
नेपाली कांग्रेसको राजनीतिमा झण्डै पाँच दशक रजगज चलाएका विजयकुमार गच्छदारको ओरालो यात्रा शुरु भएको छ । भ्रष्टाचार मुद्दाका कारण सांसद पदबाट निलम्बनमा परेका गच्छदार पार्टी राजनीतिमा पनि पराजित भएका छन् ।
कांग्रेस भित्रका एक सामान्य नेताले उपसभापतिमा गच्छदारलाई पराजित गरेका हुन् । धनराज गुरूङले १९ सय ८ मत ल्याउँदा विजय गच्छदारले १९ सय ६ मत पाए ।
२०१० सालमा सुनसरीमा जन्मेका गच्छदार २०२६ सालदेखि राजनीतिमा होमिएका थिए । राजनीतिक दौरानमा उनले साढे ६ वर्ष जेलजीवन विताएका थिए । २०४८ सालपछि भएका सबै संसदीय निर्वाचनमा चुनाव जित्ने सीमित नेतामा शेरबहादुर देउवा र विजयकुमार गच्छदार हुन् ।
२०४८ सालमा चुनाव जितेपछि गच्छदार पटक पटक मन्त्री बनेका थिए । २०६४ सालको संविधानसभाको पूर्वसन्ध्यामा गच्छदार कांग्रेस परित्याग गरेर मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए ।
फोरम प्रवेश गरेपछि उनको सत्तायात्रा झनै फलिफाप भयो । २०६६ सालमा माधव नेपाल सरकारका सहभागी हुने नहुने विषयको झगडाका कारण गच्छदारले फोरम फुटाएर ‘फोरम लोकतान्त्रिक’ गठन गरेका थिए । २०६५ सालपछि बनेका अधिकाङ्स सरकारमा गच्छदार मन्त्री बनेका थिए । गच्छदारको परिचय यस्तोसम्म बन्यो कि अरू पार्टीमा पनि पटक पटक मन्त्री बन्ने नेतालाई ‘पार्टीभित्रका गच्छदार’ भनेर टिप्पणी गर्ने गरिन्थ्यो ।
२०७० सालको निर्वाचनमा फोरम लोकतान्त्रिक बाटै गच्छदार विजयी भएका थिए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा गच्छदार पुरानो घर अर्थात नेपाली कांग्रेसमा फर्किएका थिए ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सुनसरीबाट विजयी भएका गच्छदार बालुवाटारको ललितानिवास भ्रष्टाचार काण्डमा तानिएपछि उनको सांसद पद निलम्बनमा परेको थियो ।
विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट राजनीति शुरू गरेका गच्छदारको मोरङ र सुनसरीमा राजनीतिक प्रभाव थियो । संविधानसभा निर्वाचनमा उनी सुनसरी ३ र मोरङ ७ बाट निर्वाचित भएका थिए ।
कांग्रेसभित्र शेरबहादुर देउवासँग निकट गच्छदार देउवाले कांग्रेस विभाजन गरेर कांग्रेस प्रजातान्त्रिक गठन गर्दा समावेश भएका थिए । उपसभापतिमा युवा नेता धनराज गुरूङसँग २ भोटले पराजित भएका गच्छदार मनोनित भएर केन्द्रीय समितिमा आउने बाटो बाँकी छ । सभापतिले ३१ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने कांग्रेसको विधानमा व्यबस्था छ ।
ललितानिवास प्रकरणमा भ्रष्टाचार मुद्दा लागेपछि उनले ‘थारूको सोझो छोरा’लाई फसाइएको प्रतिक्रिया दिएका थिए । भ्रष्टाचार मुद्दा लागेर राजनीतिक रूपमा ओरालो लागेका गच्छदारको परिवारमा पनि दुःखद् घटना भएको थियो ।
केही महिना पहिला मात्र गच्छदारकी पत्नी निर्मलाको निधन भएको थियो ।
१४ औं महाधिवेशनमा पार्टी निर्वाचन हारेसँगै गच्छदारको पूरानो राजनीतिक विरासतले विश्राम लिएको छ । अब फेरि राजनीतिक हर्ताकर्ताको रूपमा उनको पुनरोदय असम्भव प्रायः देखिन्छ । किनभने, कांग्रेसको बागडोर युवा पुस्ताको काँधमा गएको छ । जहाँ गच्छदार फिट हुने छैनन् ।