०७ असार २०८३, आइतबार

मिथिलाका शक्ति पीठमा खोंइछ भर्ने तथा प्रसाद चढाउनेको भीड

असोज २७, २०७८
मिथिलाका शक्ति पीठमा खोंइछ भर्ने तथा प्रसाद चढाउनेको भीड

जनकपुरधामको शक्ति पीठहरूमा खोंइछ भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । 

राजा जनकको कूलदेवीका रूपमा चिनिने जनकपुरको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिर, धनुषा रमदैयास्थित राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर र कंकालिनी मन्दिरलगायत शक्तिपीठमा बुधवार बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको हो । 

सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मिथालानीहरू खोंइँछ भर्ने गर्छन् । मिथिलामा माता दुर्गाको ‘खोंइछ’ भर्ने विधि निकै पौराणिक हो ।

सप्तमीको साँझदेखि नै मिथिलानीहरूले ‘खोंइछ’ भर्ने गर्दछन् । यस वर्ष तिथिको हेरफेरले गर्दा सप्तमी, अष्टमी र कतिपयले अष्टमीको राति १२ बजेपछि ‘खोंइछ’ भर्ने पण्डितहरू बताउँछन् । 

मिथिलामा छोरी घरबाट बाहिरिँदा उनलाई ‘खोंइछ’ दिने गरिन्छ । ‘खोंइछ’मा पान, सुपारी, पैसा, धान वा चामल, सिन्दूर, बेसार, फूल र फल राखेर नयाँ कपडामा बाँधेर छोरीलाई दिने चलन छ । ‘खोंइछ’ भर्दा धनधान्यको प्राप्ति हुने र घरपरिवारमा सुखशान्ति हुने जनविश्वास रहेअनुसार मिथिलानीहरू दुर्गामाताको खोंइछ भर्ने गर्दछन् ।

खोंइछ भर्नका लागि हजारौंको संख्यामा महिलाहरू राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोक लगायतका स्थानमा खोंइछ भरिरहेका छन् ।

प्रसाद चढाउनका लागि मंगलवार राति ११ बजेदेखि नै ठूलो लाइन लागेको छ । राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोंइछ भर्न महिलाहरूको भीड लाग्छ । जनकपुरमा आज रातिदेखि बलि दिने भएको छ । त्यसका लागि नेपालसहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालु भक्तजनहरु बोका बलिका लागि जनकपुर जाने गरेका छन् ।

प्रत्येक वर्ष राजदेवी मन्दिरमा मात्र हजारौंको संख्यामा बलि प्रदान हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्