०२ असार २०८३, मंगलबार

‘यही गठबन्धनले गर्दा प्रधानमन्त्री, मन्त्री पाइया छ, अनि गठबन्धन चाहिन्न भनेर हुन्छ ?’

मंसिर ८, २०७८
‘यही गठबन्धनले गर्दा प्रधानमन्त्री, मन्त्री पाइया छ, अनि गठबन्धन चाहिन्न भनेर हुन्छ ?’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पनि ५ दलीय गठबन्धन कायम रहने जिकिर गरेका छन् ।

प्रेस सेन्टर कैलालीद्वारा बुधबार धनगढी एयरपोर्टमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनलाई अझ सुदृढ बनाएर जाने बताएका हुन् ।

उनले भने, ‘निर्वाचनसम्बन्धी बहस चलिरहेको छ । ३ वटै निर्वाचन एकैपटक गर्ने एउटा तर्क छ । संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्‍यो भने राज्यको अर्बौं खर्च वचत पनि हुन्छ । जनतालाई पनि पटक–पटक चुनाव भनेर झञ्झट दिनुभन्दा एकैपटक गर्दा सजिलो हुन्छ ।’

उनले संविधानविद्, कानूनविद् र निर्वाचन आयोगसँग पनि पर्याप्त अन्तरक्रिया गरेपछि एउटा निष्कर्षमा पुग्नु उचित हुन्छ भन्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा र आफूबीच समझदारी भएको बताए ।

उनले ५ दलीय गठबन्धनलाई आउँदो चुनावसम्म सँगै लैजान बाटो क्लियर भएको पनि दाबी गरे । आउने राष्ट्रिय सभा निर्वाचन र उपचुनावमा पनि सँगै जान नीतिगत र व्यवहारिक निर्णय नै भएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

नेपाली कांग्रेसले त गठबन्धन आवश्यक छैन भनिरहेको छ नि ? भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘कोही कोहीलाई के लाग्छ भने महाधिवेशन आएको छ । कसैलाई गठबन्धन बनाएर गयौं भने भोट धेरै आउँछ भन्ने लाग्या छ । कोहीलाई गठबन्धनको विरोध गर्‍यौं भने भोट धेरै आउँछ भन्ने लागेर भन्या हो । भित्र सबैको एउटै छ, गठबन्धन त चाहिन्छ भनेर । त्यस्तो पनि हुन्छ र भन्या, यो गठबन्धनले गर्दा मज्जाले प्रधानमन्त्री, मन्त्री पाइया छ । सरकार चलाउन पाइया छ । अनि गठबन्धन चाहिन्न भनेर हुन्छ ? कहीँ कतै मिल्ने कुरै होइन नि !’

salt training

कमेन्ट गर्नुहोस्