल श्रेष्ठ, घनश्याम भुषाल, सीतानन्द राय, केशवलाल श्रेष्ठ र मोहनचन्द्र अधिकारीलाई कारवाही गरी पार्टी सदस्य र संसदीय दलको सदस्यबाट समेत हटाइएको थियो । कारवाहीमा परेका नेताहरूले नेकपा (माले) गठन गरेका थिए । 

तर, २०५६ मा केपी ओलीले संसदीय दलको नेतामा दाबी गरेका थिए । पार्टी महासचिवमा आफूले सहयोग गरेपछि नेपालले संसदीय दलको नेता छाडिदिनुपर्ने तर्क ओलीको थियो । तर, संसदीय दलको नेता पनि नेपाल आफैँ भए । ओली नेपालसँग यहीँबाट बिच्किएका थिए । यस बेलासम्म ओलीले पार्टीमा आफ्नो प्रभाव समूह बनाइसकेका थिए । ओलीलाई विद्या भण्डारी, शंकर पोखरेलहरूको बलियो साथ थियो । 

तर, २०५६ मा केपी ओलीले संसदीय दलको नेतामा दाबी गरेका थिए । पार्टी महासचिवमा आफूले सहयोग गरेपछि नेपालले संसदीय दलको नेता छाडिदिनुपर्ने तर्क ओलीको थियो । तर, संसदीय दलको नेता पनि नेपाल आफैँ भए । ओली नेपालसँग यहीँबाट बिच्किएका थिए । यस बेलासम्म ओलीले पार्टीमा आफ्नो प्रभाव समूह बनाइसकेका थिए । ओलीलाई विद्या भण्डारी, शंकर पोखरेलहरूको बलियो साथ थियो । 

सातौं महाधिवेशनबाट आमनेसामने

२०५९ मा एमालेको सातौँ महाधिवेशन जनकपुरमा हुने तय भयो । पार्टी फुटाएर गएकामध्ये सीपी मैनालीबाहेक अरू २०५८ मै एमालेमा फर्किसकेका थिए । सातौं महाधिवेशनमा ओलीले पार्टीमा अध्यक्षात्मक प्रणालीको प्रस्ताव गरे । तर, त्यसलाई नेपाललगायतका नेताहरूले अस्वीकार गरिदिए । 

त्यसपछि भने ओली र नेपालको टकराव शुरू भयो । ओलीले पार्टीमा गुट बनाउन र परिचालन गर्न थाले । यतिसम्मकि ओलीले माधव नेपाललाई हैरान पारेका थिए । ओलीको हैरानीबाट आजित भएर माधव नेपालले निकटस्थहरूसँग नेतृत्व छाडिदिने सल्लाह समेत गरेको प्रदीप नेपाल बताउँछन् । 

‘केपी ओलीले हैरान पारे, छाडिदिऊँ कि क्या हो भनेर हामीसँग सल्लाह गर्नुभएको थियो । हामीले नै अहिले त्यसो नगर्नुहोस् भन्यौं’, प्रदीप नेपाल भन्छन् ।

एमालेको आठौं महाधिवेशन नहुँदै पहिलो संविधान सभाको निर्वाचन भयो । २०६४ सालको निर्वाचनमा एमाले कुल ३३ सिटमा सीमित भयो । पार्टीले शर्मनाक हार व्यहोरेपछि माधव नेपालले नैतिकताको आधारमा पार्टी महासचिवबाट राजीनामा दिए । पार्टीले झलनाथ खनाललाई महासचिवको जिम्मेवारी दियो । 

२०६५ मा बुटबलमा एमालेको आठौं महाधिवेशन भयो । त्यही महाधिवशेनबाट एमालेले बहुपदीय प्रणाली अबलम्बन गर्‍यो । खनाल र ओली अध्यक्ष पदका प्रत्यासी बने । ओलीले नेपालबाट साथ पाउने आशा गरेका थिए । तर, माधव नेपालले खनाललाई सघाए । ११७ मतले ओली पराजित भए । खनाल एमालेको अध्यक्ष बने । 

चुनाव हारेर पनि २०६६ मा माधव नेपाल प्रधानमन्त्री बन्दा केपी ओलीले साथ दिएका थिए । माओवादीले नेपाल नेतृत्वको सरकारविरुद्ध सडक आन्दोलन गरेको थियो । त्यसबेला माओवादीविरुद्ध सबैभन्दा तीखो वक्तव्य दिन सक्ने नेता एमालेमा ओली मात्रै थिए । माओवादीका क्रियाकलापहरूको ओलीले सार्वजनिक रूपमा नै भण्डाफोर गर्थे । 

२०६७ माघमा माधव नेपालको सरकारलाई हटाएर झलनाथ खनाल प्रधानमन्त्री नियुक्त भए । माओवादीसँगको गठबन्धनमा सरकार बनेको थियो । तर, ओलीले खनाललाई असहयोग गरे । 

केपी ओलीलाई कोही मन परेन भने त्यसलाई सिध्याउनेतिरै लाग्ने स्वभावका छन् । ‘केपीको दिमाग नै नेगेटिभ छ । कोही उनलाई मन परेन भने जसरी पनि सिध्याउने रणनीतिमा लाग्छन्’, प्रदीप नेपाल भन्छन् ।   

२०७० को निर्वाचनपछि संसदीय दलको नेतामा ओलीले बाजी मारे । एमालेले पहिलोपटक निर्वाचन प्रणालीमार्फत संसदीय दलको नेता चुनेको थियो ।

पार्टी अध्यक्ष खनाललाई नै संसदीय दलको समेत नेता बनाउने गरी संस्थापनले गरेको प्रयास ओलीले विफल पारिदिए । २३ मतले खनाललाई पछि पारेर ओली संसदीय दलको नेतामा निर्वाचित भए । 

यसबेला पनि माधव नेपालले खनाललाई साथ दिएका थिए । 

नवौं महाधिवेशनबाट टकराव

२०७१ मा काठमाडौंमा भएको महाधिवेशनमा माधव नेपाल र ओली अध्यक्षका दाबेदार थिए । त्यसबेला ओली बिरामी भएकाले शारीरिक रूपमा कमजोर पनि थिए । पार्टीमा दोस्रो र तेस्रो वरीयतामा रहेका नेपाल र ओली चुनावी मैदानमा उत्रिए । 

अघिल्लो महाधिवेशनमा अध्यक्ष हारेका ओलीका लागि यस पटक जसरी पनि जीत निकाल्नुपर्ने थियो । ओली संसदीय दलको नेता भइसकेका थिए । 

ओलीको स्वास्थ्य अवस्थालाई माधव नेपाल समूहले प्रचारको विषय समेत बनाएको थियो । ओलीका लागि अध्यक्ष छाडिदिन आग्रह गरेको तर माधव नेपाल सहमत नभएको प्रदीप नेपालले बताए । 

‘हामीले १२–१३ जनाको टीममा सल्लाह गर्दा यस पटक ओलीलाई अध्यक्ष छाडिदिऊँ भन्ने भयो । म र मुकुन्द न्यौपाने भएर माधव नेपाललाई यही कुरा भन्यौं । तर,  उहाँले मान्नुभएन’, नेपालले भने, ‘झट्ट सुन्नेबित्तिकै रिसाइहाल्नुभयो ।’

संगठनको क्षेत्रमा राम्रो काम नभए पनि पार्टीको नेतृत्व चाहिँ गर्न सक्नुहोला भनेर अध्यक्ष ओलीलाई छाडिदिन त्यसेबला सल्लाह गरेको नेपालले बताए ।  

आफ्नो स्वास्थ्यको बारेमा अनर्गल प्रचार गरेको भनेर ओली माधव नेपालसँग चिढिएका थिए । महाधिवेशनमा ४४ मत बढी ल्याएर ओली अध्यक्ष निर्वाचित भए । तर, पदाधिकारीमा नेपाल समूहको वर्चश्व भयो । ओलीले एक हजार ४७ मत पाए भने नेपालले एक हजार तीन मतमा चित्त बुझाउनुपर्‍यो । 

ओली विजेता त भए तर, मत परिणामले ओलीलाई झस्कायो । ‘झिनो मत अन्तरले जितेपछि माधव नेपाललाई बेलैमा ठिक लगाउनुपर्छ नत्र खैराँत छैन भन्ने ओलीलाई पर्‍यो । त्यहीँ कारण शुरूदेखि नै ओलीले नेपाललाई पेल्न थाले’, मैनालीको विश्लेषण छ ।

२०७४ मा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको निर्णय गरे । ओलीले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई जानकारी नै नदिई निर्णय गरेको थिए । बरू, ओलीले पार्टीका उपमहासचिव एवं विश्वासपात्र विष्णु पौडेलको साथ लिए । 

पार्टी एकतापछि झन् चर्कियो टकराव

एमाले र माओवादीको एकतापछि नेकपा कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । पार्टीले दुई अध्यक्षात्मक प्रणाली अबलम्बन गर्‍यो । माधव नेपाल वरिष्ठ नेता बने । पार्टीमा ओली र प्रचण्डको हालीमुहाली चल्यो । प्रदीप नेपालको विश्लेषण छ, ‘पार्टी एकीकरणपछि त ओलीले पार्टीमा माधव नेपाल पनि छन् भन्ने नै बिर्सिए ।’

सातौं र आठौं महाधिवेशनसम्म केपी ओली एक व्यक्ति एक पदको वकालत गर्थे । त्यसबेला ओली पार्टीमा स्थायी प्रतिपक्षजस्ता बनेका थिए । तर, उनी आफैँ अध्यक्ष बनेपछि पहिलेका आफ्ना अडान उनले बिर्सिए । राजनीतिक नियुक्ति र पार्टीको जिम्मेवारीमा आफ्ना गुटका मान्छेलाई मात्रै नियुक्त गर्न थाले । केन्द्रीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र मन्त्री तथा अन्य नियुक्तिमा माधव नेपाल समूह छायाँमा पर्न थाल्यो । यहीँबाट ओली र माधव नेपालको टकराव उग्र विवादका रूपमा झाँगियो ।

प्रदेश–१ मा भीम आचार्य र बाग्मती अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने भनेर टिकट दिइएको थियो तर, ओलीले शेरधन राई र डोरमणि पौडेललाई मुख्यमन्त्री बनाए । यो निर्णयपछि ओलीसँग नेपाल झन् बिच्किए । 

२०७५ असोज ५ गते नेकपाको सचिवालय बैठकले प्रदेशको इञ्चार्ज तोक्ने निर्णय गर्‍यो । जसमा गण्डकीका मुख्यमन्त्री रहेका पृथ्वीसुब्बा गुरूङ र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री रहेका शंकर पोखरेललाई ती दुवै प्रदेशको इञ्चार्ज पनि तोक्ने निर्णय भयो । तर, माधव नेपालमा यसमा सहमत भएनन् र निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखे ।

त्यसपछिका सबैजसो बैठकमा ओली र नेपालबीच टकराबको स्थिति बन्यो । अवस्था यस्तोसम्म भयो माधव नेपालले दिएको स्वास्थ्यलाभको शुभकामना समेत ओलीले इन्कार गरिदिए ।

०७६ भदौ ५ गते ओली स्वास्थ्य उपचारको लागि सिंगापुर जाँदै थिए । त्यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बसेको थियो । बैठक सकिने बेलामा नेपालले ओलीलाई स्वास्थ्य लाभको शुभकामना दिएका थिए । तर, ओलीले ‘मेरो स्वास्थ्यबारे नकारात्मक टिप्पणी गर्दै हिँड्ने मानिस भएकाले तपाईंको शुभकामना चाहिँदैन’ भन्ने जवाफ फर्काएका थिए । भदौ ५ को बैठक असाध्यै तिक्ततापूर्ण अवस्थामा अन्त्य भएको थियो ।

त्यसपछिका ८२ दिन ओली र नेपालको बोलचाल अनि भेटघाट नै भएन । ओली सिंगापुरबाट फर्किए । तर, न नेपालले ओलीको वास्ता गरे न त ओलीले नेपालको खोजी नै गरे ।

०७६ कात्तिकमा ओलीले नै नेपाललाई भेट्न बोलाए तर पहिलो पकटको आग्रहमा नेपाल भेट्न गएनन् । ओलीले फेरि दोस्रोपटक बोलाएपछि मात्रै नेपाल बालुवाटारमा ओलीलाई भेट्न गए । त्यसदिन दुई नेताबीच ४ घण्टा लामो कुराकानी भएको थियो । त्यही बसाइमा तिक्त सम्बन्ध अन्त्य गर्दै मन माझामाझको प्रयास भएको त्यसबेला ओलीको सचिवालयमा रहेका सचिवालयका सदस्यहरू बताउँछन् । 

शुरूमा पार्टीमा हालीमुहाली गरेका ओली र प्रचण्डको सम्बन्ध विस्तारै बिग्रँदै गयो । ओली प्रचण्डको सम्बन्ध सुधारमा नेपालले पनि भूमिका निर्वाह गरे । ०७७ वैशाखपछि ओली र प्रचण्डबीच असमझदारी बढेको थियो । त्यसबेला दुई नेता मिलाउन नेपालले मेहनत गरे । तर, सम्बन्ध सुधार हुन सकेन ।

०७७ पुस ५ मा ओलीले संसद् विघटन गरे । माधव नेपाल र प्रचण्डले त्यसको विरोध गरे । ओलीको निर्णयविरूद्ध नेपाल र प्रचण्डले सडक प्रदर्शन शुरू गरे । प्रचण्ड र नेपाल पक्षले ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने निर्णय गरे । उता ओली एक्लैले पार्टीको केन्द्रीय सदस्य थपेर १५ सय पुर्‍याइदिए । प्रचण्ड नेपालले भने ओलीको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाए र केपी ओलीलाई पार्टी सदस्यबाट समेत हटाउने गरी कारवाही गरे ।

प्रचण्ड र नेपाल एकातिर र ओली अर्कातिर भएर पार्टीको समानान्तर गतिविधि चल्यो । ओलीले पनि शक्ति प्रदर्शन थालेका थिए । ०७७ फागुन ११ मा संसद् पुनःस्थापना भयो भने २३ फागुनमा सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई पूर्वावस्थामा फर्काउने फैसला गरिदियो । त्यसपछि भने ओली र नेपाल एमाले तथा प्रचण्ड माओवादी केन्द्रमै फर्किए । 

एमालेमा नेपाल पक्षले २०७५ जेठ २ को अवस्थाबाट पार्टी गतिविधि शुरू हुनुपर्ने माग राख्यो तर, ओलीले केन्द्रीय कमिटी नै भङ्ग गरेर महाधिवेशन आयोजक कमिटी बनाइदिए । नेपाल पक्षले त्यसको विरोध गर्‍यो । 

केपी ओलीले संसदबाट विश्वासको मत नपाउने निश्चित भएपछि विश्वासको मतको प्रक्रियामा सहभागी नहुने बताए । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २२ घण्टाको समय दिएर संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि आह्वान गरिन् । 

वाकपटुता नै ओलीको सबैभन्दा बलियो गुण हो । आफ्नो कुरालाई स्थापित गर्ने गरी अभिव्यक्ति दिन सक्ने क्षमता उनको छ । आरके मैनाली र प्रदीप नेपाल ओलीको यो क्षमताको सह्राना गर्छन् । त्यसबाहेक, उनी गुट बनाउन र परिचालन गर्न पनि सिपालु छन् । ‘केपी ओली छिटो कुरा बुझ्छन् र अरूलाई चाँडै फुर्क्याउन पनि सक्छन् । यो उनको क्षमता हो’, नेपालले भने, ‘कसैलाई नटेर्ने र आफूलाई सही लागेपछि गलत कुरा पनि नछाड्ने उनको अवगुण हो ।’

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेर १४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति कार्यलयमा बुझाइयो । माधव नेपाल पक्षले पनि देउवालाई समर्थन गरेको थियो । विश्वासको मत नलिने बताएका ओलीले पनि प्रधानमन्त्रीमा दाबी पेश गरे । राष्ट्रपति भण्डारीले देउवा र ओली दुवैको दाबी नपुग्ने निर्णय गरिदिइन् । यता प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिश गरिदिए । 

कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी लगायतको गठबन्धन राष्ट्रपतिको निर्णय र संसद विघटनविरुद्ध सर्वोच्चमा रिट दर्ता गरे । सर्वोच्चले लाइनमा राखेर १४६ जना सांसदको हस्ताक्षर प्रमाणीकरण गर्‍यो । न्यायिक इतिहासमै नभएको विचित्र अवस्था सर्वोच्च अदालतमा देखियो । एमालेमा भने स्पष्टीकरण र निलम्बनको श्रृङ्खला चल्यो । ओली पक्षले नेपाल पक्षका नेता कार्यकर्तालाई पार्टी सदस्यताबाटै निलम्बनको निर्णय गर्‍यो । 

अन्ततः २०७८ असार २८ मा सर्वोच्चले संसद् पुनःस्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्‍यो । एमालेको नेपाल पक्षले साथ दिएकै कारण कांग्रेस सभापति देउवा प्रधानमन्त्री बने । 

गद्दारदेखि महाराजको उपाधिसम्म

असार २९ मा बालुवाटारबाट निजी निवास बाल्कोट पुगेका ओलीले आफ्नो घरको बार्दलीबाट माधव नेपाललाई गद्दार घोषित गरे । 

आफ्ना समर्थकलाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालजस्ता गद्दारलाई एमालेमा ठाउँ छैन । क्षमा दिन पनि सकिँदैन ।’

एमालेभित्रै ओलीको यो अभिव्यक्तिको विरोध भयो । तर, ओली रोकिएनन् । दोस्रो तहका नेताहरूले ओली र नेपालबीचको विवाद मिलाउने कोशिश गरिरहे ।

साउन ७ गते तुलसीलाल प्रतिष्ठानमा आयोजित ४२ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा ओलीले माधव नेपाल पक्षलाई ‘आममाफी’ दिने घोषणा गरे । ‘बाटो बिराएर गएकाहरू सच्चिएर आउँछन् भने एम्नेस्टी इज ग्रान्टेड’, ओलीले भनेका थिए ।

ओलीले भनेको आममाफी भन्ने शब्दावलीप्रति साउन ९ गते माधव नेपालले प्रतिवाद गरे । नेपालले भने, ‘महामहिम श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायत माननीय सदस्यहरूलाई जति पनि स्पष्टीकरण गरिएको छ, त्यसलाई आममाफी दिइन्छ । एमनेस्टी इज ग्रान्टेड ! हामी गद्गद् भयौं । महाराजधिराज कति खुसी भएछन्, हामीलाई आममाफी मिलेछ !’

आरोप प्रत्यारोपको श्रृङ्खला रोकिएन । साउन १६ गते एमालेको काठमाडौं जिल्ला कमिटी बैठकमा प्रमुख वक्ता भएर ओलीले माधव नेपाललाई देशद्रोही र आन्दोलन विरोधीको संज्ञा दिए । 

५० वर्ष सहयात्रा गरेका ओली र नेपालको सम्बन्ध पछिल्ला सात वर्ष निकै तिक्ततापूर्ण बन्यो । अहिले त उनीहरू एक अर्कालाई देख्नै नचाहने अवस्थामा पुगेका छन् । 

ओली र नेपालको झगडालाई स्वतन्त्र रूपमा नियालिरहेका आरके मैनाली भन्छन्, ‘ओली यति छिचरो छन् भन्ने लागेकै थिएन । ओलीको यस्तो पेलान र माधवको अहिलेको जस्तो अडान मैले कहिल्यै अड्कल नगरेको विषय हो ।’

तर, पार्टीभित्रको विवादको मूल कारण भने ओली नै रहेको मैनालीको आरोप छ ।

ओली–नेपालका सबल र दुर्बल पक्ष

वाकपटुता नै ओलीको सबैभन्दा बलियो गुण हो । आफ्नो कुरालाई स्थापित गर्ने गरी अभिव्यक्ति दिन सक्ने क्षमता उनको छ । आरके मैनाली र प्रदीप नेपाल ओलीको यो क्षमताको सह्राना गर्छन् । त्यसबाहेक, उनी गुट बनाउन र परिचालन गर्न पनि सिपालु छन् । ‘केपी ओली छिटो कुरा बुझ्छन् र अरूलाई चाँडै फुर्क्याउन पनि सक्छन् । यो उनको क्षमता हो’, नेपालले भने, ‘कसैलाई नटेर्ने र आफूलाई सही लागेपछि गलत कुरा पनि नछाड्ने उनको अवगुण हो ।’

आरके मैनाली भने ओलीमा प्रतिशोधको भावना धेरै भएको बताउँछन् । उनका अनुसार, ओली इख राख्छन् र पछिसम्म भए पनि प्रतिशोध लिन्छन् । 

२०४६ सालतिरको कुरा हो, ओली झापामा एमालेको जिल्ला सचिव थिए । पार्टीले उनलाई हटाएर सीपी मैनालीलाई सचिव बनायो । पहिलोपटक प्रधानमन्त्री हुँदा उनले त्यसको बदला लिए । 

‘त्यसबेला पार्टी सचिवमा विस्थापन गरेको बदला लिनकै लागि सीपीलाई ओलीले उपप्रधानमन्त्री बनाए । आफ्नो अन्डरमा राख्नका त्यसो गरेका हुन् । ओलीले त्यति पछिसम्म पनि बदला लिन्छन्’, प्रदीप नेपालले भने ।

माधव नेपाल भने पार्टी काममा निरन्तर खट्छन् । शुरूमा माधव नेपालले गुट नबनाएको प्रदीप नेपाल बताउँछन् । 

‘उनी आफैँ धेरै खट्छन् । काम पनि धेरै गरेका छन् । उनलाई सहयोग गर्नुपर्छ भनेर आफैँ अभिप्रेरित भएर साथीहरूले सहयोग गर्दै आएका थिए’, नेपालले भने, ‘कसैले व्यक्तिगत विषय लिएर गयो भने कहिल्यै राम्रो मान्दैनन् । समुदायको कुरा भए ल्याउनुस् भन्छन् ।’ 

तर, कोही रिसायो भने फकाउन नजाने माधव नेपालको स्वभाव छ । 

कहिल्यै थिएन हार्दिकता

केपी ओली र माधव नेपाललाई नजिकबाट चिन्नेहरू यी दुई नेताबीच कहिल्यै हार्दिकता नभएको बताउँछन् । दुई नेताले पाँच दशकको सहयात्रा गरे पनि सधैँ औपचारिक सम्बन्ध मात्रै रह्यो । राजनीतिक लेनदेन र हिसाब किताबमा उनीहरूको सम्बन्ध रह्यो । व्यक्तिगत दुःख–सुख र पारिवारिक विषयमा दुई नेताको कहिल्यै कुराकानी नै भएन । 

‘दुःख–सुख साट्नका लागि अनौपचारिक सम्बन्ध हुनुपर्छ । ओली र नेपालको कहिल्यै अनौपचारिक सम्बन्ध भएन’, दुवैलाई नजिकबाट चिनेका प्रदीप नेपाल भन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्