
गैरआवासीय नेपाली संघले उत्पादन गर्न लागेको सांगीतिक कार्यक्रम ‘एनआरएन द सिंगर’लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ ।
दुवै पक्षबीच ‘शो’ प्रसारण गर्न सम्झौता गरिएको छ ।
कार्यक्रम आगामी नोभेम्बरदेखि हरेक शुक्रवार राति ९ देखि १० बजेसम्म प्रसारण गरिने सम्झौतामा उल्लेख छ ।
आयोजकका अनुसार प्रतियोगिताको फाइनल कार्यक्रम काठमाडौंमै हुनेछ र त्यसको प्रत्यक्ष प्रसारण पनि कान्तिपुर टेलिभिजनबाटै हुनेछ ।
एनआरएनए आईसीसीअन्तर्गत संस्कृति तथा सम्पदा उपसमितिले डायस्पोराका नेपालीभाषी अग्रज र अनुजका स्वर प्रतिभाको पहिचान गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो ‘एनआरएन द सिंगर’ शुरू गरेको हो ।
संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले ‘प्रि–अडिसन’ तयारी लगभग सकिएको बताए । गत जुन २७ देखि ‘प्रि अडिसन’ खुला गरिएको थियो ।
कोरोना महामारीका कारण ‘भर्चुअल अडिसन’ पठाउन आग्रह गरिएको एनआरएनए आइसीसीको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले बताए ।
दक्षिण एशियाबाहेक विश्वभर छरिएर रहेका सबै नेपाली भाषीले यो प्रतियोगितामा भाग लिन पाउनेछन् । ‘खोजीः एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने रहेका छन् ।