
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन शुरू हुँदैछ ।
महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपा मंसिर १५–१७ गतेसम्म काठमाडौंमा महाधिवेशन हुँदैछ । प्रतिनिधि छनोटका लागि आजदेखि हुन लागेको निर्वाचनमार्फत प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा ९ जना प्रतिनिधि छनोट हुनेछन् ।
पार्टीका अनुसार, तीन खस आर्य (अन्य), तीन महिला, एक जनजाति, एक दलित, एक अल्पसङ्ख्यक, मुस्लिम, थारुलगायत गरी ९ जना निर्वाचित गर्नेछ ।
यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्ष पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि श्रेष्ठले जानकारी दिए ।
राप्रपामा यसरी चयन भएर आउने प्रतिनिधि, भ्रातृ संगठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनोनीत हुने समेत गरी चार हजार ५०० महाधिवेशन प्रतिनिधि हुनेछन् । रासस