०१ असार २०८३, सोमबार

वन्यजन्तुबाट बाली जोगाउन आलोपालो कुरुवा बस्छन् स्थानीय

भदौ ६, २०७८
वन्यजन्तुबाट बाली जोगाउन आलोपालो कुरुवा बस्छन् स्थानीय
सांकेतिक तस्वीर।

काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१ ओखरबोटका किसान कान्छी सापकोटाको पाँच रोपनी बारीको मकै बँदेलले नष्ट गरिदियो । मकै सखाप पारेपछि हातमुख जोर्ने चिन्ताले उनलाई  सताएको छ । ‘पाक्न लागेको सबै मकै बँदेलले एकै रातमा खाएर र बोट भाँचिदिएर सखाप पारिदियो, अब त हातमुख जोर्न धौधौ पर्छ’, सापकोटाको गुनासो थियो ।

उनको मात्र होइन,  गाउँका नानीराम सापकोटालगायत अधिकांशका बारीको मकै सखाप भएको छ । कान्छीले  भनिन्, ‘वन नजिकै रहेका सबै बारीका मकै बँदेलले नष्ट गरेको छ, जंगली जनावरका कारण बाली जोगाउन निकै मुस्किल भएको छ ।’ उनका अनुसार जोगिएको बाली बचाउन गाउँले प्रयासरत रहे पनि बँदेलले आक्रमण गर्ने भएकाले कोही पनि बारीमा पस्न सकेका छैनन् । 

अहिले वडा नं १, २, ३ र ५ का बासिन्दाले वन्यजन्तुबाट भएको क्षति व्यहोर्नुपरेको छ । 

‘बँदेलले दिउँसै  पनि मकै खाइदिएको छ,’ वडा नम्बर ५ की बिमला तिमल्सिनाले भनिन् । 

बेथानचोक गाउँपालिकाको सबै क्षेत्रमा बँदेल र दुम्सीले बालीमा क्षति पुर्‍याएको स्थानीय कृषक नवराज तिमल्सिनाले बताए । केही स्थानका किसान अन्नबाली जोगाउन रातभर आलोपालो कुरुवा बस्न थालेको उनको भनाइ छ । 

गत साउनको अन्तिम साता मण्डनदेउपुर नपा–१ नगरकोटस्थित हलेदेमा बँदेलले सयौँ रोपनी बारीको मकै सखाप पारेकाले जोगाउन रातभर आलोपालो कुरुवा बस्नुपरेको त्यहाँका बासिन्दाले बताए ।  

पीडित किसानले बँदेल नियन्त्रणका लागि नगरपालिका जिल्ला प्रशासन कार्यालय र वन कार्यालयमा जानकारी गराउनुका साथै बाली जोगाउन पनि माग गरेका छन् । 

नगर उपप्रमुख निर्मला शाहीले स्थानीयवासीलाई क्षतिपूर्ति दिलाउन पहल भइरहेको र वन्यजन्तुको अतिक्रमण रोक्नका लागि सरोकारवाला निकायसँग छलफल गरिने बताइन् । 

डिभिजन वन कार्यालयका अधिकृत देवीचन्द्र पोखरेलले जिल्लाका अधिकांश वनमा आवश्यकभन्दा बढी बँदेल भइसकेकाले किसान र वन्यजन्तुबीच द्वन्द्व बढ्ने गरेको बताए । ‘वन्यजन्तुलाई सीमित गर्न नीतिमै परिवर्तन नभएसम्म तिनको अतिक्रमण  न्यूनीकरण गर्न सकिन्न,’ उनले भने, ‘कार्यालयसँग वन्यजन्तु न्यूनीकरणका लागि कुनै योजना नभए पनि प्रावधानअनुसार क्षतिपूर्ति दिने काम भने भइरहेको छ ।’

कार्यालयका अनुसार १२ वर्षयता जिल्लामा जंगली जनावरको आक्रमणबाट १४ को मृत्यु र पाँच घाइते भएका थिए । गत आर्थिक वर्षमा १४१ जनालाई अन्नबाली र चौपायामा पुगेको क्षतिबापत १३ लाख रूपैयाँ बराबरको राहत उपलब्ध गराइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्