
हिन्दूहरूका धर्मगुरु मानिएका शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती महाराजले नेपालमा हिन्दू राष्ट्रको विकल्प नरहेको बताएका छन् ।
विश्व ओमकार एकता महाअभियानको आयोजनामा रुपन्देहीको भैरहवामा सोमवार भएको धर्म सभालाई सम्बोधन गर्दै शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती महाराजले नेपाल हिजो पनि हिन्दूराष्ट्र रहेको, अहिले पनि हिन्दूराष्ट्र नै रहेको र भविष्यमा पनि हिन्दूराष्ट्र नै रहने बताए ।
नेपाललाई हिन्दूराष्ट्र कायम राख्ने अभियान नेपालबाट शुरू गरी एशिया महाद्विपसम्म नै पुर्याउने दाबी गरे ।
धर्मगुरु शंकराचार्यले हिन्दूराष्ट्र नेपाल सुरक्षित रहे मात्र भारतको सुरक्षा हुनसक्ने जिकिर गरे । चीनको आँखा नेपालमा रहेको र चीनबाट नेपाल असुरक्षित भए यसको असर भारतमा समेत पर्ने उनको भनाइ थियो ।
अहिलेको अवस्थामा हिन्दूराष्ट्रबारे कम्युनिस्टहरू राजी भए पनि बाहिरबाट खुलेर लाग्न भने नसकेका बताए । कम्युनिस्टहरू बाहिरबाट नास्तिक रहेको देखाए पनि भित्रबाट उनीहरू धर्मप्रति आस्तिक नै रहेको शंकराचार्यले बताए ।
कुनै व्यक्ति वा वस्तु एकक्षणको लागि पनि धर्मनिरपेक्ष हुन नसक्ने दाबी गर्दै धर्मनिरपेक्ष भनेको एक शब्द मात्र भएको र यसको कुनै अर्थ नरहेको बताए ।
उनले सबै धर्महरूको मूल धर्म सनातन धर्म नै रहेको हुँदा यसको शान्तिपूर्वक प्रचारको लागि सबै लाग्न आग्रह गरे । हिन्दूहरूका सर्वोच्च धर्मगुरु जगन्नाथपुरीस्थित गोबद्र्धन मठका पीठाधिश शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती महाराज ३ दिने कार्यक्रमका लागि आइतवार रुपन्देहीको कक्रहवा नाकाबाट नेपाल प्रवेश गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपालका धर्मगुरु डा. चिन्तामणि योगीले अहिले सबै नेपालीहरूको मुख्य उद्देश्य नेपाललाई हिन्दूराष्ट्र बनाउनु रहेको बताए । यसको लागि विश्व ओमकार महाअभियान नै गठन गरी लागेको उनले बताए ।
नेपाललाई हिन्दूराष्ट्र कायम गराउने अभियानमा हिन्दू धर्मका सर्वोच्च गुरु शंकराचार्यको पनि चासो रहेको र सोहीअनुसार उनको नेपाल आगमन भएको बताए ।
आदि शंकराचार्यले सनातन धर्मको रक्षा र प्रसार गर्न ४ दिशामा ४ पीठ स्थापना गरेका थिए । ४ वटा पीठमा ४ जना नै शंकराचार्य छन् । भैरहवा आउने शंकराचार्य गोवद्र्धन धामका वर्तमान पीठाधिश हुन् । ४ वटै शंकराचार्यमध्ये पनि सबैभन्दा उच्च रहेका शंकराचार्य निश्चलानन्द सरस्वती पहिलोपटक भैरहवा आएका हुन् ।