१३ असार २०८३, शनिबार

दार्चुलाबाट ३७९ किलो यार्सागुम्बा निकासी

असोज १०, २०७८
दार्चुलाबाट ३७९ किलो यार्सागुम्बा निकासी

यो वर्ष ३७९ किलोग्राम यार्सागुम्बा दार्चुलाबाट निकासी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार व्यापारीले छुटपूर्जी बनाएर यार्सागुम्बा काठमाडौँ निकासी गरेका हुन् ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरका अनुसार कार्यालयले यो यार्सागुम्बा व्यवस्थापन ९संकलन तथा ओसारपसार० निर्देशिकाअनुसार यो वर्ष आठ क्विन्टल बढी यार्सागुम्बाको निकासी अनुमति दिनेछ ।

यार्सागुम्बा निकासीबापत अपि नाम्पा संरक्षण क्षेत्रले प्रतिकिलो ३० हजार दरले राजस्व उठाउने गरेको छ । अहिलेसम्म कार्यालयले यार्सागुम्बा निकासीवापत ८३ लाख ७० हजार राजस्व संकलन गरेको उनले बताए । 

व्यापारीको यो वर्ष खरिद गरिएको यार्सागुम्बा अझै बिक्री हुन बाँकी छ । गत असारदेखि खरिद गरिएको यार्सागुम्बा व्यापारीले निकासी गरेका छैनन् । ‘यार्सागुम्बा खरिद महँगोमा गरिएको छ तर अहिले मूल्य घटेका कारण पनि यार्सागुम्बा बिक्रीका लागि काठमाडौं लगेका छैनौँ,’ व्यापारी धनसिंह जागरीले भने, ‘अहिले जिल्लामै स्थानीयवासीबाट संकलनको काम भइरहेको छ ।’

अहिले यार्सागुम्बाको गुणस्तर अनुसार प्रतिकिलो ९ लाखदेखि २० लाख मूल्य पुगेको छ । व्यापारीले यार्सागुम्बा ग्रेडका आधारमा बिक्री गर्ने गर्छन् । 

व्यापारीले अहिले दार्चुला र भारतको धारचुलालगायत क्षेत्रमा यार्सागुम्बा स‌ंकलन गरिरहेका छन् । यार्सागुम्बा खरीदका लागि विभिन्न क्षेत्रबाट व्यापारी सदरमुकाम खलंगामा महिनौं दिनदेखि बसेका छन् । भारतबाट व्यापारीले लुकाइछिपाइ नेपाल यार्सागुम्बा भित्र्याउने गर्छन् । नेपालमा मात्रै उत्पादन कम हुने गरेका कारण व्यापारीले भारतबाट नेपाल यार्सागुम्बा भित्र्याउने गरेको व्यापारी बताउँछन् । 

दार्चुलाका अपी हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोतका रुपमा यार्सागुम्बा र जडीबुटी हो । जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ । रासस

कमेन्ट गर्नुहोस्