
कालीकोटको खाँडाचक्र नगरपालिकाले नगर क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ ।
सोमवारदेखि सामुदायिक, संस्थागत विद्यालयसहित बाल विकास केन्द्र सञ्चालनमा आएका हुन् ।
जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख जसीप्रसाद चौलागाईंले जानकारी दिए ।
समितिले कोभिडको जोखिम कम रहेका स्थानीय तहमा विद्यालय सञ्चालनका लागि निर्देशन दिएको थियो । ‘नगरपालिकाका सबै वडामा विद्यालय सञ्चालन गर्नका लागि परिपत्र गरेका छौं । जनस्वास्थ्य मापदण्ड पूर्ण पालना गरी विद्यालय सञ्चालन गर्न पत्र पठाएको छ,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका छन् ।’
यसअघि नरहरिनाथ र पचाल झरना गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए । जिल्लाका ९ स्थानीय तहमध्ये ३ तहले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको र अन्यले तयारी गरेको जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुख महेश देवकोटाले जानकारी दिए ।
‘जिल्लाका सबै स्थानीय तहले कोभिड–१९ को महामारी अवस्था हेरेर विद्यालय सञ्चालन गर्नका लागि निर्देशन दिएका छौं,’ उनले भने, ‘त्यही आधारमा विद्यालय सञ्चालनमा आउने छन् ।’
विद्यालयमा स्यानिटाइजर र मास्क अनिवार्य गरिएको छ ।
‘विद्यार्थी अहिले गोठालो र मेलापातमा जाने क्रम बढेको छ,’ उनले भने, ‘विद्यालय सञ्चालनमा आएको भए विद्यार्थी स्कूल गएर केही ज्ञान त सिक्न पाउँथे ।’