१० साउन २०८३, आइतबार

ग्रामीण क्षेत्रमा सेवा दिन पाल्हीनन्दनमा १५ शय्याको अस्पताल तयार

कात्तिक २४, २०७८
ग्रामीण क्षेत्रमा सेवा दिन पाल्हीनन्दनमा १५ शय्याको अस्पताल तयार
प्रतिकात्मक तस्वीर

ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनको तयारी थालेको छ ।

पाल्हीनन्दन–४ स्थित पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । 

जिल्लाको दक्षिणी भारतीय सीमा क्षेत्रमा अवस्थित यस गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल छैन । यहाँका बिरामी सदरमुकाम परासी, बुटवल, भैरहवा तथा भारतीय अस्पतालमा जानुपर्ने बाध्यता छ । 

अस्पतालको लागि भौतिक पूर्वाधार तयार भइसकेको छ भने यन्त्र उपकरण र जनशक्तिको व्यवस्थापन भइरहेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’ले जानकारी दिए ।

‘करीब साढे ६ करोडको लागतमा अस्पताल भवन निर्माण भएको छ, जनशक्ति र उपकरण व्यवस्थापन गरी अब पाल्हीनन्दन अस्पतालको रूपमा सञ्चालनमा ल्याउँछौं,’ उनले भने । नवनिर्मित भवनबाट हाल पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको सेवा शुभारम्भ गरिएको छ भने आवश्यक प्रक्रिया पूरा गरेर अस्पतालमा परिणत गरिने गाउँपालिका अध्यक्ष गुप्ताले बताए ।

तत्कालका लागि सोही स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीबाट सेवा प्रवाह गरिने उनले बताए ।

१५ शय्या अस्पतालको लागि गाउँपालिकास्तरबाट गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा भएको र संघीय सरकारबाट अनुमति पाएपछि अस्पताल सञ्चालनमा आउने प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिए ।

‘सरकारले तोकेका मापदण्डअनुसार चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी भर्ना गर्ने, औषधि खरिद, प्रयोगशाला, सामान्य शल्यक्रियाको लागि आवश्यक यन्त्र उपकरणको खरिद लगायतका कार्य भइरहेको छ,’ उनले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्