संस्कृति

दशैंको विजयपछि युद्धको झल्को दिने ‘सराय नाच’

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

दशैंको विजयपछि युद्धको झल्को दिने ‘सराय नाच’

बडादशैंको अवसरमा देवीका शक्तिपीठमा हतियार जुधाएर सराय नाच नाच्ने गरिन्छ । सराय नाचको लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा विशेष महत्त्व छ ।


Advertisement

दानव (राक्षस) माथि देवताले विजयी हाँसिल गरेपछि त्यसको खुशीयालीमा सराय नाच नाचिने जनविश्वास रहिआएको छ ।


Advertisement

लुम्बिनी प्रदेशका विषेशगरी पहाडी जिल्लाहरू गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठानमा सराय नाच प्रसिद्ध छ । दशैंको टीकाको भोलिपल्ट एकादशीको दिनदेखि कोजागत पूर्णिमासम्म शक्तिपीठहरूमा सराय नाचिन्छ । दूर्गा र कालिका मन्दिरमा दशैसँगै सराय नाचको विशेष महत्त्व छ ।

खुँडा, भाला, तरबार, ढाल लगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाँचिन्छ । नाचमा हतियार एकआपसमा जुधाइन्छ । यसरी नाच्दा देवी भगवती प्रशन्न हुने धार्मिक जनविश्वास छ ।


Advertisement

राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र मन्दिरहरूमा हतियार प्रदर्शनसहित सराय नाच्न थालिएको इतिहासका जानकारहरू बताउँछन् । 

अर्घाखाँचीको अर्घा सराय नाचका लागि बढी प्रसिद्ध रहेको छ । गुल्मीको इम्मा सहितका हरेक कोटहरूमा दशैंैदेखि कोजाग्रत पूर्णिमासम्म यो नाच चलिरहन्छ । अर्घाखाँचीका लेखक तथा संस्कृतिका जानकार ऋषि आजादले नयाँ पुस्ताले सरायको अनुशरण गर्न नसक्दा ऐतिहासिक सराय नाच संकटमा परेको बताए ।

पछिल्ला वर्ष धेरै जिल्लामा नाचिए पनि सराय नाचको शुरूआत अर्घाखाँचीबाट भएको आजाद बताउँछन् । ‘अर्घाखाँची, गुल्मीबाट बसाइसराइ गरी रुपन्देही, कपिलवस्तु र दाङको तल्लो बेल्टतिर झरेकाहरूले पनि  सराय नाच्छन्,’ आजाद भन्छन्, ‘तराई झरेकाहरूले पनि संस्कृतिको जगेर्ना गर्न सराय नाच नाच्न थालेका छन् । बाइसेचौबिसे राज्य हुँदाताका भुरेटाकुरे राजाहरूले आफ्नो कोटमा सराय नाच नचाउने गरेपछि नै यसको शुरूआत भएको बताइन्छ । अहिले आएर यो नाच संकटमा छ ।’

मन्दिरबाट भगवान् बाहिर निस्कन सक्ने किंवदन्तीका आधारमा हरेक रात स्थानीय आलोपालो मन्दिरको ढोकानजिकै जाग्राम बसेर भगवान्को रक्षा गर्ने संस्कार अझै पनि कतिपय स्थानमा कायम छ । खासगरी बहुमूल्य मूर्तिहरू, हातहतियारको सुरक्षाका लागि पनि सुरक्षाको संस्कार शुरू भएको आजादको भनाइ छ ।

यसरी नित्य पूजा भएपछि सराय हुने दिन विधिअनुसार पूजापाठपछि ठाउँ र परिस्थितिअनुसार बलि (अधिकांश स्थानमा राँगो) दिई सराय नाच शुरू हुन्छ । पहिला कोट वा मन्दिर वरिपरि परिक्रमा गरी पछि खुला ठाउँमा पुगेर दिनभर खुँडा वा लाठी नचाउँदै र जुधाउँदै बाजाका तालमा ‘वाख्खै’ ‘ह’ भन्दै सराय नाच्ने चलन छ ।

यो नाच ३०० वर्ष पुरानो मानिन्छ । अहिले प्रत्येक वर्ष अंग्रेज फौजलाई पराजित गरेको रूपन्देहीको बुटवलस्थित जीतगढी किल्लामा पनि यो नाच नाचिन्छ । 

पहिलेका राजाहरूले युद्ध मन पराउने भएकाले त्यसको अभिनय गरी दशैं बिदाइका बेला राजालाई देखाउने गरी नाच शुरू भएको हो । त्यसैले यसमा पनि पहिले लडाइँ वा युद्धमा प्रयोग हुने घरेलु हतियारको प्रयोग गरिन्छ । सराय हेर्दा रमाइलो र हतियार नचाउँदा डरलाग्दो हुने आजाद बताउँछन् ।

गुल्मी र अर्घाखाँचीका कोट नाम गरेका ठाउँहरू धुर्कोट, पुर्कोट, चन्द्रकोट, मानकोट, असुरकोट, छत्रकोट र मानकोट लागयतका स्थानको नाम सरायसँग जोडिएर आउँछ । 

तराई क्षेत्रमा भने नौलो मानिन्छ । शुरूका वर्षहरूमा पुरुषहरू मात्रै सरायमा सहभागी हुने भए पनि अहिले महिला समेत नाच्ने गरेका छन् । पञ्चेबाजाको तालमा नाचिने सराय नाचमा ‘वाख्यै वाख्यै हो’ उच्चारण गरिने गरिएको छ ।

सप्तमीको दिन फूलपाती भित्र्याएपछि मन्दिर वा कोटमा आलम (भगवानको प्रतिमा) निकाल्ने गरिन्छ । विभिन्न रङ्गीचङ्गी सहितका ध्वजापताकाले सिँगारिएको आलमलाई भगवान्को प्रतीकको रूपमा मन्दिरबाहिर सजाएर राखेपछि दैनिक पूजापाठ गर्ने गरिन्छ । 

लेखक केवी मशालले प्यूठानका केही ठाउँमा तिहारसम्म सराय नाच नाच्ने गरिएको बताए । ‘धारिलो खुँडा नचाउन कौशलता चाहिन्छ, यो कौशलताका लागि शक्ति र आँट समेत आवश्यक छ,’ मसालले भने, ‘गुल्मी, अर्घाखाँचीबाट शुरू भएको सराय नाच पछिल्लो समय कपिलवस्तु, दाङ जिल्लामा समेत नाचिन थालेको छ ।’ 

सराय हेर्नकै लागि बसाइँ सरेकाहरू समेत केही दिनको लागि आफ्नो पहाड घर फर्कन्छन् । सराय नाच्ने शक्तिपीठमा हेर्ने र नाच्नेले आनन्द मात्र लिँदैनन्, धेरैले व्यापार गर्ने अवसर समेत पाउँछन् । सराय नाच्ने शक्तिपीठमा विशेषगरी जेरीको व्यापार धेरै हुने गर्दछ । चना–चटपटे, अम्बा, किराना, बालबालिकाका खेलौना लगायतका सामग्रीको राम्रो व्यापार हुन्छ ।

दशैंमा पाइने यस्ता खानेकुरा र शक्तिपीठको महत्त्व अरुलाई पनि बुझाउन सके पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने स्थानीय बताउँछन् ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्