०२ असार २०८३, मंगलबार

प्रचण्डले जीपलाइन चढेपछि धुलिखेलमा बढे पर्यटक

कात्तिक ८, २०७८
प्रचण्डले जीपलाइन चढेपछि धुलिखेलमा बढे पर्यटक

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर साहसिक जीपलाइन चढेपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू भए । जनता बाढीपहिरोको मारमा परेका बेला प्रचण्डले यसरी जीप लाइनको आनन्द लिनु सही नभएको धेरैको तर्क थियो । 

तर, प्रचण्डले जीपलाइन चढेपछि धुलिखेलको पर्यटनमा भने यसले निकै फाइदा पुर्‍याएको छ । अहिले धुलिखेलमा जीपलाइन चढ्न आउने आन्तरिक  पर्यटकहरूको संख्या ह्वात्तै बढेको जीपलाइनका सञ्चालक वर्ल्ड वाइड एड्भेन्चर प्रालि अध्यक्ष केदार थापाले बताए । 

‘विगतमा भन्दा दोब्बर तेब्बर मानिसहरू आउनु भएको छ, धेरै परिवारसहित नै आउनु भएको छ,’ उनले भने, ‘देशैभर प्रचारप्रसार भएर होला हिजो र आज त भ्याईनभ्याई भयो, धेरैले लोकेसनको लागि फोन गरेर पनि बुझिरहनु भएको छ ।’

उनका अनुसार धेरैलाई धुलिखेलमा जीपलाइन छ भन्ने प्रचण्ड आएपछि मात्रै थाहा भयो । ‘उहाँको अनावश्यक विरोध भइरहेको देखेको छु तर आन्तिरक पर्यटनको लागि त राम्रो भएको छ,’ उनले भने । 

जीपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जीपलाइन दूरी  ११ सय मिटर छ । भर्टिकल ड्रप २४० फिट रहेको जीपलाइन ७० किलोमिटर प्रतिघण्टाको औसत गतिमा पार हुन्छ ।

काठमाडौंबाट करीब ३५ किलोमिटर दूरीमा रहेको जीपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरू भएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जीपलाइनको ल्याण्डिङ स्टेसन छ । क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरी ३ प्रकारका जीपलाइन खेल्न पाइन्छ । 

खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचूलगायतका हिमालसमेत अवलोकन गर्न सकिनेछ ।

कोरोना कहरले बन्द भएको धुलिखेल जीपलाइन ६ महिना बन्द भएको थियो । क्लासिक जीपलाइनको २ हजार ५ सयमा छुट गरी १ हजार ७ सय ५०, सुपरम्यान  जिपलाइनको ३ हजार पाँच सयमा छुट गरी २ हजार ४ सय ५० र टेण्डम ९जोडी० जीपलाइनको ४ हजार ५ सयमा छुट गरी ३ हजार १५० शुल्क लाग्छ । जीपलाइनसँगै फोटो-भिडिओ प्याकेजमा समेत छुटसमेत छ । 

क्लासिक र सुपरम्यान जीपलाइनमा फोटो र भिडिओको लागि ७०० रूपैयाँ लाग्ने भए पनि हाल २०० रूपैयाँ कायम गरेको र  टेन्डम (जोडी) जीपलाइनमा फोटो र भिडिओको लागि एक हजार रूपैयाँ लाग्ने भए पनि हाल ३०० रूपैयाँ कायम गरिएको छ । 

२०७५ फागुनदेखि व्यवसायिक रूपमा धुलिखेल जीपलाइन शुरू भएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जीपलाइनको ल्याण्डिङ स्टेसन छ । क्लासिक, सुपरम्यान र टेण्डम (जोडी) गरी ३ प्रकारका जीपलाइन खेल्न पाइन्छ । 

जीपलाइनसँगै ट्रि अप (रूखमाथि नै बसेर खान मिल्ने गरी बनाइएको) रेस्टुरेन्ट पनि छ । खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायतका हिमाल समेत अवलोकन गर्न सकिनेछ।

सिन्धुपाल्चोकका केदार थापा अध्यक्ष र काठमाडौका भुपेश श्रेष्ठले वर्ल्ड वाइड एड्भेन्चरमार्फत् धुलिखेल जीपलाइन, रिसोर्ट र एडभेन्चर पार्क सञ्चालनमा ल्याएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्