सन्दर्भ: लीलामणिको भाइरल अभिव्यक्ति

लीलामणिले फरक देखेको माओवादी र प्रचण्डले सकारेको यथार्थ

‘परिवर्तनको संवाहक माओवादी अहिले रुग्ण घर बनेको छ’

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

लीलामणिले फरक देखेको माओवादी र प्रचण्डले सकारेको यथार्थ

नेपाल सरकारका पूर्व मुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत भइसकेका लीलामणि पौडेलले गृहजिल्ला गुल्मीमा केही दिन पहिले माओवादी भातृ संगठन वाईसीएलको प्रशिक्षण भेलामा दिएको मन्तव्यलाई लिएर अहिले विभिन्न टीकाटिप्पणी भइरहेको छ । 


Advertisement

माओवादीप्रति विगतमा उनको हल्का ‘झुकाव’ रहेपनि अहिले आएर उनले एमालेभन्दा माओवादी फरक भनेर दिएको मन्तव्यले सामाजिक सञ्जालमा तहल्का पिटेको छ । 


Advertisement

‘यो व्यवस्था कसले ल्याएको हो ? यसको वकालत गर्ने को हो ? त्यो माओवादी केन्द्र हो । पछाडि परेको वर्ग र जातिलाई राज्यको मूलप्रवाह स्थापित गर्न लड्यो । माओवादी वामपन्थी शक्ति हो, रुपान्तरणको एजेन्डा बोक्ने शक्ति पनि हो । एमाले र माओवादी उस्तै–उस्तै हो, जता गए पनि भयो नि होइन ? भन्ने लाग्ला । फरक छन्, राज्यप्रणालीको वकालत गर्ने प्रक्रियामा फरक छ । सबैभन्दा धेरै कुप्रचार त यहीँ भएको छ । राज्य सत्तासँग पौँठेजोरी खेलेर हामी विकास निर्माण गरेर काम गर्ने । दाबी उनीहरूले गर्ने । तपाईंहरू त्यही पत्याइदिने । काम गर्ने कालु, मकै खाने भालु भनेजस्तै भयो,’पौड्यालले भनेका थिए ।

लीलामणिले बोलिदिएको त्यो बोली माओवादी आन्दोलनमा लागेर अहिले रक्षात्मक बनेकाहरूका लागि ‘सञ्जीवनी बुटी’ जस्तै भएको छ । 


Advertisement

एकथरी तप्का चाहिँ लीलामणिले माओवादीको प्रशंशा गरेकोमा रोइलो गरिरहेका छन् । फरक यत्ति हो, अहिले सरकारले फिर्ता बोलाएका वा विगतमा राजदूत बनेका पनि ‘होलटाइमर’ कार्यकर्ता हुन् ।

पार्टीको झण्डा उचालेर राजदूत बन्नु हुने तर लीलामणिले माओवादीको प्रशंसा गर्नु अपराध हो जसरी सामाजिक सञ्जालमा टीकाटिप्प्णी भइरहेको छ । कोही व्यक्तिले कुनै राजनीतिक दलको समर्थन गर्नु उसको स्वतन्त्रता हो । किन्तु, यो टिप्पणी न लीलामणिको बचाउमा लेखिएको हो, न उनको आलोचनामा । 

लीलामणि खरो स्वभावका प्रशासक हुन् । निजामती सेवाको उच्च ओहोदामा पुग्दा पनि उनले आफ्नो रवाफ देखाएनन् । मुख्यसचिव रहेको समयमा उनी दशैंको समयमा सरकारी गाडी प्रयोग गरेनन् ।

भाडाको गाडीमा घर जाने आउने गर्दथे । गाउँमा गएको समयमा पनि उनले शहरबाट गाउँ गएका ‘सुकिला मुकिला’लाई आफ्ना छोराछोरीलाई खेत बारीमा लगेर काम सिकाउन सुझाव दिन्थे । मन्त्रीस्तरको सुविधासहित राजदूत बनेका पौड्याल जिम्मेवारीबाट फिर्ता भएको केही दिनमै गुल्मीको बलेटक्सारमा गएर बारी खनेको र खेतमा धान रोपेका दृष्य सामाजिक सञ्जालमा चर्चित भएकै हुन् । 

उनी फोटो खिचाउनका लागि बनावटी रूपमा किसान बनेका होइनन्, जसरी असार १५ को दिनमा टाइ सर्ट लगाएर खेतमा पस्ने फेसन शुरू भएको छ । खास किसानको छोराको रूपमै उनी खेतबारीमा काम गर्छन । सस्तो प्रचारभन्दा पनि खेती किसानी गर्नेहरूलाई प्रोत्साहनका लागि उनी किसानको भेषमा देखिन्छन्, खेतमा जाँदा उनले लगाएको पोशाकले त्यही भन्छ । 

मुख्यसचिवको जिम्मेवारीमा रहेको समयमा उनले थालेको बागमती सफाइ एउटा महाअभियान हो । देशको मुख्यसचिव आफैँ बागमतीको ढल सफा गर्न खोलामा पसेको यो एकप्रकारको मुर्खता जस्तै थियो । दशकौं पहिला जस्तो बागमती कञ्चन भएको त छैन, तर ढल बग्न छाडेको छ । बागमतीमा जे जस्तो सुधार भएको छ, त्यसको श्रेय पौडेललाई दिइएन भने अन्याय हुन्छ । 

सामान्यतया यत्तिको पहुँचमा पुगेका व्यक्ति नेताको घरदैलो धाइरहेका हुन्छन्, त्यसको साटो उनी गाउँमा खेतबारीमा कोदालो खन्दै गाउँमै राजनीतिक प्रशिक्षणमा लागेका छन् । पौडेलको त्यो भनाइलाई लिएर उनी सक्रिय राजनीतिमा आउने हुन् कि भन्ने आकलन पनि भइरहेको छ । 

सक्रिय राजनीतिमा आएर गुल्मी क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव लड्न पौडेलका लागि त्यति सहज छैन । एमालेको गढ मानिएको सो निर्वाचन क्षेत्रमा २०४८ र २०७० बाहेक प्राय नेकपा एमालेले चुनाव जित्दै आएको छ । राष्ट्रिय राजनीतिमा स्थापित प्रदीप ज्ञवाली र चन्द्र भण्डारी जस्ता हस्ती आगामी प्रतिनिधि सभा निर्वाचनमा पनि उम्मेदवार हुन् । 

त्यसैले उनी सक्रिय राजनीतिमा आएपनि गुल्मीबाटै चुनावमा उठ्ने सम्भावना क्षीण मात्र हो ।

माओवादीप्रति लीलामणिको मूल्याङ्कन

जतिबेला लीलामणिले माओवादी पार्टीको प्रशंशा गरिरहेका थिए, त्यही बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने काभ्रेमा पुगेर आफू बिग्रिएको साबिती दिँदै थिए । विगतमा कार्यकर्तालाई बिग्रिएको आरोप लगाउने गरेका प्रचण्डले त्यो दिन अरू होइन आफैँ बिग्रिएको र अब सच्चिने दाबी कार्यकर्तामाझ गरिरहरेका थिए । 

अहिलेको माओवादी पार्टी लीलामणिले भनेजस्तो प्रशंसा गर्न योग्य छ, छैन बहसको विषय हो । तर नेपालमा गणतन्त्र स्थापनाका लागि माओवादीले गरेको योगदानलाई कसैले अवमूल्यन गर्न सक्दैन । 

एमालेभन्दा माओवादी गतिलो हो, होइन यसको मूल्यांकन जनताले चुनावमा गरिरहेका छन्, गरिरहने छन् । लीलामणिले भनेको आंशिक सत्य के हो भने नेपालमा गणतन्त्र स्थापनाको शंखघोष गरेको माओवादीले नै हो । जतिबेला माओवादीहरू गणतन्त्रको नारा लगाइरहेका थिए, कांग्रेस एमालेहरू ‘संवैधानिक राजतन्त्र’को विकल्प खोज्ने निष्कर्षमा पुगिसकेका थिएनन् ।  

यति ठूलो राजनीतिक परिवर्तनको अगुवाइ गरेको माओवादी आन्दोलन छिन्नभिन्न अवस्थामा छ । २०६३ सालमा शान्ति प्रक्रियामा आएपछि उस्तै ड्रेस लगाएर हिँड्ने माओवादी नेताहरू अलग–अलग कित्तामा पुगिसकेका छन् । करीब–करीब एक अर्काका दुस्मन जस्ता । परिवर्तनको त्यो आन्दोलनमा निस्वार्थ लडेकाहरू कोही अरबको खाडीमा भौँतारिइरहेका छन्, कोही गाउँमा बाँझो बारी खनजोत गरिरहेका छन् । 

२०६४ सालको संविधान सभा निर्वाचनमा अप्रत्यासित रूपमा माओवादीले हासिल गरेको माओवादीको उभार देखेर त्यो बेला कांग्रेस र एमाले शासकीय स्वरूपको विषयमा छलफल गर्न हिच्किचाएका थिए । माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको शासकीय प्रणाली प्रस्ताव गर्दा ‘प्रचण्ड’लाई २५ वर्ष झेल्न सकिँदैन भनेर कांग्रेस र एमाले सांसदहरू यो प्रस्तावमा छलफल गर्न तयार भएनन् । 

२०७० सालको संविधानसभा निर्वाचनमा आइपुग्दा त्यो जाज्वल्यमान माओवादी प्रत्यक्षतर्फको १२० सीटबाट २६ मा झर्‍यो । यसको दोष पनि प्रचण्डले नेता कार्यकर्ता सुविधाभोगी र शहरमुखी भएको भनेर लगाए । त्यो बेलादेखि नै हो, प्रचण्डले पार्टीमा समस्या रहेको स्वीकार्दै अब सुध्रिने बताउँदै आएको छ । 

तर, प्रचण्डले दाबी गरेजस्तो ‘शाही ठाँटबाँट’बाट सुध्रिने सम्भावना भने कमै छ । सिद्धान्त र आदर्शको राजनीति नेपालबाट लगभग समाप्त भइसकेको छ । 

किन बिग्रियो त माओवादी ? 

गएको विश्व वातावरण दिवसका दिन माओवादीका एक मामुली कार्यकर्ताले फेसबूक वालमा आफ्नो घरको भीमकाय कम्पाउन्डमा वृक्षारोपण गरेको तस्वीर पोस्ट गरे ।

कुनै पेशा, व्यवसाय र पुख्र्यौली सम्पत्ति नभएका ती कमरेडले वृक्षारोपण गर्ने खालको घरजग्गा कसरी जोडे काठमाडौंमा ? यो एक उदाहरण हो । केन्द्रीय कमिटी बैठक बसेको समयमा पेरिसडाँडामा पुग्ने हो भने सर्वहारा कम्युनिस्ट पार्टीका नेताहरूका विलासी कार हेरे पुग्छ, माओवादी किन बिग्रियो भन्ने कुराको जवाफ जान्न ।

माओवादीका शीर्ष नेता जसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्छन्, जसले अमेरिकालाई साम्राज्यवादी भनेर दिनमा १७ पटक उच्चारण गर्छन्, उसको हातमा अमेरिकामा बनेको एप्पलको मोबाइल र महंगा घडी छन् । उनीहरूलाई ब्रान्डेड ह्वीस्की चाहिन्छ । शहरका सुविधा सम्पन्न भिल्ला र फ्ल्याटमा बस्नुपर्छ । सरकारी होइन शहरका महंगा स्कूलमा उनीहरूका बालबच्चा पढ्नुपर्छ ।

सामान्य उपचारका लागि सरकारी अस्पताल होइन सर्वाधिक महंगा अस्पतालमा पुग्नुपर्छ । सर्वहारा वर्गका लागि राजनीति गर्छु भन्नु र उपयुक्त व्यवहारबीच विरोधाभास देखिन्छ । 

पहिलो संविधानसभाको कार्यकाल (२०६५–०६८)मा व्यवस्थापिका संसद्को प्राकृतिक स्रोत साधन समिति बैठकमा ‘सुकिला कपडा लगाउने ? महंगा टिभी र मोटरसाइकल भएका पनि कहीँ सुकुम्बासी हुन्छन ?’ भनेर कांग्रेसका सांसदले प्रश्न गर्दा तत्कालीन सभापति शान्ता चौधरी बैठकको अध्यक्षता गरेको समयमै धुरुधुरु रोएकी थिइन् । यो उदाहरण माओवादीको सदस्यले एप्पलको आइफोन बोक्न नहुने ? महंगा गाडी चढ्न नहुने हो र भनेर प्रश्न गर्नेहरूका लागि हो । 

मिल्दैन, यदि उनीहरू सर्वहारा वर्गका लागि राजनीति गर्छन् भने । होइन, उनीहरूको नाममा राजनीति गर्ने हो भने त क्यासिनो चलाएर बसेपनि कसैले प्रश्न गर्ने कुरा भएन । 

माओवादी सच्चिनुको अर्थ मोहन वैद्य जस्ता निष्ठावान र आदर्श नेताहरू अट्ने पार्टी हो । वैद्य लगायतको समूह जनताको भएन ‘प्रचण्डको मात्र वर्गउत्थान’ भयो भन्दै छुट्टिएका हिँडेका थिए । राज्यबाट पछाडि पारिएको र अवसर नपाएको तप्का अहिले पनि माओवादीप्रति ‘सहानुभूति’ राख्छ । तर यति ठूलो क्रान्ति गरेको पार्टी अहिले बसाइँसराइ गरेर रुग्ण बनेको घर जस्तै बनेको छ । 

के प्रचण्ड र माओवादीले २०६४ सालको जस्तै साख फर्काउन सक्लान् ? धेरै कठिन छ । प्रचण्ड लगायत माओवादी पूरै सुध्रिन अब कठिन छ । तर सापेक्षिक रुपमा आचरण सुधार्न सम्भव छ । सुध्रिन्छु भनेका प्रचण्ड के कुनै व्यापारीले प्रायोजन गरिदिएको वैवाहिक वर्षगाँठको भोज त्याग्न तयार हुन्छन् ? किसानका लागि रासायनिक मल नल्याएबापत ‘कालो सूची’मा परेका ठेकेदारले दिएको घर त्याग्न तयार हुन्छन् ? विचौलियाको घेराबाट बाहिर आएर जनताको पक्षमा, सुशासनको पक्षमा आफूलाई सतिसाल जस्तै उभ्याउन राजी हुन्छन् ? कठिनै छ । 

‘बिग्रिएको मै हो, अब सच्चिन्छु’ भनेर भाषण गर्दैमा अहिलेका बाठा जनताले त्यति सजिलै पत्याउँछन् जस्तो लाग्दैन । अन्यथा, लीलामणि पौडेल जस्ता व्यक्तिले सुभेक्षा प्रकट गरेपनि प्रचण्डले बेलाबखत ‘माओवादी पार्टी विघटनको’ घुर्की लगाउने र ‘अब सुध्रिन्छु’ भनिरहने छन् । 

सुशील पन्त
सुशील पन्त

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्