
काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१ ओखरबोटका किसान कान्छी सापकोटाको पाँच रोपनी बारीको मकै बँदेलले नष्ट गरिदियो । मकै सखाप पारेपछि हातमुख जोर्ने चिन्ताले उनलाई सताएको छ । ‘पाक्न लागेको सबै मकै बँदेलले एकै रातमा खाएर र बोट भाँचिदिएर सखाप पारिदियो, अब त हातमुख जोर्न धौधौ पर्छ’, सापकोटाको गुनासो थियो ।
उनको मात्र होइन, गाउँका नानीराम सापकोटालगायत अधिकांशका बारीको मकै सखाप भएको छ । कान्छीले भनिन्, ‘वन नजिकै रहेका सबै बारीका मकै बँदेलले नष्ट गरेको छ, जंगली जनावरका कारण बाली जोगाउन निकै मुस्किल भएको छ ।’ उनका अनुसार जोगिएको बाली बचाउन गाउँले प्रयासरत रहे पनि बँदेलले आक्रमण गर्ने भएकाले कोही पनि बारीमा पस्न सकेका छैनन् ।
अहिले वडा नं १, २, ३ र ५ का बासिन्दाले वन्यजन्तुबाट भएको क्षति व्यहोर्नुपरेको छ ।
‘बँदेलले दिउँसै पनि मकै खाइदिएको छ,’ वडा नम्बर ५ की बिमला तिमल्सिनाले भनिन् ।
बेथानचोक गाउँपालिकाको सबै क्षेत्रमा बँदेल र दुम्सीले बालीमा क्षति पुर्याएको स्थानीय कृषक नवराज तिमल्सिनाले बताए । केही स्थानका किसान अन्नबाली जोगाउन रातभर आलोपालो कुरुवा बस्न थालेको उनको भनाइ छ ।
गत साउनको अन्तिम साता मण्डनदेउपुर नपा–१ नगरकोटस्थित हलेदेमा बँदेलले सयौँ रोपनी बारीको मकै सखाप पारेकाले जोगाउन रातभर आलोपालो कुरुवा बस्नुपरेको त्यहाँका बासिन्दाले बताए ।
पीडित किसानले बँदेल नियन्त्रणका लागि नगरपालिका जिल्ला प्रशासन कार्यालय र वन कार्यालयमा जानकारी गराउनुका साथै बाली जोगाउन पनि माग गरेका छन् ।
नगर उपप्रमुख निर्मला शाहीले स्थानीयवासीलाई क्षतिपूर्ति दिलाउन पहल भइरहेको र वन्यजन्तुको अतिक्रमण रोक्नका लागि सरोकारवाला निकायसँग छलफल गरिने बताइन् ।
डिभिजन वन कार्यालयका अधिकृत देवीचन्द्र पोखरेलले जिल्लाका अधिकांश वनमा आवश्यकभन्दा बढी बँदेल भइसकेकाले किसान र वन्यजन्तुबीच द्वन्द्व बढ्ने गरेको बताए । ‘वन्यजन्तुलाई सीमित गर्न नीतिमै परिवर्तन नभएसम्म तिनको अतिक्रमण न्यूनीकरण गर्न सकिन्न,’ उनले भने, ‘कार्यालयसँग वन्यजन्तु न्यूनीकरणका लागि कुनै योजना नभए पनि प्रावधानअनुसार क्षतिपूर्ति दिने काम भने भइरहेको छ ।’
कार्यालयका अनुसार १२ वर्षयता जिल्लामा जंगली जनावरको आक्रमणबाट १४ को मृत्यु र पाँच घाइते भएका थिए । गत आर्थिक वर्षमा १४१ जनालाई अन्नबाली र चौपायामा पुगेको क्षतिबापत १३ लाख रूपैयाँ बराबरको राहत उपलब्ध गराइएको थियो ।