१० साउन २०८३, आइतबार

राप्ती अस्पतालमा अक्सिजन प्लान्ट र रिफिलिङ कक्ष सञ्चालनमा

कात्तिक २५, २०७८
राप्ती अस्पतालमा अक्सिजन प्लान्ट र रिफिलिङ कक्ष सञ्चालनमा
प्रतिकात्मक तस्वीर

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा अब अक्सिजनको अभाव नहुने भएको छ । 

अस्पतालमा अक्सिजन प्लान्ट र रिफिलिङ कक्ष सञ्चालनमा आएपछि अक्सिजन अभाव नहुने भएको हो । 

प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन उत्पादन शुरू भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहले जानकारी दिए । १ करोड ५० लाखको लागतमा प्लान्ट निर्माण गरिएको हो ।

हाल दैनिक ७५ सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ । उत्पादन शुरू भएपछि तत्कालका लागि आवश्यक पर्ने अक्सिजन पर्याप्त भएको अस्पतालले जनाएको छ ।
 
अस्पतालको ३ लाख रुपैयाँ आर्थिक व्ययभार कम भएको अस्पताल प्रशासनले जनाएको छ । यसअघि अस्पतालमा दैनिक आवश्यक पर्ने करीब १० अक्सिजन सिलिन्डर बाहिरबाट खरिद गरेर काम चलाउनुपर्ने बाध्यता थियो ।

अक्सिजन उत्पादन र रिफिलिङ गर्न सकिने भएपछि अब कोभिड–१९ महामारीको समयमा पनि बिरामीको सहजै उपचार गर्नसकिने अस्पतालले जनाएको छ । 

गत जेठ ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालसहित नेपालका १२ अस्पतालका लागि १६ करोड ८० लाख रुपैयाँ बजेट छुट्याउने निर्णय गरेको थियो । अक्सिजन अभावले कोरोना संक्रमितको ज्यान जान थालेपछि प्लान्टको व्यवस्था गरिएको हो ।

अस्पतालकै परिसरमा दैनिक ६ हजार लिटर अक्सिजन उत्पादन गर्नसक्ने क्षमताको अर्को प्लान्ट निर्माण शुरू भएको छ । क्यानडा सरकारको सहयोग र नेपाल रेडक्रस दाङको समन्वयमा प्लान्ट निर्माण थालिएको हो ।

प्रादेशिक अस्पतालमा १ महिनादेखि कोरोनाका बिरामीलाई लक्षित गरी कोभिड वार्डसमेत सञ्चालनमा ल्याएको छ । बालबालिकाका लागि ३० अति सघन कक्ष, अन्य उमेर समूहका लागि ३० सघन उपचार कक्ष र १० एचडीयू कक्ष समेत निर्माण गरिसकेको अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्