२७ असार २०८३, शनिबार

हराएको ३३ वर्षपछि स्वदेश फर्किन पाउँदा डंगौरा खुशी

भदौ १९, २०७८
हराएको ३३ वर्षपछि स्वदेश फर्किन पाउँदा डंगौरा खुशी

कैलालीको जानकी गाउँपालिका–७ टिकलीगढका लोकुन डंगौरा थारुको जीवन ३३ वर्षसम्म अन्धकारमा बित्यो । जवानी छँदा सुखी जीवनको सपना बुन्दै ३३ वर्ष अगाडि डंगौरा रोजगारी खोज्दै भारतको सिमला गए नाबालक छोरासहित परिवार छाडेर ।

निरक्षरका साथै मानसिक बिरामी समेत रहेका उनी स्वदेश फर्किनै सकेनन् । भारतमै हराइरहे । 

यता परिवारजनको बिचल्ली भयो । नाबालक छोरा रामबहादुर चौधरीलाई छाडेर पत्नी पोइल गइन्, परिवारै उजाडियो ।

२९ वर्षको उमेरमा घरबाट निस्केका उनी हाल ६२ वर्षका भए । जीवनको लामो समय भौतारिएका उनी घर फर्किएका छन् । प्रहरीको सहयोगमा भदौ १७ गते उनी घर फर्किएका छन् ।

हाल उनका छोरा रामबहादुर ३८ वर्षका छन्, रामबहादुरका २ सन्तान छन् । 

बुवा र आमाको माया र ममताबाट वञ्चित भएका उनी सानैदेखि गोठाला बने । उमेर बढ्दै गएपछि जमिनदारको घरमा कमैया बसे । १८–१९ वर्ष कमैया बसेको बताउने रामबहादुर कमैया मुक्तिपछि जन्म स्थान टिकलीगढ फर्केको सुनाउँछन् । पछि टीकापुर नगरपालिका–१ शक्तिनगर मुक्तिकमैया शिविरमा पुनःस्थापना भएको बताउँदै बुवा बेपत्ता भएपछि जीवनको लामो समय निकै कष्टकर जीवन बिताएको रामबहादुर बताउँछन् तर बुवासँगको भेटपछि उनी निकै हर्षित भएका छन् ।

रामबहादुर भन्छन्, ‘अभिभावक नहुँदाको पीडा कति हुन्छ, मलाई थाहा छ । लामो समयपछि पनि हराइरहेका बुवा पाउँदा धैरै खुशी छु । मैले त आशा मारिसकेको थिए । आज हाम्रो पारिवारिक पुनर्मिलन भएको छ । यो पुनर्मिलन गराइदिएकोमा नेपाल प्रहरीप्रति आभारी छु ।’ 

प्रहरीको प्रयास

कामको सिलसिलामा भारतको सिमला गएदेखि बेपत्ता अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भएपश्चात प्रहरी डंगौराको खोजीमा थियो । भदौ ९ गते प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले तालुक गृह मन्त्रालयबाट डंगौरा भारतको बिहारमा फेला परेको र निजले आफ्नो ठेगाना कैलाली जिल्ला रहेको पत्ता लगायो ।

तत्काल भारतीय पक्षसँग समन्वय गरी उद्दार गर्न प्रहरीले पहल थाल्यो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले डंगौरालाई फेला पार्ने भारतको बिहार राज्यको गया जिल्ला बाराचट्टी बस्ने सन्दिप यादवमार्फत सम्पर्क गर्‍यो ।

प्रहरी उपरीक्षक अधिकारीले भने, ‘हालको अवस्थामा लोकुन डंगौरा थारु सबै कुरा स्मरण गर्न र अभिव्यक्त गर्न सक्ने अवस्थामा नरहे तापनि निजसँग भिडियो च्याटमा कुराकानी गर्दा निजले आफ्नो घर टीकापुरको मुनुवा आसपास भएको बताउनुभयो । यता निजको फोटोसहित गाउँघरमा निजको घर तथा आफन्तजन पत्ता लगाउन ईलाका प्रहरी कार्यालयबाट समेत प्रहरी परिचालन गरेका थियौं ।’   

प्रहरी उपरीक्षक अधिकारीका अनुसार २५ अगस्त (भदौ ९ गते) गया जिल्ला बाराचट्टी बस्ने यादवले डंगौरालाई गयास्थित नेसनल हाईवेमा फेला पारेका थिए । पछि आफ्नो घरमा ल्याई सोधखोज गरी नेपालमा सम्पर्क गरेका थिए तर निज १० गते बिहान त्यहाँबाट निस्की हिँडेकोमा सन्दिप यादवले पुनः खोजतलास गरी आफ्नो घरमा राखेका थिए ।

यता जिल्ला प्रहरी कार्यालय कैलालीले डंगौराको घर, ठेगाना र आफन्तको यकिन गरेपछि भारतीय प्रहरी र सन्दिप यादवको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्सामा हस्तान्तरण गरिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्सामा डंगौराका छोरा रामबहादुर तथा प्रहरीलाई पठाई कैलाली ल्याइएको छ ।

कैलाली प्रहरीले डंगौरालाई उनका छोरा रामबहादुर चौधरीको जिम्मा लगाइ पारिवारिक पुनर्मिलन गरिएको छ ।
 
घर फर्किएपछि डंगौरा निकै खुशी भएका छन् । मानसिक बिरामी र भौतारिँदै बेपत्ता भएका उनले जीवनको उत्तराद्र्धमा नयाँ जीवन पाएका छन् । जन्म दिने अभिभावक, ज्येष्ठ नागरिक भगवानकै रूप रहेको डंगौराका छोरा रामबहादुर चौधरीको सुखानुभूति छ ।

salt training

कमेन्ट गर्नुहोस्